फर्केर आउ घर (कविता)

वसन्त वराकोटी

पूरै दुइ शताव्द दास युगको सन्तापमा पिल्सिंदै
पुस्ता धेर विते त्यही नरकको दुःखाग्निमा तड्पिंदै
वस्नु चिन्तित भै कति हृदयमा दन्काइ दावानल
आऊ वर्ग विभेदको क्षय हुने वोकी घना वादल

आफ्ना मालिकका निमित्त रणमा युवाहरू वेचिए
ऐलेसम्म हटेन यो वलि प्रथा विडम्वना देखिए
भाडाका भरिया वनाइ जनता पर्देश खेद्ने प्रथा
सत्तालोलुप कृतदासहरूको वन्दै गयो नीयत

नोकरशाह दलाल धूर्तहरूको स्थायी रजाइँ भयो
देशको ओज र सान मान महिमा गिर्दै र गुम्दै गयो
अख्तियार मिचेर भ्रष्ट हुनु नै कर्तव्य यिन्को भयो
हाम्रो देश हुँदैछ यै किसिमका डाँकाहरूको थलो

वेचिन्छन् कलिला युवा पशुसरी पर्देशका हातमा
वेचिन्छन् दिनहुँ अबैध ढङले यै देशका यौवना
पर्देशीहरूकै निमित्त घरमा जन्माऊँछौ नोकर
अन्त्यस्टि अब गर्नु पर्छ यसको फर्केर आउ घर

पर्देशी धनवानका अघिनमा वन्दै सुधो नोकर
वस्ने चाह स्वदेशभक्तहरूको खासै कहाँ हुन्छ र
युवा शक्ति विदेशीए मुलुकको उत्थान के हुन्छ र
तिम्रा तागतको अभाव छ यहाँ फर्केर आऊ घर

नेपाली परदेशका महलमा आश्रित हुन्छौ किन
तिरिन्नन् यसरी वीरत्वहीन भै पुर्खाहरूको रिन
देश्को इज्जत स्वाभिमानसरि नै पैसा कहाँ हुन्छ र
आफ्नो ओज र सान सम्झ दृढ भै फर्केर आऊ घर ।

पूरै देश छिया छिया भइ सक्यो हुँदैछ ऐले पनि
वेवास्ता गरी मौन वस्छ सरकार वोल्दैन केही पनि
नेपाली जन हाै स्वदेश यही हो हाम्रो निजी आश्रय
आमाको छ पुकार गम्भिर सखे फर्केर आऊ घर ।

झण्डै दुइ शताव्दसम्म भिरियो दासत्वको वन्धन
त्यत्ति नै अबधि प्रयत्न गरियो त्यस्बाट मुक्तै हुन
किन्तु सङ्कटमाथि सङ्कटहरू आइ रहे झन्झन
निम्त्यायो यसले महासमरको आरम्भ गर्ने दिन

आस्थाको नगरी असंख्य जनको विशिष्ट साझा घर
वन्धु वान्धव इष्ट मित्र सवको निद्र्वन्द्व यौटै स्वर
यौटै वर्ग विभिन्न जातिहरूको उद्देश्य एकै थियो
एकै सोच विचार भाव मनले एकत्व उम्दा भयो

पूरै एक दशक निरन्तर भिडे जन्ता सबै युद्धमा
देखे जीवन स्वच्छ त्याग वीरता शोभा वलिदानमा
पारे कायल राजतन्त्र नत भै भाग्यो अँध्यारो तिर
टुट्यो वन्धन युगयुगतकको उठयो झुकेको शिर

हाम्रो देश छ दास मुक्त अहिले दासत्वको फोहर
काँकी नै छ अझै प्रदुषित वनी फैलिन्छ यो अक्सर
त्यस्लाई अब फाल्नु पर्छ नभए आफै कहाँ जान्छ र
युवा तागतको अभाव छ अझै फर्केर आउ घर

