कर फछ्र्याैट आयोगका ढकाल र महत जेल चलान, अदालतबाट एक/एक करोड धरौटी माग
मंसिर ६, काठमाडौं । कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेल चलान भएका छन् । उनहिरुसँग विशेष अदालतले एक/एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको थियो ।
न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले मंगलबार महत र ढकाललाई रु एक/एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए ।
उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् ।
तत्कालीन कर फछ्र्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ सुरु भएको थियो ।
अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा रु १० अर्बको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो । शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।
अख्तियारले कर फछ्र्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब रु २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए ।