एमाले अध्यक्ष ओलीबाट झापा–५ मा मनोनयन दर्ता
कार्तिक १६, काँकडभिट्टा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाम गठबन्धनको तर्फबाट आज झापा क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।
सदरमुकाम चन्द्रगढीस्थित जिल्ला हुलाक कार्यालयमा स्थापना गरिएको झापा क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता गराएका हुन् ।
एमाले अध्यक्ष ओली २०४८, २०५१, २०५६ र २०७० सालमा भएको निर्वाचनमा झापाको सोही क्षेत्रबाट संसद् सदस्यमा निर्वाचित भएका थिए । वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा नेता ओलीको मनोनयन पत्रमा लोकबहादुर अधिकारी प्रस्तावक र नेत्रप्रसाद दाहाल समर्थक रहेका छन् ।
नेता ओलीको मनोनयन दर्ताका लागि एमाले र माओवादी केन्द्रका कार्यकर्ताको ठुलो पङ्क्ति निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । अपराह्न २ः२० बजे उनी गृहनगर दमकबाट गाडी चढेर उम्मेदवारी दर्ताका लागि चन्द्रगढी पुगेका थिए ।
मनोनयनपत्र निर्वाचन अधिकृत शकुन्तला कार्कीलाई हस्तान्तरण गरिसकेपछि नेता ओलीले केहीबेर पत्रकारहरुलाई समय दिएका थिए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट मुलुकले बहुमतको स्थिर सरकार पाउने विश्वास व्यक्त गर्दै वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि र जनताको हितका लागि आवश्यकता भएको बताए । सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट डा खगेन्द्र अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नं ५ मा वाम गठबन्धन र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा रहेको छ । रासस