शान्तिकाल शुरु भयो मुलुकमा गन्तव्य साम्ने थियो
हाम्रो चिन्तन भाँडियो सँग सँगै अनिष्ट चाला भयो
हामी भिन्न भयौँ विभिन्न ढङका उभ्याउँदै छप्पर
आस्थाको घर शक्तिपुञ्ज छ अझै फर्केर आऊ घर

आफ्नो राष्ट्र सजाउने दिलभरी जन्ताहरू छन् यहाँ
राष्ट्रैघात गरेर तृप्त रहने नेताहरू छन् त्यहाँ
यस्तो खिप्ति हटेन झन् वढिरह्यो हामी हुँदा झन् पर
तोड्नु पर्दछ राष्ट्रघात जति छन् फर्केर आउ घर

नेपाली जन भावना सहितको विधान खाँचो थियो
आयो वल्ल छिमेक ठालुहरूको माथा दुखाइ भयो
आफ्ना कृतदलाल वाहेक अरू देश्भक्त नेपालका
सच्चा मित्र वनेन स्वच्छ दिलले कैल्यै पनि भारत

हज्जारौं वलिदानले मुलुकमा आयो व्यवस्था नयाँ
प्रत्याघात प्रवृत्ति औ कपटले पाएन सङ्लो हुन
छैनन् तर्क कुतर्क राखि दिनहुँ उत्पात मच्चाउन
तल्लीन छन् सहयात्री मित्रहरू नै विधान उल्टाउन

हाम्रो घर कहिल्यै कदापि नपरोस् घर्ज्वाइँको हातमा
स्वाभिमान छँदै सकार्नु नपरोस् मेहमानको शासन
यस्तै लक्षण देखिंदैछ अहिले यस्तै भए आखिर
होला के अब सोच्नु पर्छ सवले फर्केर आऊ घर

लड्दा भीषण युद्ध गाउँ घर नै आधार किल्ला थिए
थियो वर्गीय भाव प्रेम गहिरो स्वप्ना सवै मूर्त थे
स्वप्नाको कुटुरो लिंदै शहरमा थन्की वस्यौ आखिर
होला याद अझै ति गाउँहरूका फर्केर आऊ घर

प्राय वस्तु स्वभाव दोष गुणमा अपूर्ण हुन्छन् सदा
उद्देश्यै वरु पूर्ण हुन्छ वहुधा गाढा भए एकता
गर्दै जोड घटाउ योगफलको गैह्रो समिक्षा गर
छाडौ विगतका अनिष्ट कटुता फर्केर आऊ घर

मिलेकासँग छुट्नु पर्छ यदि त्यो वैरी भए देशको
ना मिल्नेसँग मिल्नु पर्छ यदि त्यो हित्मा भए देशको
हाम्रा सोच विचार कर्म सम छन् खासै छ के अन्तर
भए अन्तर स्वच्छ छल्फल गरौं फर्केर आउ घर

नेपाली नव संविधान अहिले फुत्केर आयो तर
पूर्वाग्राही स्वभावलाइ यि कुरा कैले रुचेको छ र
घेर्दैछन् अब रुष्ट दुष्टहरूले तिम्रा पनि छप्पर
गर्नु पर्दछ सामना अब मिली फर्केर आऊ घर

हाम्रो भाग्य बनाउँदैन कहिल्यै अदृश्य त्यो दैवले
आफैं पौरख गर्नु पर्छ दृढ भै उन्मुक्तिको भावले
यौटै राखि उद्देश्य हामी सवले यौटै अभियानमा
लागौं द्वेष घमण्ड त्यागी सुख औ समृद्धिको मार्गमा

हाम्रो सुन्दर स्वर्गभूमि सरि नै नेपालको शासन
चल्ने छैन पराइ धूर्तहरूको उन्मुल आदेशमा
आफ्ना भक्त लिएर देश भँडुवा फर्केर जाऊ घर
जहाँ छौ जति देशभक्तहरू हो फर्केर आऊ घर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *