नेपालमा गाई र साँस्कृतिक राजनीति

विषय प्रवेश
यसै वर्ष धनकुटा जिल्लामा पासाङ तामाङ हिले, शम्भु शेर्पा भोजपुर र प्रेम राई खाँदवारीलाई गाई मारेको अभियोगमा प्रहरीले प्रकाउ गर्याे । जसले त्यहाँ अत्यन्त तनावपुर्ण स्थिति बन्यो । त्यसरी नै ८ वर्ष अधि पचास वर्षीय कृपा भोटेनी खाँदबारी लाई सङ्खुवासभा जिल्ला अदालतले गाई मारेको अभियोगमा १२ वर्ष जेल सजाय सुनायो । त्यसरी नै आज भन्दा ३ वर्ष अगाडी नुवाकोटका टेक तामाङ र राज कुमार तामाङलाई गाई मारेको अभियोगमा प्रहरीले पक्राउ गर्याे ।

यी त प्रतिनिधि पात्रहरू मात्र हुन् । वर्तमान अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्षता राज्य धोषणा गरेता पनि गाई मारेको वा मासु बेचेको अभियोगमा कैयौँलाई कानुनी सजायहरूको भागीदार बनाइएको छ । देशमा गणतन्त्र आएता पनि राज्यसत्ताको विभिन्न क्षेत्रहरूमा रहेका हिन्दु संस्कृतिकरणको प्रभावले यो स्थिति सृजना गरेको हो । राज्यको पुनसंरचनाको सवाल आउँदा राज्यका हरेक अंगहरुको पुनसंरचना हुन पर्दछ यस सवालमा नेपालको राजनीतिमा अत्यन्त प्रभाव पादै आएको गाई अथवा हिन्दु प्रतीक चिन्हको सन्दर्भमा पनि चर्चा हुनु पर्दछ ।

नेपालमा गाई राजनीति ऐतिहासिक रूपमा

राजनीतिमा प्रतीकात्मक कुराको पनि अत्यन्त महत्त्व हुन्छ । अझ पहिचानको राजनीतिमा ती प्रतीकात्मक चिजहरूले सिङ्गो समुदायको पहिचान समेटेको हुन्छ । नेपालमा “गाई” हिन्दुहरूको एक त्यस्तै प्रतीकात्मक चीज हो । ऋग वेदमा चौपाया हत्यालाई अस्वीकार गरेको छैन, गाईलाई अत्यन्त पवित्र र यसको संरक्षण र प्रबर्दनका कुरा गरेको छन् , तर केही विद्वानहरुले हिन्दु वैदिक कालमा गाईको मासु खाने सामान्य कुरा थियो र विशेष बैदिक कार्यक्रमहरूमा गाई, गोरुको बलि दिने चलन थियो भन्ने गरेका छन् (पारुथि, आर.के २००४) । यद्यपि, पछिल्लो समयमा हिन्दुधर्म अन्तर्गत गाईलाई अत्यन्त सम्मान र पवित्र चीज भनेर पुज्ने गरेको पाइन्छ । सोही अनुरूपमा नेपालमा हिन्दु राज्यसत्ताले गाईलाई कानुनी रूपमा संरक्षित गदै राष्ट्रिय जनावार बनाएको हो । जसको लागी नेपालमा लामो हिन्दु संस्कृतिकरणले निक्कै ठुलो भूमिका खेलेको छ ।

विद्वान प्रयागराज शर्माका अनुसार नेपालमा हिन्दुहरूको प्रवेश तीन चरणमा भएको देखिन्छ, पहिलो चरणमा पहिलो शताब्दी तिर त्यसरी नै दोस्रो चरणमा १२ शताब्दीमा नेपालको पश्चिम क्षेत्र र तेस्रो चरणमा १४ शताब्दीमा हिन्दुहरूको नेपालमा प्रवेश भएको पाइन्छ । नेपालको पश्चिम तीरबाट तिनीहरूको प्रवेश र खस समुदायमा भएको प्रभावलाई हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । नेपालमा हिन्दूकरणको अभ्यास लिच्छवीकाल र मल्लकालमा बढी संस्थागत रूपमा भएको पाइन्छ । खास गरी वर्णव्यवस्था र सो अनुसारको कानुन कार्यान्वयन कुराहरू नेपाली इतिहासहरूमा पाइन्छ ।

गौ हत्यालाई कानुनी रूपमा निषेध मूल रूपमा १८ औ शताब्दी देखि पाइला चालेको देखन्छ (गेल्नर, जेरनिका, वेल्पटन, २००४) । १८ औँ शताब्दी अवधि भरि नेपाललाई एक हिन्दु राष्ट्र बनाउने अभियान तीव्र भयो खास गरी दक्षिण भारतमा गाई खाने विदेशीहरूले शासन विस्तार गरेका थिए, उत्तरमा सुँगुर खाने चीनिया र तिब्बतीहरुको विस्तार थियो । यस्तो अवस्थामा हिन्दुत्वलाई जोगाउनु पर्ने हेतुले नेपाललाई असली हिन्दुस्तान बनाउने अभियानमा पृथ्वीनारयाण शाहले जोडदार भूमिका खेले ।

यस्तो अवस्थामा गोर्खा राज्य नै असली गौ रक्षक हो जसले असली हिन्दुस्तानको निर्माण गर्न सक्छ भन्ने अभिप्रायले उनले नेपाललाई असली हिन्दुस्तान बनाउने कुरा उल्लेख गरेको छ । यो एक राजनीतिक निर्णय थियो । यसलाई अझ मिहिन रूपमा बुझ्न  गोर्खा शब्दको नामकरण तर्फ केन्द्रित हुनु पर्दछ, गोर्खा शब्द संस्कृतको गौरक्षाबाट अप्रभंस हुँदै आएको हो भनेर केही विद्वानहरुले भनेका छन् , जसको अर्थ गाईको रक्षा गर्नु हो, जसलाई हिन्दुहरू पृथ्वीमाताको रक्षा सँग जोड्दछन् । गोर्खाको नामकरणमा योगी गोरखनाथ सँगको कथा पनि जोडिन पुग्छ यद्यपि,  शाब्दीक र व्यवहारिक अर्थलाई हेर्दा गौरक्षाबाट नै गोर्खा भएको कुरा नजिक हुन जान्छ (गेल्नर, जेरनिका, वेल्पटन, २००४) ।

विशेष गरी पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार गरे पछि जितेको राज्यहरूमा हिन्दु धर्म र संस्कार अपनाउनु पर्ने उर्दी नै जारी गरेको पाइन्छ । सो कुराको विरुद्धमा विद्रोह गर्दा अमानविय पूर्वक दवाई अन्य जाती र समदायको ग्रन्थ, साहित्य इतिहासहरू नष्ट गरेको आज पनि पढ्न पाइन्छ ।

सम्पूर्ण सरकारी कानुन, नियम, आदेश सम्पूर्ण कुराहरू हिन्दु धार्मिक मूल्य मान्यतामा आधारित थिए, त्यसैको एक पक्षको रूपमा गाईको पवित्रतालाई तत्कालीन हिन्दु राज्यसत्ताबाट प्रचार प्रसार गर्ने काम भयो । तर उक्त कुरा नेपालको वास्तविक सामाजिक सांस्कृतिक विविधता भन्दा विल्कुलै विरुद्ध थिए । रामशाहले (१६०६ –१६३६) मा शाही आदेश मार्फत गौ हत्यालाई बन्देज लगाएका थिए । रामशाहको २६ थितिमा १२ औँ थिति गौचरको विस्तार गर्नु, गाईको रक्षा गर्नु राजाको धर्म हो अन्यथा राजालाई पाप लाग्छ भन्ने कुरा उल्लेख गरेको छ ।

रणबहादुर शाहले आफ्नो कानुनी बन्दोबस्तमा को २२ सवालमा……गौबध गर्याको अम्बालीले जीवै मारिदिनु…..भनेको छ । जसले गौवधलाई अझ कठोर सजायको रूपमा लिएको छ । वि.स. १८६२ माघमा योग्या निधि तथा अन्य केही न्यायधिशहरु सोलुखुम्बु तथा पूर्वी पहाडी क्षेत्रमा गौ हत्यालाई निर्मुल गर्न र तत्कालीन राजाको आदेशमा गए ।

मुख्य रूपमा उक्त क्षेत्रहरूमा आदिवासी जनजातिहरूको बाहुल्यता भएको कारणले स्वाभाविक रूपमा गाई गोरुको मासु खाने चलन थियो । तर उनीहरूले फाल्गुण १८६० देखि यता कसैले गौ हत्या गरिए निजलाई शिर छेदन अथवा कैद सजाय हुने व्यवहोरा जानकारी गराए (रेग्मी रिसर्च रेरिज १) । त्यसरी नै १८६२ मा एक दमाईलाई अत्यन्त निर्दयी पूर्वक मृत्यु दण्ड दिइएको कुरा महेश चन्द्र रेग्मीले (रेग्मी रिसर्च सेरिज १) मा उल्लेख गर्नु भएको छ ।

उक्त घटनामा गाई मारेको अभियोग स्थानीय अधिकारीले भने “यसको ढाडको छाला उतारी मासु निकाल, त्यसमा अमिलो चक र नुन मिसाएर दल, निजलाई निजको मासु खान देऊ, अनि मार” । यस प्रकार दण्डको भयले गौ बधलाई निषेध गर्ने प्रयास गरेको देखिन्छ । लिम्बुहरूले थेवा साम्माङ र पुङ साम्माङ (सिकारी) को पूजा गर्दा गाईको मासु भोग दिने चलन थियो ।

रणबहादुर शाहले लाल मोहर जारी गरी गोबध गर्नेलाई कठोर दण्ड दिने भन्दै प्रतिबन्ध लगाए पछि लिम्बुहरूले थेबा साम्माङ र पिचम्मा साम्माङ गर्दा गाईको बदली राँगो बलिदिन थाले । त्यसको अतिरिक्त लडी मरेका गाईको मासु खानेलाई “म्याग्जीन कर” लगायो । कर तिर्नु पर्ने डरले त्यति बेला नै धेरैले गाईको मासु खान छाडे (तुम्वाहाङ, २०६८)। त्यसरी नै मुलुकी ऐन १९१० मा जंगबहादुर राणाले गोवध गन्र्या …महलमा गाई लाई कसैले जानी जानी हतियार चलायो, ज्यू मरेन भन्या, नमासिन्या जातलाई अ‍ैन बमोजिम उसको अंश सर्वस्व गरी छाडि दिनु मासिन्या जातलाई मासि दिनु ….यसरी यसले प्रस्ट रूपमा ब्राम्हण र अन्य जातमा विभेद गरेको देखिन्छ साथै संस्कृतिकरण कानुनी रूपमा नै गरेको देखिन्छ ।

नेपालमा पहिलो चोटि हिन्दु अधिराज्यको घोषणा २०१९ सालको संविधानले गरेको छ । त्यसरी नै वि.स. २०२० सालमा नयाँ मुलुकी ऐन जारी गरियो, राजा महेन्द्रले जारी गरेको उत्त ऐनमा गौ बधको कुरालाई बडो चलाखी पूर्वक चौपायाको महलमा उल्लेख गरेको छ उत्त ऐनको चौपायाको महलमा जानी जानी गाई मार्नेलाई १२ वर्ष र वचन दिनेलाई ६ वर्ष कैद गर्नु पर्दछ भेर उल्लेख गरेको छ । उक्त ऐनको नवौँ संशोधन र गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले समेत यस प्रावधानलाई परिवर्तन गर्न चाहेन । जसको मूल कारण नै राज्यसत्तामा हिन्दु संस्कृतिको बोलवाला कायम रहोस् भन्ने राज्य सत्तामा पहुँच हुनेहरुको हो । यस प्रकार दण्ड तथा कूटनैतिक प्रयोगले नेपालमा गौ बधलाई निषेश गर्ने र गाईलाई साझा धर्मको प्रतीक चिन्ह बनाउने राजनीतिक कार्य भयो । जो एक राजनीतिक हिन्दु संस्कृतिकरण थियो ।

२०४६ साल पछि

२०४६ सालको जन आन्दोलन पश्चात् देशको राजनीतिक वातावरण केही खुकुलो बनेता पनि देश हिन्दु संस्कार र संस्कृतिको प्रभावबाट एक इन्च तल झर्न चाहेन । एक दलीय पञ्चायति व्यवस्थाको विघटन भएता पनि आदिवासी जनजाति, दलित, मुस्लिमहरू प्रति भई रहेको विभेद हटेन, विभिन्न जाती जनजाति र समुदायहरूको विरोध हुँदा हुँदै पनि नेपालको संविधान २०४७ को प्रस्तावनामा नै नेपाललाई हिन्दु राज्य धोषणा ग¥यो भने गाईलाई राष्ट्रिय जनावरको रूपमा उल्लेख गर्याे । त्यसैले सामाजिक र साँसकृतिक अधिकार विहीनको राजनीतिक अधिकारले मात्र विविधतायुक्त समाजमा न्याय गर्न सक्दैन भन्ने कुरा प्रस्ट पार्याे ।

२०६२/६३ को जन आन्दोलन पछिको अवस्था

२०६२/६३ सालको जनआन्दोलन गणतन्त्र उन्मुख मात्र नभएर आदिवासी जनजाति,दलित, मुस्लिम, महिला र पिछाडि पारिएका क्षेत्रका जनताको सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको लागी गरिएको आन्दोलन थियो । त्यसैले यो आन्दोलन जनताको चेतनाको हिसाबले २०४६ सालको जन आन्दोलन भन्दा प्रगतिशील थियो । सबै भन्दा महत्त्वपूर्ण कुरो नेपाललाई मे १८, २००६ मा पुर्नस्थापित संसद्ले धर्म निरपेक्ष राष्ट्र घोषणा गर्याे । यति हुँदा हुँदै पनि राष्ट्रिय जनावर गाई नै बनार्इयाे । त्यति मात्र नभएर नेपाल कानुन संशोधन गर्ने ऐन २०६६ ले मुलुकी ऐन चौपायाको महलमा भएको गौ बध सम्बन्धी कुरालाई परिवर्तन गर्न चाहेन, बरु हिजो कै ब्राम्हणवादी राज्य सत्ताले कायम गरेका प्रावधानलाई अनुमोदन गर्ने काम गर्याे । यसै कानुन अन्तर्गत कृपा भोटेनीको जेल चलान, धनकुटा, सिराहा, नुवाकोटमा गाई मारेका अभियोगमा आदिवासी जनजातिहरू पक्राउ परिरहकेका छन् ।

दोस्रो संविधान सभाको निर्वाचनमा सुगा र रुगा

संविधान सभाको दोस्रो निर्वाचनका परिणामलाई अर्कै पाटोबाट हेर्दा वास्तवमा वैचारिक मतदान भन्दा पनि सामाजिक र सांस्कृतिक आधारमा मतदान गरिएको जस्तो देखिन्छ । दोस्रो संविधान सभाको निर्वाचनमा अरू दल जे सुकै एजेन्डामा निर्वाचन अभियान सञ्चालन गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दु अधिराज्य र संवैधानिक राजतन्त्रको नाराको साथ निर्वाचनमा होमिए, उनीहरूको चुनाव चिन्ह गाईले पनि उनीहरूको अभियानको  उद्देश्यलाई साथ दियो । त्यसमा हिन्दु अधिराज्य स्थापनाका सवालमा केही ठुला दलका नेताहरूको पनि अप्रत्य समर्थन थियो । परिणाम स्वरूप कसैले नसोचेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल देशको चौंथो शक्तिको रूपमा स्थापित भयो । यो मत हिन्दु धर्मको पक्षमा एकत्रित मत नै हो, नभए पहिलो हुनेले निर्वाचित हुन निर्वाचनमा २५२५७९ मत ल्याई १२ औँ स्थानमा रहेको पार्टी समानुपातिक निर्वाचनमा ६३०६९६ मत ल्याई कसरी चौंथो स्थानमा हुन्थ्यो ?

यसलाई अझ गहिरिएर विश्लेषण गर्न काठमाण्डौं क्षेत्र नं १ को निर्वाचन परिणामलाई मात्र हेरौँ , पहिलो हुने निर्वाचित हुने निर्वाचनमा उत्त क्षेत्रबाट नेपाली काँग्रेसले १५१८८ मत ल्याएका थिए भने एमाओवादीले ४०६४, राप्रपा नेपालले ३७३२ र एमाले ३५०१ ल्याएको थियो तर समानुपातिकमा काँग्रेसले १५८२५, एमालेले ९४२५, राप्रपा नेपालले ९२८८ र एमाओवादीले ६२२८ मत प्राप्त गरेका थिए । यसरी पहिलो हुनेले जित्ने निर्वाचन र समानुपातिकमा निक्कै मतको अन्तर देख्न सकिन्छ ।

यस किसिमको परिणाम देशै भरि आएको देखिन्छ, जुन परिणाम ल्याउन विभिन्न कर्ताहरूको भूमिका थियो । ती कर्ताहरू कांग्रेस, एमाले, माओवादी र आफूलाई नागरिक समाजका वुद्धिजिवी भनाउने नेताहरू नै थिए । खास गरी निर्वाचनमा सुगा (सुर्य र गाई) र रुगा (रुख र गाई) को अभियान सफल भएको देखिन्छ । यसबाट पनि देखिन्छ कि सम्भ्रान्त समुदायले नेतृत्व गरेको दलहरू वैचारिक रूपमा जति नै फरक भए पनि सामाजिक र सांस्कृतिक रूपमा एक हुन्छन् । जसले गर्दा दोस्रो संविधान सभाको निर्वाचनमा पहिचान पक्षधरहरूलाई पाखा लगाउने काम भयो । जसमा पहिचान पक्षधरहरूको फुटले अझ सहज बनायो ।

राजनीतिक सामाजिकरणको परिणाम

नेपालमा हिन्दु धर्मलाई राजनीतिक सामाजिकरणको रूपमा प्रवेश गराएको देखिन्छ, १८ औ शताब्दी देखि हिन्दु धर्मका वैदिक विधि, आचरण र प्रवृतिहरुलाई आदेश, कानुनी र दण्डको भयमा लागु गरेको देखिन्छ । यसलाई अझ जोडको रूपमा पञ्चायतकालमा शैक्षिक पाठयाक्रम, सञ्चार माध्यम र सरकारी संयन्त्रहरूबाट प्रसार गराउने काम भयो । यसको एउटै उद्देश्य अन्य जाती र समुदायहरूमा गाई र हिन्दु धर्म प्रति आस्था जागोस् भन्ने नै हो ।

धर्म संस्कारमा प्रयोग हुँदै आएको गाई गोरुको बलि अन्य जीव जन्तुका साथ गर्नु पर्ने बाध्यता आयो, त्यसरी नै यस सामाजिकणले आदिवासी जनजातिहरूमा सांस्कृतिक परिवर्तन नै गरेको छ, जसमा मौलिक संस्कृति हराउने क्रममा छ । त्यसैले यो एक नेपालमा अन्य समुदायहरू प्रति हिन्दु धर्मले गरेको साँस्कृतिक हस्तक्षेप हो ।

भारतको सम्भावित प्रभाव

वास्तवमा भारतमा भन्दा नेपालको हिन्दुहरूलाई भारतीयहरू असली हिन्दु ठान्दछन् , यसको कारण नेपाल एक मात्र हिन्दु राज्य थियो, यहाँका राजालाई विष्णुका अवतार मान्दथे, जुन देश गाई खाने देशको उपनिवेश बन्न सकेन । यसकारण गाईको रक्षा र विषिष्ठ स्थानको लागी पनि भारतीयहरूको चासो धेरै नै छ । यसै कारणले नेपालमा आएर भारतीय राजनीतिज्ञहरूले नेपाल धर्म निरपेक्षता घोषणा गरिएकोमा दुःख लागेको अभिव्यक्तिहरू दिन्छन् । यहाँका धार्मिक कार्यक्रमहरूमा भारतीय धार्मिक गुरुहरू आएर नेपाललाई हिन्दु राज्य घोषणा गर्नु पर्दछन भन्छन् । पछिल्लो चोटि भारतीय निर्वाचनमा भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार मोदीको जितको चर्चा र हिन्दु अभियानले अझ यस कुरालाई पुष्टि गर्दछ । यस भारतीय निर्वाचनमा मोदीले हिन्दु धर्मवालम्बीहरुको प्रतीक गाई लाई पनि निर्वावनको नारा बनाए । भारतीय जनता पार्टीलेले हिन्दुवादी नारा नै तयार गरे।…..मोदीको मतदान, गाईको जीवन दान, विजेपीका सन्देश बचेगी गाई, बचेगा देश….भारतीय निर्वाचनमा हिन्दुवादी पार्टी भारतीय जनता पार्टीको विजयी र मोदीको हिन्दुवादी नेतृत्वले नेपालीको राजनीतिमा पनि कुनै न कुनै असर गर्दछ नै ।

अन्तमा

नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक मूलक हो । पछिल्लो जनगणना अनुसार नेपालमा १२५ वटा विभिन्न जाती जनजाति र समुदायहरू रहेको छ । नेपालको अन्तरिम संविधान २०६३ ले पनि यो कुरालाई स्विकार गरेको छ । यस प्रकार ती सबै जाती र समुदायहरूको आफ्नै संस्कार र संस्कृति, धर्म , भाषा र जीवनशैलीहरू छन् । आदिवासी जनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्र संधिय घोषणा पत्र र आइ.एल.ओ १६९ ले पनि सबै आदिवासी जनजातिहरूलाई आफ्नो संस्कार र संस्कृतिहरू मनाउन, आफ्नो धार्मिक कर्मकाण्डहरू पुरा गर्न अधिकार दिएको छ ।

कुनै एक समुदायको प्रतीक चिन्ह (गाई) लाई राष्ट्रिय महत्त्व दिँदा स्वाभाविक रूपमा अरूले विभेद गरिएको महसुस गर्छन् । राज्यको पुनसंरचनाको अवसरमा यस किसिमका विभेदहरू पनि हटाउँदा वास्तविक रूपमा समावेशीको महसुस गर्न सकिन्छ । त्यसैले गाईलाई नेपालको राष्ट्रिय जनावरबाट हट्नु र मुलुकी ऐन चौपायाको महललाई खारेज गर्नु नै वर्तमान अवस्थामा हिजोको आन्दोलनहरूको सान्दर्भिकता हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *