प्रहरी आफैं चढ्छन् चोरीका गाडी
“
विष्णु जोशी, कञ्चनपुर । कञ्चनपुर प्रहरीले नक्कली कागजात बनाई चोरीका गाडी नेपालमा किनबेच गर्दै आएको समुहलाई पक्राउ गरेको छ । नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधनहरु चोरी गरी नक्कली कागजात बनाई बिक्री गरेको आरोपमा कैलालीको भजनी त्रिशक्तिनगर –३ का गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका–४ निवासी हिमाल जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले नक्कली कागजात तयार गरेर भारतीय नम्बरका सवारी साधनहरु नेपालमा ल्याईदर्ता गरेर अरुलाई बेचेको तथ्य खुलेको छ । कञ्चनपुर प्रहरीका अनुसार उनीहरुले भारतबाट ८ लाख रुपैयाँसम्ममा चारपांग्रे गाडीहरू मगाउने र नेपालमा १० देखि २५ लाख सम्ममा बिक्री गर्ने गरेको वताईएको छ।
यस्तै वुलेट मोटरसाइकलहरू ७० हजार रुपैयाँ सम्ममा किन्ने र ३ लाख रुपैयाँ सम्ममा बिक्रि गर्ने गरेको अनुसन्धानवाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । ‘विशेष सुराकी र अनुसन्धान पछि यो तथ्यमा पुगेको हो’ डीएसपी दाहालले भने ‘अझै यो विषयमा अनुसन्धान जारी छ ।’
त्यस्ता सवारीका साधन प्रहरी र यातायात कार्यालयकै कर्मचारीहरु समेत किनेर चढ्ने गरेको भेटिएको छ । चोरी भएका सवारी साधनहरु महाकाली तथा सेती अञ्चल यातायात कार्यालयमा दर्ता भएकाले त्यसमा सम्बन्धीत कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने प्रहरीको आशंका छ। उनले अञ्चल यातायात कार्यालयको लेटर प्याड र छापको दुरुपयोग भएको समेत दावि गरे।
धौलागिरीमा गाडी नम्बर र दर्ता नम्बर दोहोरिए पछि अनुसन्धान गर्दा नक्कली कागजात बनाइ चोरीका सवारीका साधन किनबेच गर्ने गरेको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ । प्रहरीले जोशीको साथबाट लेनोभो कम्पनीको ल्यापटप २ वटा, पेन ड्राइभ १ वटा, १ वटा सुनको सिक्री, मोटरसाइकलको ब्लु बुक ९ वटा, कारको ब्लु बुक १ वटा र खाली ब्लुबुक २ वटा बरामद गरेको छ ।
यस्तै, गाभा कम्पनीको मोवाइल १ वटा, चाँदीको ब्रासलेट १ वटा, नगद १ लाख रुपैयाँ, सुस्मिता बमको नामको काठमाडौं बैंकको ११ लाख र ४ लाख रुपैयाँको चेक २ वटा र चक्कु १ वटा बरामद गरेको छ ।”