ज्योति मगर रिसाइन्–‘…..हुन्नथ्यो भने लाखौंले मेरो भिडियो हेर्नुहुन्नथ्यो’
“
काठमाडौं,साउन ७ – हिन्दू महिलाहरुको पर्व हरितालिका तीजको रमझम शुरु भइसकेको छ । तीज नजिकिएसँगै कलाकारको व्यस्तता पनि बढेको छ । तीजलाई केन्द्र बनाएर हुने विभिन्न कार्यक्रमले कलाकार पनि व्यस्त हुने गर्छन् । पछिल्ला बर्षमा तीजकोे समयमा व्यस्त हुने कलाकार मध्ये ज्योति मगर पनि हुन् ।
गतवर्षको तीजमा ‘ढाडे बिरालो’ बोलको तीज गीत गाएर चर्चा साथै विवादमा समेत तानिएकी ज्योति मगर यसपटक पनि त्यस्तै गीत लिएर आएकी छिन् । तीजका गीतमा विकृति भित्राएको भनेर ज्योतिमाथि आरोप लाग्दै आएको छ ।
ज्योति मगरलाई आम दर्शकले अश्लील गीत गाएको आरोप लगाउने गरेपनि उनी भने आफ्ना कुनै पनि गीतमा अश्लीलता नभएको बताउँछिन् । ‘मेरा कुनै गीत पनि अश्लील छैनन् । मान्छेको दृष्टिकोण नै त्यस्तै छ,’ ज्योति समाजले आफ्ना गीतलाई अश्लीलताको आरोप लगाएको बताउँदै थप्छिन्, ‘मान्छेलाई त्यस्तै गीत चाहिएको छ तर उहाँहरु गीत सुनेर आनन्द लिने तर, नगाइदिए हुन्थ्यो भन्नुहुन्छ ।’
मान्छेले अश्लील के हो भन्ने कुरालाई छुट्याउनै नसकेको उनी बताउँछिन् । न त उनले दर्शकले लगाउने आरोपलाई ख्याल गर्दै फरक खालका गीत बजारमा नै ल्याउँछिन् । यसपटकको तीजमा पनि ज्योतिका सात वटा गीत रिलिज हुँदैछन् । ती मध्ये धेरै गीतमा उनले आफ्ना उत्तेजक प्रस्तुति नै दिएकी छिन् । ‘मेरा लागि दर्शकले गर्ने गाली सामान्य कुरा नै हुन् ।’ दर्शकले सामाजिक सञ्जालमार्फत गर्ने गालीको समेत खण्डन गर्दै उनी थप्छिन्, ‘गाली गर्ने उहाँहरुले नै हो, जसले मेरा गीत कहिले आउँछन् भन्दै कुरेर बस्नुहुन्छ ।’
दर्शकले गाली गरेपनि आफ्ना लागि फाइदाजनक भएको ज्योतिको तर्क छ । ‘महोत्सवमा मलाई हेर्नका लागि दर्शकको झन् भीड हुने गर्छ, मैले कसरी दर्शकले रुचाउनुभएको छैन भन्ने बुझौं?’, उनी प्रतिप्रश्न गर्छिन् ।
तीजको गीतमा पनि आफूले विकृति नभित्र्याएको ज्योति जिकिर गर्छिन् । तीजका गीत पहिले महिलाले मात्र गाउने गरेपनि आजभोलि भने पुरुषले पनि तीजका गीत गाउने गरेकोप्रति इंगित गर्दै ज्योतिले आफूले मात्र तीज गीतमा विकृति ल्याएको भन्नु मूर्खता भएको बताउँछिन् । ‘हाम्रा बुबासरहका प्रजापति पराजुलीले तीजका गीत गाउँदै हिँड्न थाल्नुभयो, अरुले पनि काली, दुईटी, तरुनी जस्ता गीत ल्याउन थाले ।’ उनी थप्छिन्, ‘दर्शकले मलाई किन गीत बिगारी भन्नुहुन्छ भन्ने बुझ्दिन ।’
तीज चाड ज्योति मगरका लागि पनि महत्वको चाड लाग्छ । उनले यो चाडलाई नारीको उत्सवका रुपमा मनाउँछिन् । तर, उनको व्रत बस्ने चलन भने छैन । ‘कहिलेकाहीं मुड हुँदा व्रत बस्छु ।’ उनी भन्छिन्, ‘तीजमा व्रत बस्ने हैन, रक्सी खाएर झ्याप हुने हो ।’
‘पुरुषले तिहारमा खाँदै हिँड्न हुने, हामीले तीजमा दर खाँदा रक्सी खान पनि नहुने?’ उनको तर्क छ ।
विवादमै आएर सधै चर्चामा रहने ज्योति मगर आफू भने विवादमा आएको पनि स्वीकार गर्दिनन् । समाजमा माथि जान खोज्नेको खुट्टा तान्न खोज्ने चलन हाबी भएकाले दर्शकले आफ्नो कुरा काटेको उनी बताउँछिन् । ‘संसारमा सबैभन्दा धेरै मजा जे मा आउँछ त्यसलाई अश्लील भन्ने?’ ज्योति भन्छिन्, ‘हामीलाई त अरुलाई गाली नगरी चित्त नबुझ्ने बानी परिसक्यो, त्यसैले दर्शकले आफ्नो चित्त बुझाउन गाली गर्नुभएको हो ।’
‘हाम्रोमा राम्रो कुरालाई पनि राम्रो भन्ने चलन छैन । यदि दर्शकले मलाई मन पराउनु हुन्नथ्यो भने लाखौं दर्शक मेरो भिडियो हेर्न आउनुहुन्नथ्यो होला ।’, ज्योति भन्छिन् ।
लोकान्तरबाट
“