निर्वाचन आयोगको अनुगमन टोलीले भन्यो, ‘चितवनमा भोजभतेरको उजुरी परेको छ’

मङ्सिर ११, भरतपुर । निर्वाचन आयोगको अनुगमन टोलीले चितवनमा आचारसंहिताको अनुगमन गर्न सुरु गरेको छ । निर्वाचनको व्यवस्थापन, सुरक्षा व्यवस्था, आचारसंहिता पालनाको अनुगमन गर्न निर्वाचन आयोगले चितवनमा नेपाल सरकारको राजपत्राङकित प्रथम श्रेणीको २ जना अधिकृतलाई खटाएको छ । मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिताको अनुगमन गर्नको लागि आयोगले चितवनमा टोली पठाएको हो ।

अनुगमन टोलीका प्रमुख सह–न्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले चितवनमा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन सुरु भएको बताए । हालसम्म भोजभतेर गरेको उजुरी मात्र परेको उनले जानकारी दिए । ‘मतदातालाई प्रभावित पार्ने गरी भोजभतेर गराउन पाइँदैन, त्यसबारेमा उजुरी आइसकेको छ’ उनले भने । कसले, कैले, कुन सन्दर्भमा को विरुद्ध उजुरी गरेको हो, त्यस विषयमा उनले बताए ।

अनुगमन टोलीका अर्का व्यक्ति सहसचिव रामकृष्ण सुवेदीले प्रचारमा हिँडेका कार्यकर्ताले खाना खान्छन भने त्यो पाइने तर मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि किसिमका भोजभतेर गराउन नपाइने बताए । उनले चितवनमा आचारसंहिताको अनुगमनलाई तीव्रता दिने बताए । ‘अनुगमन टोलीको अर्जुनदृष्टि नै भयरहित स्वच्छ र निश्पक्ष चुनाव सम्पन्न गर्नु हो’ उनले भने, ‘कहिँकतै आचारसंहिता उल्लंघन हुन दिने छैनौँ ।’

अनुगमन टोलीले आचारसंहिता उल्लघंनको कुनै घटना भए सूचना दिन पनि अनुगमन टोलीले अनुरोध गरेको छ । ‘जिल्लाका राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिताको पालना गर्ने प्रतिबद्धता भइसकेको छ’ अनुगमन टोलीका सह न्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले भने, ‘आचारसंहिता विपरीतका प्रचार सामग्रीहरू हटाउन, तोकिएको नापभन्दा बढी हुने गरी प्रचार सामग्री निर्माण र प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौँ ।’ आचारसंहिता उल्लंघनको घटना फेला पर्न गएमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारबाही हुनेछ ।

सुरक्षा व्यवस्थाको तयारी पूरा
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी पूरा भएको बताए । उनले केन्द्रीय सुरक्षा योजनाअनुसार नै चितवनको सुरक्षाको व्यवस्था मिलाइएको बताए । प्रजिअ भट्टले भने, ‘सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाएर चितवनलाई सेभ गरिएको छ ।’

निर्वाचन विरोधी गतिविधिलाई निस्तेज पार्न ‘एसओएस स्पेशल फोर्स’ परिचालन गरिएका प्रजिअ भट्टले बताए । ‘गस्ती बढाइएको छ, एआरटी, क्यूआरटी फोर्स हाईअलर्टमा छ, सेनाका पोष्टहरु खडा छ । प्रहरी र सशस्त्रको टिम अघि बढेको छ’ प्रजिअ भट्टले भने ।

चितवनमा सुरक्षाकर्मी पर्याप्त छन् । चितवनमा नेपाली सेनाको ४ वटा गढ छ । सशस्त्रको २ वटा गढ छ । प्रहरीको तालिम केन्द्र पनि चितवनमा छ । त्यसैले पनि चितवनमा सुरक्षाकर्मी कमी नहुने प्रजिअ भट्टले बताए । मतदान स्थलमै प्रहरी फोर्स पुगिसकेको उनले बताए । चितवन प्रहरीले उम्मेदवारको गाडी, निवासलाई पनि निगरानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *