कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै
कात्तिक ८, धनगढी । कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ ।
तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी पाँच वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा चारवटा बोटिङ ढुङ्गाको व्यवस्थाका साथै भ्यू टावर, प्रतीक्षालय, वनभोजस्थल लगायतका पूर्वाधारको निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरीले बताए ।
“ताललाई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो । सो ताल अवलोकनका लागि दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । करिब ७२ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालको गहिराइ यकिन हुन् सकेको छैन ।
उक्त ताल एक वर्षअघि पाँच वर्षका लागि रु एक करोड ४० लाखमा ठेक्कामा दिइएको वडाध्यक्ष खेमराज चौधरी बताउँछन् । तालमा माछापालन गरिँदै आएको छ । तालको आम्दानीले सो क्षेत्रमा रहेका विभिन्न विद्यालयका निजी स्रोतका शिक्षकको पारिश्रमिक व्यहोर्ने गरिएको छ ।
उक्त क्षेत्रमा कोइलही नामका दुईवटा ठुला ताल, जोगिनियालगायतका आठवटा प्राकृतिक ताल रहेका वडाध्यक्ष चौधरी बताउँछन् । कैलारी गाउँपालिकामा ७३ वटा प्राकृतिक ताल तलैया रहेका छन् । ताल तलैयाको स्थानीय क्लब, विद्यालय र समूहले आ–आफ्नै ढङ्गले उपयोग गरिरहेका छन् । गाउँपालिकाले आफ्नो मातहतमा ल्याएर निश्चित अवधिसम्म ठेक्कामा लगाई आम्दानीको स्रोत बनाउन लागेको सो गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत बलराम चौधरीले बताए । रासस