तीन महिने चोरीशिकार नियन्त्रण अभियान सञ्चालन हुँदै

चितवन, २६ असार । वर्षाको समयमा दुर्लभ वन्यजन्तुको चोरीशिकार हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र त्यसको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु गरेको छ ।

सरोकारवाला निकायहरुको सहकार्यमा सुरु भएको सो अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । वर्षाको समयमा निकुञ्जमा घाँसका विभिन्न प्रजाति बढेर बाटो छेकिने, पानीले बाटोमा हिलो र खाल्डाखुल्डी हुने, रुख ढलेर बाटो अवरुद्ध हुनेलगायतका कारण मानिसको आवतजावतमा निकै कमी आउने गर्छ । जसका कारण शिकारीहरु सक्रिय हुने गर्छन् ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रका चोरीशिकारका दृष्टिले संवेदनशील क्षेत्रहरुमा रबरको डुङ्गा, गाडी, हात्ती, पैदल, साइकललगायतका माध्यमबाट गस्ती गरिनेछ । वन्यजन्तुको बढी ओहोरदोहोर हुने ठाउँको निगरानी राखी गस्ती बढाइने उनले बताए । अभियानअन्तर्गत ती क्षेत्रका जनतालाई सुसूचित गर्ने, संरक्षण शिक्षा दिइने, अन्तक्र्रिया गर्ने र जङ्गल सर्च गर्नेलगायतका कार्यक्रम गरिनेछ ।

अभियानमा जिल्ला वन, सामुदायिक वन, नेपाली सेना, स्थानीय चोरीशिकार नियन्त्रण युवा जागरण उपसमितिहरु, मध्यवर्ती व्यवस्थापन समिति, वन हेरालु, संरक्षणका साझेदार संस्थालगायतको सहभागिता रहनेछ । जसअन्तर्गत आइतबार भरतपुर महानगरपालिकाको ज्ञानेश्वर, सेतीदेवी र मझुवा सामुदायिक मध्यवर्ती वनबाट अभियान थालिएको हो । ती वन नारायणी नदीको किनारमा रहेका छन् । गैँडा र बाघका लागि यो क्षेत्र उपयुक्त वासस्थान मानिन्छ । अभियान कात्तिक १ गते समापन गरिने जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *