भरतपुर महानगरपालिका-१९ को मुद्धा सुनुवाइ फेरी सर्यौं
“
काठमाडौं,असार २६। भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी मुद्दाको सुनुवाइ साउन २ गतेलार्इ सरेको छ । उक्त मुद्दाको सुनुवाइ सोमबार (आज) का लागि तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा मुद्दाको पेशी तोकिएकोमा न्यायाधीश मिश्रले नभ्याउने भएपछि पेशी सरेको हो ।
यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र सर्वोच्च अदालत पुर्याइसकिएको छ ।
रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो।
मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो । माओवादी कार्यकर्ताले १९ नं वडाको मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो ।
यसअघि सर्वोच्चले उक्त मुद्धा दुई पटक सरि सकेको छ । अहिले फेरि तेस्रो पटकका लागि मुद्धा लम्ब्याइएको छ । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसक्दा मतपत्र च्यातिएको थियो । मत गणना क्रममा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।
“