सुख्खा डाँडामा पानी आएपछि खुसियाली
“
धादिङ, १३ असार । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ । पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनिबाट डिप बोरिङ गरी पानी निकालिएको थियो ।
“गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । यन्त्र ल्याएर पानी निकालेपछि गाउँबासी हर्षित भएकाले अब जिल्ला समन्वय समिति र डिसिए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ”, पोखरेलले बताउनुभयो । डिटिएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि रु चार लाख खर्च गरेर यन्त्र ल्याई पानी निकालिएको हो ।
सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १२० मि तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रुपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २०५ मि तलबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रुपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ । हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघन्टा ३० हजार लि सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाइ छ । रानीपोखरी, धुसेनीलगायत स्थानमा ५२० घरले सो पानी उपभोग गर्ने गरी रु ४० लाखको लागतमा योजना निर्माण गरिने योजना छ ।
भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २५०, अम्बोटे पोखरीमा २००, भत्केको पौवामा २०० र अन्नपूर्ण घलेडाँडामा ३०० घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ । एक हप्ताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र पानी निस्किएमा योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ । रासस
“