प्राविधिक शिक्षा र आधुनिक कृषि प्रणालीमा जोड दिन्छुः चौधरी

मङ्सिर ९, सुनसरी । बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभा उम्मेदवार भगवती चोधरीले समाज विकास र परिवर्तनका लागि प्राविधिक शिक्षाका लागि विशेष जोड दिने बताउनु भएको छ ।

आज सुनसरी क्षेत्र नं. ३ (ख) अन्तर्गत अमाहीबेल्हामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेतृ चौधरीले बाम गठबन्धनको सरकार निर्माण भएपछि युवा स्वरोजगार र प्राविधिक शिक्षालाई जोड दिँदै समुन्नत समाज निर्माण गरिने बताउनु भएको हो । ‘यो क्षेत्रमा अहिलेसम्म एउटै प्राविधिक शिक्षालय स्थापना भएका छैनन्, यहाँको कृषि प्रणालीलाई आधुनिकिकरण गरी गरिब अल्पसंख्यक, दलित समुदायका युवाहरूलाई स्वरोजगार हुन विशेष कार्यक्रम ल्याउने छु ।’ उहाँले भन्नु भयो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनु भएकी नेतृ चौधरीले विगत २६ वर्षदेखि यहाँका सोझासाझा जनतामा भ्रमको खेती गरेर राजनीति गरेका विजयकुमार गच्छदारको राजनीतिक यात्रा अब टुङ्गिएको दाबी गर्नुभयो ।

सुनसरी क्षेत्र नं. ३ का जनताको विकास कहिल्लै पनि द्रुत गतिमा हुन नसक्नुमा नेतृत्व तहको कमजोरीका कारण भएको बताउनु भयो । ‘हाम्रा नेता ज्यूहरुले यो क्षेत्रका जनताको विकासका लागि कहिल्लै गम्भीर हुनु भएन । २६ वर्षसम्म शासनसत्तामा रहँदा १८ पटक सम्म छानीछानी राम्रा मन्त्रालय रोज्दा समेत विकास र संवृद्धि जनतालाई किन दिन सक्नुभएन ?’ उहाँले प्रतिष्पर्धी उम्मेद्वारलाई इङ्गित गर्दै प्रश्न गर्नुभयो । ‘उहाँले जनताको लागि कुनै सपना नदेखेको भन्दै यदि ‘जनताको लागि राजनीति गरेको भए, यहाँ प्राविधिक शिक्षालय किन खोलिएन, यहाँका किसानका लागि कुनै आधुनिक कृषि प्रणाली किन ल्याउन सक्नुभएन ?’ भन्दै प्रश्न गर्नुभयो । साथै चौधरीले गच्छदारले २६ वर्षको राजनीतिमा विकासका नाममा लाज पचाउन सो क्षेत्रमा आफ्ना ठेकेदारलाई पाल्न एक दुई ओटा पुल पुलेसा बनाउन बाहेक केही नगरेको जिकिर गर्नुभयो ।

प्रत्यासी उम्मेदवार गच्छदारले पैसा र पदका आधारमा मात्र चुनाव जितेको भन्दै अब त्यस्तो सहज परिस्थिति नआउने दाबी गर्दै जनताले सही नेता र सही पार्टी छुट्टयाई सकेको जिकिर गर्नुभयो । ‘विगतको चुनाव जस्तो अहिले छैन, जनता परिवर्तनको पक्षमा छन्, जनता बाम गठबन्धनका पक्षमा छन् ।’ उहाँले देशभर बाम एकताको लहर छाएको औल्याउँदै मङ्सिर २१ गतेपछि बाम गठबन्धनको बहुमतको सरकार गठन हुने ठोकूवा गर्नुभयो । ‘बाम गठबन्धन त्यत्तिकै बनेको छैन, यो स्थिर सरकारका लागि, दिगो विकासका लागि र स्थायी शान्तिका लागि हो ।’ नेतृ चौधरीको दाबी थियो ।

कार्यक्रममा सम्बोधन गर्दै नेतृ चौधरीले नेकपा एमाले र बाम गठबन्धनले विदेशमा रहेका १० लाख युवाहरूलाई स्वदेश फर्काएर उनीहरूलाई यहीँ स्वाबलम्बी बनाउने कार्यक्रम ल्याउने बताउनु भयो ।

कार्यक्रममा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङवो, प्रदेश सभा (ख)का उम्मेदवार भीम आचार्य लगायतले बाम गठबन्धनको औचित्यका विषयमा प्रकाश पारेका थिए । चुनावी सभामा सो क्षेत्रबाट काँग्रेस, लोकतान्त्रिक फोरम लगायत अन्य पार्टी परित्याग गरेका करिब दुई सय नेता कार्यकर्ताहरू पार्टी प्रवेश गरेका थिए ।

हेर्नुहाेस्, भिडियाे

https://www.youtube.com/watch?v=mcfoyiFvKlc&feature=youtu.be”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *