पूर्वट्रम्प सहयोगी फ्लिनमाथि पुनः अनुसन्धान सुरु, ‘१५ मिलियन डलरको षड्यन्त्र’
अमेरिका, कात्तिक २५ । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी माइकल फ्लिनमाथि पुनः अनुसन्धान थालिएको छ ।
पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनमाथि लाखौं डलर लिएर टर्कीका विपक्षी धर्मगुरुलाई नियन्त्रणमा लिने र उनलाई टर्की फर्काउने षड्यन्त्रमा संलग्न रहेको आरोपबारे अनुसन्धान भइरहेको ‘बीबीसी‘ले जनाको छ ।
राष्ट्रपति निर्वाचन अभियानका बेला उनले टर्कीको स्वार्थमा काम गरेको आरोपसमेत लागेको छ ।
पेन्सल्भेनियामा बस्दै आएका टर्कीका विपक्षी धर्मगुरु फेतुल्लाह गुलेनलाई नियन्त्रणमा लिने र गोप्य रुपमा देशबाट निकाला गर्ने विषयमा फ्लिनले छलफल गरेको भन्ने आरोपमाथि अनुसन्धान भएको हो ।
टर्कीका राष्ट्रपतिले गतवर्ष सत्ता हत्याउन गरिएको असफल प्रयासको मूख्य योजनाकार गुलेन भएको आरोप लगाउँदै आएका छन् । गुलेनलाई टर्की फर्काउन फ्लिनलाई १ करोड ५० लाख डलर प्रस्ताव गरिएको भन्ने आरोपबारे संघीय अनुसन्धानकर्ताले छानबिन गरिरहेका हुन् ।
फ्लिनलाई रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएको थियो । राष्ट्रपतीय निर्वाचनमा रुसको सम्भावित हस्तक्षेप र ट्रम्पको चुनावी अभियानको साठगाँठबारे बृहत छानबीन भइरहेकै बेला उनलाई हटाइएको थियो । एजेन्सी