दक्षिणी क्षेत्रको विकास र सीमा सुरक्षा मुख्य एजेन्डा
“
मंसिर ११, कञ्चनपुर । कञ्चनपुर जिल्लाको क्षेत्र नं १ को प्रदेश सभा (१)का उम्मेदवार तारा लामा तामाङले समग्र दक्षिणी क्षेत्रको विकास र सीमा सुरक्षा आफ्नो प्राथमिकता भएको बताएका छन् । वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका तामाङले विकास निर्माणको दृष्टिले पछाडी परेको कञ्चनपुरको दक्षिणी वेल्टले अब कोल्टे फेर्ने बताए ।
नेकपा(एमाले)का जिल्ला अध्यक्ष तामाङ यो क्षेत्रका लागि सुपरिचित ब्यक्ति हुन् । तत्कालिन कालिका गाविसको अध्यक्ष भएदेखि नै उनले दक्षिणी क्षेत्रको विकासका लागि योगदान दिंदै आएका छन् ।
पहिले प्रतिनिधि सभा उम्मेदवारका लागि चर्चामा रहेका तारालामा वाम गठबन्धन बनेपछि माओबादी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार छोडेर प्रदेश सभाको उम्मेदवार बनेका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा क्षेत्र नं २ बाट कांग्रेस नेता एनपि सावदसँग थोरै मतान्तरले पराजित तामाङ अहिले कञ्चनपुरमा कायम रहेको तीनवटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १(१) बाट प्रदेश सभाको उम्मेदवार छन् ।
यो क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा स्थानीय निर्वाचन एमालेले जितेको छ भने लालझाडि गाउँपालिका माओवादी केन्द्रले जितेको छ । दुबै दलको मत जोड्दा प्रतिष्पर्धि नेपाली काँग्रेसका भन्दा झण्डै १० हजार मतले वाम गठबन्धन अगाडी छ । स्थानीयस्तरमा जनतासँग भिजेको र विकास निर्माणका लागि लगातार पहल गरेका कारण जनताले मत दिएर विजय गराउनेमा आफु ढुक्क रहेको तामाङ बताउँछन् । तामाङले आफु प्रदेश सभामा निर्वाचित भएपछि लालझाडी गाउँपालिकालाई ‘राना पर्यटकिय गाऊँ’ को रूपमा बिकास गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सो क्षेत्रमा बसोबास गरेका राना थारु समुदाय तथा स्थानीय जनताको आर्थिक विकासमा लागिपर्ने पनि प्रतिवद्धता जाहेर गरे ।
पश्चिम तराईको कैलाली र कञ्चनपुरमा बस्ने आदीबासी राना थारु समुदाय पुस्तौं देखि त्यहाँ बसोबास गर्दै आएपनि सामाजिक रुपमा पछाडी परेको छ । रानाथारु समुदायको आफ्नै मौलिक संस्कृति तथा पहिचान छ । कैलाली कञ्चनपुरको सबैभन्दा पुरानो आदीबासी समुदाय रानाथारु समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्ने, उनीहरुको आय आर्जनका लागि विशेष कार्यक्रम बनाएर लागु गर्ने र त्यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउने तामाङ बताउँछन् ।
कञ्चनपुरको दक्षिणी क्षेत्र सीमा अतिक्रमणबाट समेत आक्रान्त छ । केही समय अगाडी मात्र सीमा सुरक्षाका लागि संघर्ष गर्दा भारतीय प्रहरीबाट मारिएका सहिद गोविन्द गौतमको क्षेत्र पनि हो पुनर्वास क्षेत्र । यसै क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्पर्धामा रहेका तामाङ सीमा सुरक्षाका लागि स्थायी प्रकारको संयन्त्र बनाउन पहल गर्ने बताउँछन् ।
त्यस्तै विकास निर्माणको दृष्टिले पनि कञ्चनपुरको दक्षिणी क्षेत्र निकै पछाडी परेको छ । धनगढी उपमहानगरपालिकासँग जोडिएको लालझाडी/पुनर्वास क्षेत्र धनगढी जस्तो समृद्ध शहरको छेवैमा रहेर पनि बत्ति मुनी अँध्यारो जस्तो भएको छ । योजनाबद्ध विकास गर्न सके कञ्चनपुरको दक्षिणी बेल्ट चाँडै नै समृद्ध हुनसक्ने तामाङको विश्वास छ ।
“