अदालतको अवहेलना गरेको आरोपमा डा. गोविन्द केसी पक्राउ

पुस २४, काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।  अाज डा. केसीलार्इ न्यायालयकाे मानहानी गरेकाे भन्दै पक्राउ गरिएकाे हाे ।  उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए । आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित भएका थिए ।

अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको दाबी गर्दै प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिएका थिए । डा. केसीको अभिब्यक्ति लगत्तै उनका विरुद्ध अदालतमा मानहानीको मुद्दा दर्ज भयो त्यसपछि अदालतले तत्कालै पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएकाे थियाे ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दिएकाे हाे ।अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

प्रहरीले पक्राउ पूर्जी थमाएपछि हस्ताक्षर गर्दै डा. केसीले ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै गएका थिए । डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।

अदालतको अवहेलनामा हुने कारबाहीबारे न्याय प्रशासनसम्बन्धी ऐनमा उल्लेख गरिएको छ। उक्त ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफू मातहतका अदालतको न्याय सम्पादनका कार्यमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ।

यदि केसीले अदालतको अवहेलना गरेको ठहरियो भने उनलाई कैद र जरिवाना दुबै हुन सक्छ। यस्तो व्यवस्था उक्त ऐनको उपदफा ४ मा गरिएको छ। तथापि, केसीले पक्राउपछि अदालतसँग क्षमा माग्न सक्ने छन्। उनले मागेको क्षमाप्रति अदालत सन्तुष्ट भए उनीविरुद्धको कारबाही तामेलीमा राख्न सक्ने ब्यवस्था छ।

उक्त ऐनको दफा १७ उपदफा (५) मा अदालतको अवहेलनामा कारबाही चलाइएको व्यक्तिले मुद्दाको फैसला नहुँदै जुनसुकै अवस्थामा अदालतसमक्ष क्षमा माग्न सक्नेछ। त्यसरी क्षमा मागेको कुरामा अदालत सन्तुष्ट भएमा त्यस्तो मुद्दाको कारबाही तामेलीमा राख्न सक्ने ब्यवस्थामा छ ।

डा. केसीलार्इ सर्वाेच्चकाे अादेशमा पक्राउ गरेपछि सामाजिक सञ्जाल  पुरै तातिएकाे छ । चिकित्सा क्षेत्रकाे सुधारका लागि १४ पटकसम्म अामरण अनसन बस्दै अाएका केसीलार्इ मेडिकल माफियाहरूले न्यायालय नै किनेर फसाएकाे भन्दै सामाजिक सञ्जालमा चर्काे अालाेचना गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *