पहिले त उम्मेदवार आउनुपर्ने हो तर घाम लागेपछि आउँछन्…..

काठमाडौँ, मङ्सिर २१ । मैतिदेवी मन्दिरको ठिक अगाडि मैतिदेवी क्षेत्र विकास समाजको मतदान केन्द्रमा ६ः ५५ मा ८५ वर्षीया एक जना वृद्ध आमा देखा परिन् । चिसोले कठ्याङ्ग्रिएको हातमा मतदाता परिचय पत्र समाउँदै उनी मतदानका लागि लााममा थिइन् तर सात बजेर १५ मिनेट भयो मतदान गर्ने अत्तोपत्तो भएन । त्यसपछि उनले बलजफ्ती झैँ गरेर भित्र छिर्न खोजिन् तर निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले भित्र मतदानका लागि प्रक्रियाहरू पूरा भइरहेको भन्दै लाममा उभिन निर्देश गरे ।

मलिलो आवाज सुन्ने वृद्ध आमालाई चिसोले कठ्याङ्ग्रिनु परेपछि झोक चलेछ,‘म भोट खसाल्छु अनि जान्छु किन रोक्नु भएको । ७ त नाघिसक्यो ।’

उनीसँगै आएका ८० वर्षीया न्हुछे बहादुर खत्री पनि ती वृद्ध आमाजसरी नै सुरक्षाकर्मीहरुसँग पड्किरहेका थिए । आफू ठ्याक्कै समयमा मतदान केन्द्रमा आइपुग्दा पनि मत खसाल्ने कुनै अत्तोपत्तो नभएपछि उनी आफूले चाँडो मतदान गरेर फर्किने बताइरहेका थिए । तर, सुरक्षाकर्मीले भने बारम्बार एउटै जवाफ दिन्थे,‘भित्र प्रक्रियाहरू पूरा भएको छैन । प्रक्रिया सकिन साथ पठाइहाल्छौँ । नआत्तिकन लाममा उभिदिनुहोला ।’

काठमाडौँ क्षेत्र नम्बर–४ पर्ने मैतिदेवी मन्दिरमा दुई केन्द्र रहेका छन्, मयुर कुण्ड र मैतिदेवी क्षेत्र विकास समाज । दुई वटै मतदान स्थलमा मतदाताहरु ठ्याक्कै ७ बजेदेखि नै लाममा उभिएपनि मतदान ढिला भएको छ ।

यसबारे मयुरकुण्ड मतदान स्थलभित्र रहेका सामान्य प्रशासन मन्त्रालयका परिवेक्षक केदार बहादुर कार्कीले मतदाताहरु ढिला आएकोले मतदान सूचारुमा ढिलो भएको बताउँछन् । तर, मतदाताहरु केही समयदेखि लाममा बसेको जानकारी गराउँदा उनी भन्छन्,‘केही समय त लागिहाल्छ नि । हामी मतदान गर्ने प्रक्रियाहरू पूरा गराइरहेका छौँ ।’

बिहानको सात बजेर ३० मिनेट गएपछि पनि मतदान सुरु नभएपछि मैतिदेवीका बलराम चित्रकार बम्किए । ‘साढे सात भइसक्यो तर कतिखेर मतदान गर्नुपर्ने हो । थाहा छैन ।’ फेरि उनले थपे,‘चिसोमा कठ्याङग्रिएर वृद्ध वृद्धाहरुले उम्मेदवार जिताउन लाममा छन् । पहिले त उम्मेदवार आएर मतदान गर्नुपर्ने हो तर उनीहरू घाम लागेपछि आउँछन् ।’

मतदानबारे काठमाडौँ क्षेत्र नम्बर–४ का लागि काँग्रेसबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार गगन थापाका दाइ राजु थापाले भने उम्मेदवार भाइसहित साढे आठ बजे मयुर कुण्ड मतदान केन्द्रमा आइपुग्ने जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *