यसरी काठमाडाैंका कलेजले विद्यार्थीकाे भविष्य पार्दैछन् बरबाद
काठमाडौँ मोडेल कलेज (बाघबजार) मा १२ कक्षामा पढ्ने विद्यार्थी सुनिल खनाल (नाम परिवर्तन) कलेजमा हिड्दै गर्दा कक्षा ११ मा पढ्ने विजय चापागाईसँग ठोक्किन पुग्छन । सुनिलले भाइ राम्ररी हिड भनेर सम्झाउन खोज्छन, तर कक्षा ११ मा पढ्ने भाइले “किन ठोक्किस ?” भनेर जोस्सिन्छन् । त्यहाँ हल्का विवाद हुन्छ र सकिन्छ । याे घटना २०७४ साल कार्तिक महिनाको १६ गते बिहीबार हाे । त्यसको पर्सि पल्ट अर्थात् कार्तिक १८ गते शनिवार पुन परीक्षा हुन्छ । सुनिल पनि परीक्षा दिन कलेज गएका हुन्छन् । त्यति नै बेला उनको फेरी विजय चापागाई सँग देखादेख हुन्छ । विजय चापागाई ११ मा पढ्नेले सुनिल खनाललाई गएर “मलाई किन हेरिस् ?” भनेर सोध्छन । सुनिल खनालले पनि तलाई हेर्न हुँदैन भन्ने जस्ता उत्तर दिन्छन् । उनीहरूले परीक्षा दिएपछी भेट्ने भनी बिदा हुन्छन् ।
परीक्षा दिएर सकिन्छ । विजय चापागाई २ जना साथी लिएर सुनिलसँग भिड्न आउँछन् तर उनका साथीहरू त्यहाँबाट भाग्छन । विजय चापागाई र सुनिल कलेज बाहिर विवाद गर्न जान्छन् । विवादको रूप केही उग्र हुन्छ र सुनिल र विजयको ठेलाठेल हुन्छ । सुनिलले धकेलेर विजय लड्न पुग्छन र विजयको अनुहारमा केही चोट लाग्छ । यो लडाइँ त्यही अन्त्य हुँदैन । त्यसको भोलि पल्ट अर्थात् कार्तिक १९ गते आइतबार विजयले २ जना आफ्ना दाइहरुलाई लिएर कलेज पुग्छन । त्यो दिन सुनिल भने कलेज गएका हुँदैनन् । सुनिललाई कलेज बोलाईन्छ । सुनिलसँग उनका दाइ पनि गएका हुन्छन् । सुनिललाई सोध्दा उनी रिजल्ट लिनको लागि कलेजबाट बोलाइएको भन्ने आशङ्का गरेका रहेछन्, तर कुरा अर्कै थियो । जब सुनिल र उनको दाइ कलेज पुग्छन, तब विजयसँग आएका दुई जना दाइहरुले कलेजका डिन र कलेजका बिहानी समयका संस्थापक (Co-ordinator) सुमन गैरेको अगाडी नै फोहोरी शब्दका साथै कलेज बाहिर निस्कने बित्तिकै मार्ने समेतको धम्की दिइन्छ । कलेजबाट दुवै जनालाई ट्रान्स्फर सर्टिफिकेट दिने निर्णय लिएका सुमन गैरे २ जनाको धम्कीबाट त्रसित भए जसरी सुनिललाई मात्र टि.सी दिने तर विजयलाई चाही नदिने निर्णयमा पुग्छन् ।
सुमन गैरेसँग सुनिल बिन्ती गर्छन् तर सुमनको अडान टि.सी दिने मै अडिन्छ । सुनिल १२ पढ्दै गरेका विद्यार्थी हुन । घटनाको पुरा विवरण हेर्दा सुनिललाई कलेजबाटै निकाल्नु सम्मको कार्वाही हुनुपर्छ जस्तो देखिँदैन तर त्यो भयो । केही सानो गल्ती गर्दा बित्तिकै टि.सी दिने नै के समस्याको समाधान हो त ? कलेजबाटै निकाल्नु कति सम्मको अन्याय हो ? के कलेजहरुले अनुशासन सिकाउन नसक्ने भएरै कलेजबाट टि .सी दिँदै विद्यार्थीलाई निकालिरहेका छन् ? यो अहिले काठमाडौँका प्राइभेट कलेजहरुमा भइरहेको सामान्य तर गम्भीर समस्या हो । के काठमाडौँ मोडेल कलेजले विद्यार्थीको भविष्य माथि खेलवाड त गरिरहेको छैन ? यी र यस्ता प्रश्नहरू यस्तै घटनाले गर्दा उब्जिन थालेका छन् । काठमाडौँ मोडेल कलेज त एउटा उदाहरण मात्र हो यस्ता थुप्रै घटनाहरू विभिन्न कलेजहरुमा भैरहेका छन् । तर त्यसको अनुगमन भइरहेको छैन ।
सुनिलको अबको ६ महिनामा कक्षा १२ को अन्तिम परीक्षा हुनेछ । उनलाई अन्तत काठमाडौँ मोडेल कलेजले ( टि.सी ) दिएर नै पठायो । उनी हातमा ( टि.सी ) बोक्दै के.एम.सी कै नेट्वोर्क कलेज न्यु समिट (मैतिदेवी) गए तर त्यहाँ उनलाई लिन नसकिने भनी फर्काइयो । यस्तै २,३ वटा कलेजहरुमा पनि उनी धाए । उनलाई कसैले लिन मानिरहेको छैनन् । सुनिल खनालको भविष्य माथि प्रश्न चिन्ह खडा भएको छ ।
यसरी काठमाडौँ मोडेल कलेजले सुनिल खनालको भविष्य अन्धकार बनाइदिएको छ । किशोर उमेरका केटाकेटीलाई यसरी अन्योलमा पारिदिएर पछि यस्तै कारणले गर्दा कसैले आत्महत्या गर्यो भने जिम्मेवार को त ? हामीले यही प्रश्न सुमन गैरेसँग सोध्दा “विद्यार्थी ले आत्माहत्या गरून्, नगरुन ” त्यो हाम्रो सरोकारको विषय नभएको बताए । के विद्यार्थीसँग पैसा मात्र असुल्ने मनपरि शासन चलाउने सरोकारको विषय हो त ? काठमाडौँ मोडेल कलेजामा विद्यार्थीको भविष्य चाहिँ सरोकारको विषय होइन ? के काठमाडौँ मोडेल कलेजसँग यसको जवाफ छ त ?
पछिल्लो समय प्राइभेट कलेजहरुमा मनपरी शासन भइरहेको, विद्यार्थीको अधिकार माथि हनन भइरहेको, विद्यार्थीका यी र यस्ता आवाजहरू सुन्ने कोही नभएको र कानुन ले पनि यस्ता घटनाहरू प्रति चासो दिएर अवलोकन नगरेको पाइन्छ । अझ प्राय कलेजहरुमा त मनपरी पैसा असुल्ने गरेका समाचारहरु हामीले नसुनेका हैनौ । के काठमाडौँका प्राइभेट कलेजहरु यसरि नै मन परी गर्दै जाने र सरकार चाही मौन बस्ने हो त ? खै सरोकारवालहरुले आवाज उठाएको ? काठमाडौँमा भइरहेको यो एउटा गम्भीर समस्या हो । यसको न्युनिकरण हुन र सरोकारवालहरुले यसमा चासो दिएर आवश्यक कदम अघि बढाउनु पर्ने देखिन्छ ।