प्रदेशसभा सदस्यहरुको शपथ आज, यसरी गरिदैछ तयारी

काठमाडौं, माघ ७ ।  प्रदेशसभा सदस्यहरुको शपथ आज हुँदै छ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी सदरमुकाममा पद तथा गोपनियताको शपथ हुनेछ ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराउने छन् । सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेकाले निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो ।

आयोगले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनको कार्यक्रम आजदेखि नै शुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने छ । प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्ति लगत्तै शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आजै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । प्रदेशसभा १ को शपथग्रहण कार्यक्रम विराटनगस्थित वीरेन्द्र सभागृहमा आज बिहान १० बजे हुँदै छ । प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यहरुको शपथ जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा हुँदैछ । प्रदेश नम्बर ३ का सांसदहरुको शपथ मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा हुँदैछ ।

प्रदेश नम्बर ४ का सांसदहरुको शपथ पोखरास्थित प्रस्तावित प्रदेश प्रमुख कार्यालय र प्रस्तावित प्रदेश प्रदेशसभा भवन नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा गराउने कार्यक्रम तय भएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुको शपथ बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजे गर्ने तयारी भएको छ ।

प्रदेश नम्बर ६ का प्रदेशसभा सदस्यहरुको शपथ सुर्खेतस्थित जिल्ला समन्वय समितिको हलमा गराउने तयारी भएको छ । प्रदेश नम्बर ७ का प्रदेशसभा सदस्यहरुको शपथ धनगढीस्थित जिल्ला विकास समितिको सभाकक्षमा हुँदैछ । शपथका लागि अधिकांश प्रदेशसभा सदस्यहरु सम्बन्धित प्रदेशको सदरमुकाम पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *