समानुपातिकमा एमाले र माओवादीमा महिलालाई मात्रै मौका

मंसिर २५, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ठूलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायमै राखेको छ । मंगलबार साँझसम्म ४४ लाख भोट गणना भएको छ र एमालेले सबैभन्दा बढी साढे १५ लाख भोट पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले साढे १४ लाख बढी भोट पाउँदा माओवादी सवा ६ लाख भोटका साथ तेस्रो स्थानमा छ । संघीय समाजवादी फोरमले डेढ लाख र राजपाले एक लाख भोट पाएका छन् भने अन्य पार्टीहरुको समानुपातिकको भोट एक लाख पुगेको छैन ।

राप्रपा, विवेकशील साझा पार्टी र नयाँ शक्ति थ्रेस होल्डका लागि संघर्षरत छन् भने राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, लेलगायतले नकटाउने लगभग पक्का छ । यद्यपि पाँच पार्टी एमाले, कांग्रेस, माओवादी, फोरम र राजपाले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाउने देखिन्छ । समानुपातिकमा सांसद पाउन कुल सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्ने व्यवस्था छ ।

कसरी छानिन्छन् समानुपातिक सांसद
यसका लागि सर्वप्रथम देशभरको मतगणना सकिनुपर्छ र कुल सदर मत कति हो भनेर संख्या निकाल्नुपर्छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मतदाताले मत खसालेका छन् । जारी गणना हेर्दा २ देखि ३ प्रतिशत मत बदर हुने देखिन्छ । यदि ३ प्रतिशत मत बदर भयो भने सदर मत १ करोड २ लाख ६९ हजार बढी हुनेछ ।

अब यसमा तीन प्रतिशतको थ्रेस होल्ड लागू हुनेछ । कुद सदर मतको ३ प्रतिशत मतअनुसार ३ लाख ८ हजार बढी मत ल्याउने दल मात्रै समानुपातिक सिटका लागि योग्य हुनेछन् । यो थ्रेस होल्ड पार गर्न नसक्ने राजनीतिक दलहरुको कुल मत झण्डै १० लाख हुने अनुमान छ । यो मतलाई पनि कुल सदर मतबाट घटाइनेछ । अर्थात करिव ९२ लाख मत समानुपातिकका लागि योग्य मानिनेछ । अब ‘सेन्ट लग’ मेथड (मत विभाजन गर्ने सुत्रबाट कुन दलले समानुपातिकमा कति सिट पायो भन्ने छुट्याइनेछ ।

एमाले र माओवादीमा महिलालाई मात्रै मौका

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दलहरुले पाउने सिट संख्या छुट्याएपछि ३३ प्रतिशत महिला पुग्न कति महिला चाहिने रहेछ भनेर निर्वाचन आयोगले छुट्याउने छ । र, समानुपातिकमा पाएको कुल सिट मध्येबाट यति महिला पाठाउनुस् भनेर दललाई पठाइनेछ । त्यसपछि दलहरुले यसअघि नै बुझाएको बन्दसूचीको यथासम्भव क्रमानुसार सांसद छान्नु पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *