स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ पूर्वमन्त्री गिरफ्तार

स्पेन, कात्तिक १७ । स्पेन सरकारले स्वतन्त्र क्याटलोनिया अभियानमा लागेका ८ जना पूर्वमन्त्रीलाई गिरफ्तार गरेको छ ।

केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाको प्रान्तीय सरकारका ८ पूर्व मन्त्रीलाई मड्रिड उच्च अदालतमा उपस्थित हुँदा गिरफ्तार गरिएको हो । अदालतमा उपस्थित हुने आदेश अवज्ञा गरेका स्वतन्त्रतावादी नेता कार्लेस पुज्मोनविरुद्ध भने युरोपियन पक्राउ आदेश जारी गर्ने तयारी गरिएको छ ।

पुज्मोनसँगै अदालतमा उपस्थित नभएका अरु चार जनालाई पनि पक्राउ आदेश जारी गर्न लागिएको छ ।

स्पेनको क्याटलोनिया प्रान्तलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पुज्मोन लगायतका नेताले जनमत संग्रह गराएका थिए । अदालतले अवैध घोषणा गरेको जनमत संग्रहले क्याटलोनियालाई अलग्गै राज्य बनाउने पक्षमा मत दिएको थियो । सोही परिणामको आडमा क्याटलोनियाको संसदले स्पेनबाट अलग भएको निर्णय गरेपछि केन्द्र सरकारले क्याटलोनियाको स्वायत्तता निलम्बन गर्दै त्यहाँ केन्द्रीय शासन लागू गरेको थियो ।

केन्द्रीय शासन लागू भएसँगै अलगवादी नेताहरुविरुद्ध अदालती कारवाही सुरु गरिएको छ । क्याटलोनियाका पूर्व सरकार प्रमुख एवं स्वतन्त्रतावादी अभियानका मुख्य नेता पुज्मोन भने हाल बेल्जियममा राजनीतिक शरण लिईरहेका छन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *