मोरङ–३ बाम किल्ला भत्काउने दाउमा डा. शर्मा

मोरङ, कार्तिक २१। ‘हामी पार्टी होइन, सुनिलजी को अनुहार हेर्न चाहन्छौँ ।’ अहिले मोरङका २६ वडाका युवा युवती, वृद्ध सबैको मुखमा यही शब्द झुण्डिएको छ ।

आगामी मङ्सिर २१ गतेको दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका तर्फका प्रत्यक्ष उम्मेदवारी डा.सुनिल कुमार शर्मालाई त्यहाँका स्थानीय जनताले ‘पार्टी होइन सुनिल शर्माको मुहार’ हेर्न मन भएको बताएका छन् ।

हाल मोरङ् क्षेत्र नं ३ का लागि बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल र कांग्रेसबाट सुनिल शर्माको उम्मेदवारी रहेको छ । स्थानीय जनताले ढकाललाई ‘टुरिस्ट’ र शर्मालाई गाउँघरको दुःख बुझ्ने उम्मेदवारका रूपमा लिएका छन् ।

विराटनगर नोबेल मेडिकल कलेजका निवर्तमान प्रमुख समेत रहेका शर्माले त्यहाँका सबै वडाका विरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । ‘सुनिल हाम्रा लागि भगवान् सरह हुन्’ भन्दै स्थानीयबासीहरु एकाबिहानै डा. शर्माको घरमा आइपुग्छन् ।

यस्तै दृश्य देखियो आज मङ्गलवार । बिहान ९ बजे मोरङ सुकुुना बहुमुखी क्याम्पसमा बी.बी.एस. चौथो वर्षमा अध्ययनरत एक दर्जन विद्यार्थी शर्मा निवास बेतनामा आएर आफूहरूले प्रत्यक्ष भेटघाट गर्न पाउँदा औधी खुसी लागेको बताए । शर्मालाई भेट्न आाएका रन्जित रिमालले आफूलाई ‘टुरिस्ट’ उम्मेदवार नभई यहाँको दुःख बुझ्ने नेता चाहिएको बताए । ‘हामीलाई टुरिस्ट नेता होइन, गाउँ घरको दुःख बुझ्ने नेता चाहिएको छ ।’ उनले भने । उनले विगतमा जितेका उम्मेद्वारले स्थानीय क्षेत्रको विकासका लागि केही नगरेकोले यस पटक बाहिरबाट आएका डमी उम्मेद्वारलाई बाईपास गर्ने बताए ।

शर्मालाई भेट्न आएका विद्यार्थीहरूले जीत सुनिश्चित भएको भन्दै सो क्षेत्रको विकासमा शर्माले दिएको देनबाट युवा पुस्ताले पनि सिक्ने मौका समेत पाएको बताए । उनीहरूले युवाहरू स्वदेशमा केही गर्न नसक्ने भन्दै विदेशिएको परिप्रेक्ष्यमा डा. शर्माले गरेको काम र योगदान अनुकरणीय रहेको बताए । त्यसपछि सबैलाई धन्यवाद दिँदै शर्माले युवाहरूको साथ र सहयोगको अपेक्षा गर्दै अबको राजनीतिमा युवाहरूको पहुँच हुनुपर्ने बताए ।

सो भेटघाट कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीसँगै खम्बुवान राष्ट्रिय जनमुक्ति मोर्चाका उपसभापति इन्द्रबहादुर राई पनि पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गरेका थिए । आफूलाई मात्र नभई मुलुकमा युवा नेतृत्वकर्ताको आवश्यक्ता रहेको औँल्याउँदै राईले नेपाली काँग्रेसले मात्रै युवाहरूको आवाज बोक्न सक्ने देखेर आफू प्रवेश गरेको बताए । उपसभापति राईसहित विद्यार्थीहरूलाई साधारण सदस्यता वितरण गर्दै उम्मेद्वा डा. शर्माले देश बचाउने जिम्मा युवाहरूको काँधमा आएको बताए ।

माओवादी–एमालेका ६५ कार्यकर्ता काँग्रेसमा

यता, बाम गठबन्धनको पकड मानिने मोरङ, सुन्दरहरैंचा नगरपालिकामा माओवादी केन्द्रसहित एमालेका ६५ कार्यकर्ताले पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

आज मङ्गलवार माओवादी केन्द्रका बुद्धिजीवी तथा चार दशक शिक्षण सेवामा सक्रिय नेता विनोद चापागाईंसहित बाम गठबन्धनका ६५ कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका हुन् ।

दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको चुनावी माहोल तातिरहेको अवस्था उनीहरूले पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेपछि सो क्षेत्रमा बाम गठबन्धनमा धक्का लागेको छ । चापागाईले लामो समयदेखि आफू माओवादीमा रहेर काम गर्दै आएपनि पार्टीले देश र जनताको लागि कुनै काम नगरेको र नातावाद कृपावाद व्याप्त भएपछि विरत्त लागेर काँग्रेसमा प्रवेश गरेको बताए । उनले कम्युनिष्टहरुको व्यवहारले मुलुकको विकासका हुन नसक्ने ठोकूवा गर्दै देशको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने जिकिर गरे । पार्टी प्रवेशसँगै कविता वाचन गर्दै उनले भने, ‘माओवादी केन्द्रलाई आजदेखि बाई बाई, खाली हात फर्कदैँ छु, नेपाली काँग्रेसलाई हाई हाई ।’

मङ्गलवार विभिन्न स्थानमा आयोजित कार्यक्रममा पाँच सय स्थानीयवासीहरुले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेपछि मोरङ क्षेत्र नं. ३ कांग्रेसमय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *