महिला कुटपिट गर्ने पाँच जनाविरुद्ध मुद्धा दायर,प्रहरी निरीक्षकलाई पनि कारबाही

रुपन्देही, साउन ६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी निरीक्षकलाई विभागीय कारबाही पनि भएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार माध्यममा आएपछि रुपन्देही प्रहरीले फास्ट ट्रयाकमा घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।

घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ५ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरिक्षक उदयसिंह सिंजापति उपर पनि विभागीय कारबाही अगाडि बढाइएको धानुकले जानकारी दिए ।

उनका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।

प्रहरी निरिक्षक सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरेको कारण उनी माथि विभागिय कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टीकरण सोधिएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै एक युवती निर्घात कुटिए पछि स्थानीय जनप्रतिनिधि र गाउँलेहरू मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका थिए । यस काममा मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *