३२ जिल्लाको मतगणना २१ गते साँझ पाँच बजेदेखि हुने

मंसिर १७, काठमाडौं । मंसिर १० गते पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा २१ गते विहिबार साँझ पाँच बजेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुने र साता दिनभित्र प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

१० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ । सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् ।

ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल
निर्वाचन आयोगले आगामी विहिबार २१ गते दोस्रो चरणमा हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शान्ति सुरक्षाको सुदृढ प्रबन्ध गरिएकाले निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेका हुन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले निर्वाचनका लागि आवश्यक सबै खालको सुरक्षा प्रबन्ध मिलाईसकेको पनि स्पष्ट पारे ।

उनले निर्वाचनका लागि सुरक्षित वातावरण बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको उल्लेख गर्दै मतदान सुरक्षित वातावरणमा सम्पन्न हुने विश्वास पनि व्यक्त गरे । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता पालना गर्न, गराउन पनि सरकार र सम्बद्ध सबैलाई पुनः सचेत गराए ।

निर्वाचन राष्ट्रको लागि भएकाले कसैले पनि आचासंहिता उलंघन गर्न नहुने स्मरण गराउदै उहाँले विगतमा भन्दा निर्वाचन आचारसंहिता पालना गर्ने काममा सुधार हुँदै आएको दावी समेत गरे ।

यसैबिच, मतदाता शिक्षाका लागि सुुरु गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) विवादमा निर्वाचन आयोगले स्पष्टीकरण दिएको छ । इलेक्सन क्विजमा प्रमुख दलको पक्षमा प्रश्न सोधिएको भन्दै एमालेले आपत्ति जनाएको थियो ।
लगत्तै, आयोगले इलेक्सन क्विज सात भागको रहेको र सबैमा प्रधानमन्त्रीदेखि विभिन्न दलका अध्यक्ष, शीर्ष नेता तथा अन्य उम्मेदवारको नाम रहेको बताएको छ ।

निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको र कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरहेको स्पष्टीकरण दिएको छ । यता, प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत दोश्रो चरणमा आगामी विहिबार हुने मतदानका लागि आयोगले १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको छ ।

उता, आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तुका सीमा नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन गरिएका छन ।
चुनावको बेला भारतबाट भित्रिन सक्ने बिस्फोट पदार्थ र आपधारिक समुहलाई नियन्त्रण गर्न सीमा नाकाहरुमा तालिम प्राप्त कुकुरलाई खटाईएको हो ।चाकरचौडा, मर्यादपुर हदौना, कृष्णनगर लगायतका सीमा नाकामा कुकुर परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *