‘केपी ओली सत्तामा आउनु भारतको नेपाल नीति असफल’
“
मंसिर २७, काठमाडौं । नेपालमा वाम गठबन्धनको विजयलाई भारतीय पक्षले उसको नेपाल नीति असफल भएको रुपमा ब्याख्या गर्न थालेको छ । वाम गठबन्धनले विजय प्राप्त गरेर सरकार बनाउन लागेपछि भारतीय पत्रिकाहरूमा धमाधम यससम्बन्धी विश्लेषणहरू आइरहेका छन् ।
यसै क्रममा भारतको अंग्रेजी दैनिक दी इन्डियन एक्सप्रेसमा ज्योति मल्होत्राको बाईलाईनमा एउटा विश्लेषण मंगलवार छापिएको छ ।
त्यसमा लेखिएअनुसार, भारतले नेपालको ताजा राजनीतिक घटनाक्रममा टिप्पणी नगरिकन राष्ट्रिय स्वयंसेवक संघका नेता राम माधवलाई बोल्न लगायो ।
ओली सत्तामा आउनुलाई भारतको नेपाल नीतिको असफलताका रूपमा मल्होत्राले टिप्पणी गरेकी छन् ।
मधेशीहरूलाई मूलधारमा ल्याउनका लागि भन्दै भारतले अनौपचारिक रूपमा आर्थिक नाकाबन्दीलाई समर्थन गरेपछि ओली सरकारले त्यसको विरोध गरेको मल्होत्रा लेख्छिन् । उनले नेपालको सार्वभौमसत्तामा भारतको हस्तक्षेपलाई देखाउँदै मुलुकलाई चीनतर्फ लगेको मल्होत्राको टिप्पणी छ ।
राम माधवले भने, ‘म नेपाली जनता र वाम गठबन्धनलाई विजय दिलाउने केपी ओलीलाई बधाई दिन्छु । ओलीजीसँग मेरो लामो समयदेखि व्यक्तिगत सम्बन्ध भएको नाताले म भन्न सक्छु कि भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुन्छ ।’
राम माधव लगायत भारतका वरिष्ठ नेताहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीचको सम्बन्ध सुधार्नका लागि कोशिश गरेको मल्होत्रा लेख्छिन् । त्यसैले ओलीको विजयपछि उनलाई फकाउन भारतले कोशिश गरेको निष्कर्ष यसबाट निकाल्न सकिन्छ ।
“