दमकलका लागि पानीको समस्या, नियन्त्रकको सुरक्षाका लागि छैन तालिम

लोकेन्द्र थापा । नेपालगन्ज । गत जेठ १४ गते नेपालगन्जको सुर्खेतरोड स्थित श्रेया इन्टेरियर इन्डष्ट्रिजमा आगलागी भयो । आगो निभाउन पुगेको दमकल थप पानी लिन जादा आधा घण्टा भन्दा बढी लाग्यो । त्यसबीच आगो झन् दन्कियो । तत्कालै पानीको व्यवस्था भएको भए सायद क्षति कम हुन्थ्यो । दमकललाई पानीको व्यवस्था गर्न सयौं प्रहरीले नालाको पानी बाल्टिनमा बोकेर दमकलमा भर्नु पर्यो । सुर्खेत रोडमै रहेको सिटी प्यालेसले १ लाख लिटर भन्दा बढी पानी दमकललाई उपलब्ध गराएपछि आगो नियन्त्रणमा आयो ।
यस्ता आपतकालीन अवस्थामा तत्कालै पानीको व्यवस्था गर्न सयौं फायर हाइट्रेन्ट बनाइएको थियो । खानेपानी मुख्य पाइपमै जोडेर जमीनको सतह भन्दा केही फिट माथि राखिएका फायर हाइटेन्ट अहिले सुर्खेतरोडमा देख्न पाइँदैन । नेपालगन्जमा आपतकालीन स्थितिमा मात्र प्रयोग गर्न मिल्ने गरी बनाइएका फायर हाइटेन्टबारे सरोकारवाला निकाय र स्थानीयबासील संरक्षणमा ध्यान नदिएपछि कहाँ गए भन्ने एकिन रुपमा कसैले बताउन सक्ने अवस्था छैन । नेपाल खानेपानी संस्थानले नेपालगन्जमा खानेपानीको पाइप बिस्तारका क्रममा जोडिएका फायर हाइटेन्ट सडक बिस्तारका क्रममा सुर्खेतरोडका भाँचिएको छ ।
‘सडक बिस्तारका क्रममा खानेपानीको पाइप सर्दा निर्माण कम्पनीले नै फायर हाइटेन्ट पनि निकाले’, संस्थान नेपालगन्ज कार्यालय प्रमुख आशिष कार्कीले भने, ‘खानेपानीको पाइप सारियो तर फाइर हाइट्रेन्ट निर्माण कम्पनीले बनाइदिएन ।’ ‘निर्माण कम्पनीले धेरै लापरवाही गरेर समस्यामा पारिदियो’, उनले सडक बिस्तारका क्रममा निकालिएका फायर हाइट्रेन्टको अवस्थाका बारेमा निर्माण कम्पनीले अहिलेसम्म जानकारी नदिएको बताउँदै भने ।
Displaying a.jpg
‘निर्माण कम्पनीले जानकारी नै नदिएका कारण खानेपानी सप्लाईमा समेत धेरै समस्या आएको छ’, प्रमुख कार्कीले भने, ‘सुर्खेतरोडको खानेपानीको समस्या असार मसान्तसम्म पूर्ण रुपमा समाधान गर्ने योजना छ ।’ ‘निर्माण कम्पनीले फायर हाइन्टेन्ट हटाएकाले उनीहरुले पुननिर्माण गरिदिनुपर्छ’, कार्कीले भने । यद्यपि, आपतकालीन अवस्थामा दमकलका लागि खानेपानीले पर्याप्त पानीको व्यवस्था गर्ने प्रमुख कार्कीले बताए । ‘दमकलका लागि पानीको समस्या हुँदैन’, उनले भने, ‘खानेपानी संस्थानको ट्ंयाकीमा आए ५।७ मिनेटमै ट्यांकी भरिदिन्छौं ।’ नगरभवन रहेको वारुण यन्त्रको कार्यालयमा पनि दमकललाई पानी भर्न ट्यांकी बनाइएको छ । ‘एक पटक दमकलको ट्यांकी भर्न ३० मिनेट सम्म लाग्छ’, वारुणयन्त्रका इन्चार्ज रञ्जित बहादुर श्रेष्ठले भने ।
समय सापेक्ष छैन तालिम
बढ्दो सहरीकरण सगै नेपालगन्जमा अग्ला अग्ला घर तथा भौतिक संरचनाहरु बनेका छन् तर त्यस अनुसारको अग्नी नियन्त्रकहरु क्षमता अभिवृद्धि गरिएको छैन । न त अग्नी नियन्त्रकको सुरक्षाका लागि कुनै व्यवस्था गरेको पाइएको छ ।नेपालगन्जमा वारुण यन्त्र सञ्चालनका लागि ८ वटा कर्मचारी कार्यरत छन् । ‘अग्ला घरहरुमा आगो लागे कसरी नियन्त्रणमा लिने भन्ने कुनै योजना र तालिम छैन’, वारुण यन्त्रमा कार्यरत एक कर्मचारीले भने, ‘आगलागी नियन्त्रणका लागि सामान्य तालिम भने पाएका छौं ।’ ‘अग्ला घरहरु बनेका छन्, आगलागी भएमा ठूलो जोखिम छ’, विगत ८ बर्षदेखि वारुणयन्त्रका चालक रहेका आया सिंहले भने, ‘नियमित तालिम तथा नयाँ प्रविधिहरुको बारेमा प्रशिक्षण दिइएको भए काम गर्न सहज हुन्थ्यो ।’
Displaying kkkk.jpg
अग्नी नियन्त्रकहरुको काम जोखिमपूर्ण हुन्छ तर उनीहरुको सुरक्षाका लागि कुनै व्यवस्था छैन । ‘साधारण डेर्स र हेल्मेट छ’, चालक सिंहले भने, ‘अन्य सुरक्षाका साधन बारे थाहा भएन ।’ नेपालगन्ज बजार भित्रै कतिपय ठाउँमा दमकल पस्न सक्ने बाटो नै छैन । आगो लागिहाले कसरी त्यहाँसम्म पुगेर आगो निभाउने भन्ने कुनै तयारी वारुण यन्त्रका कर्मचारीसँग छैन । ‘आगलागीको सूचना पाउने बित्तिकै कुदिहाल्छौं’, चालक सिंहले भने, ‘पानी लिएर जाने दमकललाई थप आवश्यक परे व्यवस्था गर्न गाह्रो पर्ने गरेको छ ।’ ‘आगलागी भएको स्थानमा पुग्ने बित्तिकै एक जनाको काम त पानीको स्रोत खोज्नु नै हुन्छ’, उनले भने, ‘गाउँमा भएका आगलागीका घटनामा उपलब्ध बोरिङ्ग, नदी, नालाहरुको पानी प्रयोग गरिरहेका छांै ।’ नेपालगन्जमा रहेको वारुण यन्त्र नेपालगन्ज, बाकेको राप्तीपारी, सीमावर्ती भारतीय क्षेत्रमा आगो निभाउन जाने गरेको छ ।
यस बर्ष बाकेमा २० वटा भन्दा बढी आगलागीका घटना भएको वारुण यन्त्रका इन्चार्ज रञ्जित बहादुर श्रेष्ठले जानकारी दिए । ‘नेपालगन्जमा हाल एउटा वारुण यन्त्र मात्र छ’ उनले भने, ‘दुई वटा सामाग्री अभावमा मर्मत हुन नसकेर त्यसै थन्किएका छन् ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *