चकित पार्ने फिल्म
तरन आदर्श
मैले कुनै समय ‘बाजिराव मस्तानी’बारे लेखेका कुराहरु अहिले ‘पद्मावत’सँग जोडेर हेर्दा फरक पदैन । मैले लेखेको थिएँ, “कुनै पनि पौराणिक वा ऐतिहासिक कथावस्तुलाई जस्ताको त्यस्तै पर्दामा उतार्न मेगा बजेट, कथाबारे गहिरो जानकारी, ठुलो सङ्ख्याका पात्र र फिल्म युनिट नियन्त्रण गर्ने आँटसँगै धेरैभन्दा धेरै आत्मविश्वास चाहिन्छ । ऐतिहासिक सत्य-तथ्यबाट फिल्मकर्मी थोरैमात्र भड्किए पनि दर्शकबाट फिल्म सोझै इन्कार हुन सक्छ । निर्देशकाका लागि यस्ता फिल्म भयंकर ठूला चुनौती हुन् ।”
‘पद्मावत’ एउटा यस्तो चलचित्र हो, जुन बन्ने हल्ला भएदेखि नै चर्चामा रहिरह्यो । पत्रिकाका हेडलाइन्सदेखि टिभीमा आउने बहसहरुमा यसले ठाउँ पाउन थाल्यो । हाम्रो समयको सबैभन्दा धेरै विवादित, धेरै चर्चित र लगभग हरेकको बहसमा ठाउँ बनाएको विषयवस्तु बन्यो । देशदेखि विदेशसम्म यसले खिचेको ध्यानले सबैको उत्सुकता बढ्यो । यो चुलिएको उत्सुकतामाझ कैयन् विवाद, अप्ठ्याराहरूलाई पार गर्दै ‘पद्मावत’ प्रदर्शन भएको छ ।
इतिहासका कथा र पात्रहरुले मलाई सधैं छुट्टै ऊर्जा दिन्छन् । रामानान्द सागरको ‘रामायण’ र बीआर चोपराको ‘महाभारत’ हेरेर बिताएका बाल्य र यौवनकाल अझै सम्झनामा छन् । त्यस्तै सोहरब मोदी, के आसिफ र कमाल आरोहीका कामहरु म अझै सम्झन्छु । त्यस्तै आधुनिक समयमा बनेका अशुतोष गवारिकारको ‘जोधा अकबर’ र एसएस राजामौलीका ‘बाहुबली १ र २’ ले पौराणिक फिल्मप्रतिको मेरो प्रेमलाई पुनर्जीवन दिने काम गरे ।
म कुनै इतिहासकार होइन, जसले इतिहासका पन्नाहरुमा आफ्नो जिन्दगी बिताएको होस् । वा विशेषज्ञ होस् । जसले कुनै ऐतिहासिक चलचित्रको तथ्य-सत्यबारे बोलोस् । म त्यो होइन । तर, म फिल्मबारे जानकारी राख्ने व्यक्ति हुँ । यही दृष्टिबाट ‘पद्मावत’ हेर्दा म चकित भएँ । सञ्जय लीला भन्सालीले पस्केको यो मेगा चलचित्रले मलाई अत्यन्त आनन्द दियो । अन्तर्राष्ट्रियस्तरको प्रस्तुति रहेको यो चलचित्र शानदार, भव्य र चकित पार्ने किसिमको छ । यस्ता मेगा बजेटका फिल्महरुमा दृश्य र प्राविधिक पाटोले कथावस्तुलाई छायामा पार्छन् तर ‘पद्मावत’मा त्यो छैन । जति भव्य यो चलचित्रको निमार्णशैली छ, त्यति नै सुन्दर र बलियो कथावस्तु/पटकथा छ । फिल्मको प्रेमकथा, बढ्दै जाने तनाव, त्यसले निम्त्याउने घटनावस्तु, नाटकीय मोडहरु, चकित पार्ने युद्धका दृश्य र मथिङ्गल हल्लाउने अन्त्य । ‘पद्मावत’ले इतिहासलाई वर्तमानमा ल्याएको छ ।
धेरै नघुमाएर सोझै भन्नुपर्दा ‘पद्मावत’ बाहिरी सतहमा मात्र सौन्दर्य भएको फिल्म होइन, यो गहिरो छ । गहिराइ बोकेको छ । यो खुकुलो छैन, खाँदिलो छ । फिल्मले चित्तबुझ्दो कथावस्तु र अभिनय बोकेको छ । बेजोड क्लाइम्याक्सले सुनमा सुगन्ध थपेको छ । ‘पद्मावत’ सञ्जय लीला भन्सालीको अहिलेसम्मकै उत्कृष्ट काम हो भन्दा फरक पर्दैन । ‘देवदास’, ‘रामलीला’, ‘हम दिल दे चुके सनम’, ‘बाजिराव मस्तानी’जस्ता भव्य फिल्म बनाउने भन्सालीले यो फिल्ममार्फत आफूलाई थप पुष्टि गरेका छन् । फिल्ममा गुदी भरेर उत्कृष्ट तरिकाले पस्कन सक्ने बिरलै निर्देशकमा उनी पर्न थालेका छन । ‘पद्मावत’ यही क्रमको अर्को उदाहरण हो । यद्यपि ‘सावरिया’ र ‘गुजारिश’मा उनी चुकेका थिए । उतृकष्ट फिल्मकर्मी त्यो हो, जसले आफ्ना गल्ती स्वीकारेर झन् राम्रो गर्ने हौसला र आत्मविश्वास जगाउँछ । भन्साली बलिउडका त्यस्तै अनमोल रत्न हुन् ।
उत्कृष्ट लेखाइ, पटकथाका साथसाथै ‘पद्मावत’ उत्कृष्ट अभिनयले भरिपूर्ण छ । दीपिका पादुकोण यो फिल्मकी केन्द्र हुन् । अर्को वर्ष अवार्ड शोहरूमा दीपिकाको वर्चस्व हुने कुरा लेखेर राखे हुन्छ । दर्शकको तर्फबाट अथाह माया र स्नेह पाउने खाले अभिनय र पात्रमाथि उनले गरेको न्याय यो फिल्मको अर्को आकर्षण हो । दीपिकालले अहिलेसम्म गरेका अभिनयमध्येको यो उत्कृष्ट हो ।
रनवीर सिंहको चरित्र र अभिनयबारे लामो समयसम्म चर्चा गरिनेछ । एउटा निर्भीक, बहादुर, दुष्ट शासकको पात्रभित्र उनी यसरी अटाएका छन् कि मानौ उनले अभिनय गरेका होइनन्, स्वयं खिलजी बनेका छन् । रनवीर सिंहले हरेक फिल्ममा एकपछि अर्को दमदार र फरक पात्रमा आफूलाई प्रस्तुत गर्दै आएका छन् र ‘पद्मावत’ त्यसकै निरन्तरता हो । त्यस्तै, शाहिद कपुरको अभिनय वास्तविक र चरित्र सुहाउँदो छ ।
‘पद्मावत’ चुकेको एउटामात्र ठाउँ हो- संगीत । संगीत अझैँ बलियो भएको भए ‘पद्मावत’को शोभा बिलकुल फरक र अर्को उचाइमा हुने थियो । तर, आफ्नो फिल्ममा आफै संगीत भर्ने भन्साली यसपालि त्यो विधामा चुकेका छन् ।
अर्को भुल्नै नहुने कुरा भनेको युद्धका दृश्यहरु हुन् । हेर्दै अप्त्यारिला, भयंकर युद्धका दृश्यहरु तारिफयोग्य छन् । त्यस्तै क्यामेरा, सहायक पात्रहरु, संवाद र थ्रीडीको प्रयोग सम्झनलायक छन् । सहायक भूमिकामा रहेका जिम सर्भ जति सिक्वेन्समा देखिएका छन्, हरेकमा अब्बल छन् । आयाम मेहता र उज्वल चोपराको काम दमदार छ । अदिती राव हैदरी बिर्सन नसकिने छिन् । राजा मुराद पनि उत्तिकै जमेका छन् ।
खासगरी बलिउडले थ्रीडी प्रविधिलाई खराब तरिकाले प्रयोग गर्दै आएको छ । प्रयोग नभनौं, दुरुपयोग गरेको छ । थ्रीडीमा जति फिल्म बनेका छन्, सबैजसोले निराश पारेका छन् । तर, भन्साली त्यस्ता एक्ला हस्ती हुन्, जसलाई प्रविधि कसरी चलाउने र त्यसको महत्व के हो भन्ने राम्ररी थाहा छ । उनको यही विशाल ज्ञान पर्दामा देख्न सकिन्छ । ‘पद्मावत’ आईम्याक्स थ्रीडी प्रयोगमा पनि उच्चस्तरको छ । यसले दर्शकलाई बेग्लै संसारमा लैजान्छ ।
निष्कर्ष:
‘पद्मावत’ एउटा छुटाउनै नहुने उत्कृष्ट चलचित्र हो । म यसलाई ५ मा ४.५ रेटिङ दिन्छु ।
(‘बलिउडहंगामा डट कम’बाट साभार )