छोरालाई भोट नदिने आमा र ‘हिन्दुवादी’ पार्टीबाट चुनाव जित्ने मुस्लिम

असार २०, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा उम्मेदवारहरु विजयी हुँदै गर्दा रोचक दृष्यहरू देखिए ।सहोदर दाजुभाईको चुनावी भिडन्तमा सन्तुलन मिलाउन आमाले मत नहाल्नेदेखि, एक भोटले जित्दा ‘ठूलो युद्ध’ जितेको जस्तो रोमाञ्चक घटना चुनावी परिदृश्यमा देखिए । राजनीतिक लाभ लिनका लागि जुनसुकै हत्कन्ठा अपनाउने नेताहरुको चरित्र देखिए पनि स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा केही यस्ता दृष्य पनि देखिए जुन हेर्दा र सुन्दा रोचक लाग्थ्यो ।

हिन्दू धर्मको नारा उछालेर राजनीति गरिरहेको राप्रपाकै पार्टीबाट मुस्लिम उम्मेदवारले चुनाव जिते । मतदाताले जात, धर्म, पहिचान जस्ता राजनीतिक लाभहानीका लागि प्रयोग गरिएको अस्त्रलाई निरस्त्र गरिदिए । हिन्दुराज्यको माग सहितको घोषणापत्र लिएर चुनावी मैदानमा उत्रिएको राप्रपाबाट मुस्लिम समुदायका अन्जरा आलमलाई झापाको कचनकवलका जनताले गाउँपालिकाको अध्यक्षमा विजयी गराए । जबकी आलमको विजयीमा हिन्दू राज्यको अस्त्रको कुनै तालमेल देखिदैन ।

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा न. ३ मा अध्यक्षमा सहोदर दाजुभाई युवराज वराल र राम बराल चुनावी भिडन्तमा उत्रिए । दुईजना मध्ये कुनै एकलाई भोट हाल्दा असमान व्यवहार हुने ठानेर उनीहरुकी आमाले भोट नै हालिनन् । चुनावी भिडन्तमा भाई युवराज बरालले दाईलाई पराजित गर्दै काँग्रेसको झण्डा गाडे । ताप्लेजुङकै फक्तालुङ गाउँपालिकामा काँग्रेसका छेतन वालुङ १ भोटले विजयी हुँदा युद्ध जितेको भन्दा कम्ति रोमाञ्चक भएनन् त्यही चुनाव हार्ने एमालेका नामरासि वालुङले १ भोटले पराजित हुँदा निकै पीडा ब्यहोरिरहेका थिए ।

मधेस विरोधी भनेर प्रचार गरिएको एमालेले मधेशी बाहुल्य रहेको कपिलवस्तुको १० वटा स्थानीय तहका विभिन्न स्थानमा वर्चश्व कायम गर्‍यो । मधेस विरोधी पार्टीको रुपमा मधेशवादी दलले एमालेलाई चित्रित गरेपनि मधेशी वाहुल्य विजयीनगर गाउँपालिकामा एमालेको प्यानलले नै सफलत हात पार्यो । रोल्पाको तीनवटा गाउँपालिकामा माओवादीका पूर्व लडाकुले वाजी मारेका छन् । रोल्पाको सुवर्णवती गाउँपालिकामा पूर्व लडाकु गुनेन्द्र घर्ती, थवाङबाट वीरवहादुर घर्ती र सुकिदहबाट वीरवहादुर खत्री विजयी भएका छन् ।

सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्नेहरुको विश्वास केन्द्रदेखि स्थानीय तहसम्मै देखियो । सुनसरीको दुहवी नगरपालिकामा फोरम लोकतान्त्रिकका वेदनारायण गच्छदारले वाजी मारे । दोस्रो चरणको निर्वाचनमा दुई फोरम संघीय समाजवादी र लोकतान्त्रिक फोरमको प्रतिस्पर्धा र केही स्थानमा विजयले उनीहरुको राजनीतिक बिरासतलाई पनि जोगाइदिएको छ । उता, गुल्मी काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले निर्वाचनमा पराजित भएपछि उच्च लोकतान्त्रिक सस्कार देखाउँदै पदबाट राजिनामा दिए भने पार्टीभित्र बढेको चरम अनुशासनहीनता र अराजक शैलीको आलोचना सँगै गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *