एका बिहानै गोली चल्दा राजधानीबासीको निन्द्रा हरायो

कार्तिक ५, काठमाडौँ । अघिल्लो साता निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भएसँगै तरंगित राजधानीमा आज बिहान पनि एक व्यक्ति माथि गोली प्रहार भएको छ । राजधानीकोे म्हैपीमा आज बिहान कल्याण गुरुङ माथि गोली प्रहार भएको हो ।

काठमाडौँ प्रहरी परिसरले दिएको जानकारी अनुसार गोली लागेर कल्याण गुरुङ नाम गरेका युवक घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको छ । उनलाई उपचारका लागि महाराजगञ्ज स्थित शिक्षण अस्पताल लगिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए । उनका अनुसार आज बिहान साढे ३ बजेतिर उक्त गुरुङमाथी अज्ञात समूहले गोली प्रहार गरेको हो ।

म्हैपीस्थित सडकमा स्कुटरमा हिँडिरहेका बेला बाटो छेकेर गुरुङ माथि गोली प्रहार भएको बुझिएको छ । गुरुङ माथि एकाबिहानै गोली प्रहारपछि प्रहरीले शंकास्पद ५ जनालाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले लैनचौरस्थित एक डिस्कोमा भएको झगडाका कारण घटना घटेको हुनसक्ने अनुमान गरेको छ । शनिवार राति लैनचौरस्थित एक डिस्कोमा नाच्न भेला भएका समूहवीच झगडा भएको थियो । सोही झगडाका कारण बिहान साढे ३ बजेतिर गोली चलेको हुनसक्ने प्रहरीको अनुमान छ ।

केही समय यता राजधानी असुरक्षित बन्दै गएपनि प्रहरीको सुरक्षा कमजोर भएको छ । चाडपर्वसँगै राजधानीमा घट्ने यस्ता घटनाको अनुसन्धान गर्न तथा जनताको जिउधनको सुरक्षा गर्न प्रहरी पुरै असफल भएको राजधानी बासीको भनाई छ । ‘घरको आँगनमा राखेको मोटरसाइकल हुन्न, दिउसै कोठाको झ्याल फोडेर चोरी हुनेक्रम बढेको छ, प्रहरीको सुरक्षा व्यवस्था कमजोर भयो ।’ डिल्ली बजारमा अनन्त कंडेलले भने । उनले नेपाल प्रहरीको काम गर्ने तरिका माथि नै प्रश्न चिन्ह उठाए । ‘हामीले चोरी भयो, चोरको हुलिया यस्तो थियो भनेर किटानी जाहेरी दिँदा त प्रहरीले केही गर्दैन । जनतासँग प्रहरी घुलमिल हुनै चाहँदैन ।’ उनले भने ।

यता नेपाल प्रहरी भने, विगतका वर्षहरूमा भन्दा यसवर्ष राजधानीमा चोरी, डकैति, लुटपाटका घटना कम भएको दाबी गर्दछ । विगतमा राजधानीमा हुने ठुला डकैति, चोरी, अपहरण जस्ता केसहरु कमै भएको प्रहरीको दाबी छ । तर, प्रहरीले भनेजस्तो राजधानी शान्त भने छैन । यसको पुष्टि निर्माण व्यवसायी गौचनको हत्या र आज एकाबिहानै भएको गोली प्रहारका घटनाले पुष्टि गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *