वैदेशिक रोजगार विभागका केही कर्मचारी छानविनको दायरामा
“
काठमाडौँ,असार १९ । वैदेशिक रोजगार विभागमा कर्मचारी र म्यानपावर व्यवसायीको मिलेमतोका कारण हुने अवैधानिक धन्दा अझै रोकिएको छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कर्मचारीबाटै सुधार सुरु गर्न आवश्यक रहेको भन्दै केहि कर्मचारी परिवर्तन गरेपनि अवैध धन्दा भने कायम छ ।
बितेका केहि महिनामा एक पछि अर्को गर्दै वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक विश्वराज पाण्डे सहितका आधादर्जन कर्मचारी अख्तियार दूरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो ।
विभाग कर्मचारीकै कारण बदनाम हुन थालेपछि श्रम मन्त्रालयले कर्मचारी हेरफेर गरिरहेको छ । तर कर्मचारीको कू कर्म भने रोकिएको छैन ।
गत हप्ता श्रम स्वीकृति भन्दा फरक कामका लागि भिसा आएपनि स्वीकृति दिएको फेला परेको छ । वैभव म्यानपावर कम्पनीबाट कुवेत जान लागेका ५ जना महिलालाई कागजात नमिलि श्रम स्वीकृति दिएको पाइएपछि वैदेशिक रोजगार विभागले यस्तो कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
पहिले संलग्न कर्मचारीमाथी अनुसन्धान गर्ने र कारबाही गर्ने निर्णय भएको विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा र श्रम स्वीकृति फरक परेपछि उनीहरुलाई विमानस्थलबाट फर्काइएको थियो । म्यानपावर कम्पनीलाई पनि अबदेखि यस्तो अवैध कार्य नगर्न सचेत गराइएको विभागले जनाएको छ ।
पूर्व स्वीकृति क्लिनरको कामको लागि आएको भएपनि भिसा भने उच्च दक्ष कामदारको लागि थियो । यस्तो भेटिएपछि उनीहरु विमानस्थलबाट फर्काइएका हुन् । क्लिनरको काममा अदक्ष कामदार जाने गरेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले श्रोतले भन्यो, ‘विभागमा पल्केका कर्मचारीहरु छन्, उनीहरुलाई फेर्ने कुरा भैरहेको छ, एकै पटक सबै कर्मचारी सरुवा गर्दा काममा असर पर्छ भनेर एक एक गरि तान्दै छौं ।’
उनका अनुसार श्रम तथा रोजगार मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको र कर्मचारी फेर्ने पक्षमा श्रममन्त्री विष्ट नै रहेका छन् ।
“