हारजितको दोसाधमा उम्मेदवारहरूको छटपटी

मङ्सिर १४, काठमाडौँ । दाेस्राे चरणकाे प्रतिनिधि सभा एवम् प्रदेश सभामा होमिएका नेताहरू जनमत आफ्नो बनाउन मरिमेटेर लागेका बेला पहिलो चरणको चुनावमा प्रतिस्पर्धा गरेका केही नेता अहिले रात दिन छटपटाएर समय कटाइरहेका छन् ।

पहिलो चरणमा उम्मेदवार भएका ७ सय २ जनाको ‘भाग्य’ यति बेला मतपेटिका भित्र कैद भएर बसिरहेकाे छ । तीमध्ये प्रतिनिधिसभामा ३७ जना र प्रदेश सभामा ७४ जनाले मात्र जित्नेछन् । बाँकी ५ सय ९१ जनाले त हार्ने नै हो । तर, पहिलो चरणमा केही यस्ता मानिसले हार्नेछन्, जसले उनीहरूको राजनीतिक भविष्यमा ठुलो प्रश्न चिन्ह खडा गर्नेछ । त्यसैले पहिलो चरणमा उम्मेदवार भएकालाई मात्र होइन आम मतदाता, दलका नेताकार्यकर्ता र चुनावी विश्लेषण गरेर बसेकाहरुमा पनि बाकसमा बन्द भोटको परिणाम कस्तो आउला भन्ने छटपटी छ । उनीहरू सबैको छटपटी र ढुकढुकी अर्को हप्ता २१ गते बेलुकीपछि झन् बढ्नेछ । २१ गते दोस्रो चरणको मतदान सकिएलगत्तै पहिलो चरणको चुनाव भएका जिल्लामा मतगणना सुरु हुनेछ । मतगणना सुरु नहुँदासम्म सुरक्षाकर्मी र दलका प्रतिनिधिले बिरामी कुरेझैं आँखा झिमिक्क नगरीकन मतपेटिकालार्इ पहरा दिएर बसेका छन् ।

कसले हार्ला, कसले जित्ला ?
पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन भएकाे क्षेत्रबाट प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी १११ क्षेत्रका लागि ७०२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अर्थात् यी मध्ये १११ उम्मेदवारले मात्रै चुनाव जित्छन्, बाँकी ५९१ जनाले हार्नेछन् । यसरी हार्नेमा ठुला र चर्चित नेता पनि पर्नेछन् ।

गोरखा २ बाट प्रतिस्पर्धा गरेका नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ मध्य एकले चुनाव हार्नेछन् । जित्ने मैले नै हो भनेर भाषण गरेर मतदाताको मन लोभ्याएका यी दुई नेतामध्ये कसको भाग्य बलियो होला, यसै भन्न गाह्रो छ । उनीहरू स्वयम् अनि उनीहरूका कार्यकर्ता र मतदातालाई मात्र होइन, भट्टराईलाई समर्थन गर्ने काँग्रेस र श्रेष्ठलाई समर्थन गर्ने एमालेलाई पनि उत्तिकै छटपटी भइरहेकाे छ ।

गोरखापछि सिन्धुपाल्चोक र नुवाकोटका उम्मेदवारका बारेमा पनि चिन्ता लिनेहरु धेरै छन् । सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा र वाम गठबन्धनको तर्फबाट एमालेका शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् । राणालाई जित्छन् कि हार्छन् भन्ने चिन्ता काँग्रेसलाई समेत छ । किनकि गोरखामा नयाँशक्तिका भट्टराईलाई समर्थन गरेको काँग्रेसले यहाँ राणालाई साथ दिएको छ । तामाङको पार्टी एमाले र वाम गठबन्धनको सहयात्री दल माओवादीलाई पनि राणालाई हराउन सकिन्छ या सकिँदैन भन्ने ढुकढुकी छँदैछ ।

यसै गरी नुवाकोटका दुवै क्षेत्रमा काँग्रेसका डा. रामशरण महत र अर्जुनरसिंह केसीलाई वाम गठबन्धनका नेताले चुनौती दिएका छन् । नुवाकोटलाई आफ्नो किल्ला मान्दै आएको काँग्रेसलाई यस पटक हारिने हो कि भन्ने डर धेरै छ । १० गते मतदान सकिएपछि महत र केसी दुवैको ढुकढुकी पक्कै बढेको छ । काँग्रेसका महत र केसीलाई भन्दा बढ्ता छटपटी छ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई । यसअघि काठमाडौँबाट २ पल्ट उम्मेदवार भए पनि दुुबैपल्ट चुनाव हारेका भट्टराई अहिले गृहजिल्ला ताप्लेजुङ पुगेका छन् । अरू हेभीवेट नेताभन्दा एमाले सचिव भट्टराईको सम्भावना बलियो छ भन्नेहरु धेरै छन् । तर, बाकसभित्र थन्किएर बसेको मतपत्रमा के छ, कसलाई के थाहा ?

यसै गरी १० गते चुनाव भएको ओखलढुंगामा पनि रोचक प्रतिस्पर्धा भएको छ । जहाँ एमालेका युवा नेता यज्ञराज सुनुवार र काँग्रेसका युवा नेता रामहरि खतिवडा मैदानमा थिए । धेरैले भन्छन्, यी दुवै नेता संसद्मा पुग्नुपर्छ । तर, दुईमध्ये एकले हार्ने पक्का छ । कसले जित्ला र कसले हार्ला अहिल्यै यसै भन्न सकिन्न । सङ्खुवासभामा एमालेका राजेन्द्र गौतम र काँग्रेसका दीपक खड्का, पाँचथरमा काँग्रेसका भीष्मराज आङदेम्बे र एमालेका वसन्त नेम्वाङको अवस्था पनि यस्तै हो । सोलुखुम्बुमा बलबहादुर केसीलाई पनि बाम गठबन्धनका सामान्य नेताले चुनौती दिएका छन् ।

लमजुङबाट प्रतिस्पर्धा गरेका माओवादीका देव गुरुङ र दिलबहादुर घर्तीको भाग्य परीक्षा पनि मतपेटिकाभित्र कैद भएर बसेको छ । रुकुमबाट उम्मेदवार भएका माओवादीका जनार्दन शर्मा, रोल्पाबाट उठेका माओवादीकै वर्षमान पुन अनि जाजरकोटबाट उठेका माओवादीका शक्तिबहादुर बस्नेत र काँग्रेसका राजीवबिक्रम शाहलाई पनि मतदाताले भोट दिइसकेका छन् । जाजरकोटमा बस्नेत र शाहमध्ये कसलाई मतदाताले पत्याउँछन् भन्ने छिनोफानो बाकसभित्र रहेको मतपत्रले गरिसकेको छ । तर परिणामा आउन २१ गतेदेखि मात्र सुरु हुनेछ । बस्नेत र शाहजस्तै जनार्दन र वर्षमानको ढुकढुकी पनि उसैगरी बढिरहेको छ ।

अनि प्रदेशबाट मुख्यमन्त्री बन्ने दाबी सहित मैदानमा उत्रिएका केही नेताको भोट पनि बाकसभित्र पसिसकेको छ । १ नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबी सहित भोजपुरबाट प्रदेशसभामा उठेका एमालेका शेरधन राई, ३ नम्बर प्रदेशको मुख्य मन्त्रीको दाबी सहित धादिङबाट उठेका एमालेकै राजेन्द्र पाण्डेको मत पनि बाकसभित्र बन्द छ । २१ गते मतगणना सुरु भएर छिनोफानो नहुँदासम्म यी नेताहरूको छटपटी बढिरहने छ ।

हार्ने ५ सय ९१ मध्ये लगभग ५ सयलाई चुनावकै बेलादेखि आफूले हार्छु भन्ने थाहा भैसके पनि जित्ने १ सय ११ बाहेक अरू १ सय जनाले त आफूले हार्नुपर्ला भन्ने सोचेका छैनन् । त्यसैले हारजितको दोसाधमा रहेका करिब २ सय उम्मेदवारको लागि त रातको निन्द्रा र दिउँसोको काम एकसाथ हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *