बाढी पीडितका लागि धुर्मुस सुन्तलीको एकीकृत बस्ती
भदाै १९, काठमाडाै । महोत्तरीमा मुसहरहरुका लागि बस्ती बनाए लगत्तै नमुना नेपाल बनाउने घोषणा गरेका हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौंथो एकीकृत बस्ती बनाउने घोषणा गरेका छन् ।उनीहरूले तराईमा हालै आएको बाढीबाट प्रभावितहरुका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेका हुन् ।
‘उहाँहरू अझै पनि पालमुनी बसिरहनु भएको छ,’ धुर्मुसले भने, ‘हामी डुबानमा नपर्ने बस्ती बसाल्न चाहन्छौँ । कहाँ बनाउने टुंगो लागिसकेको छैन । आजदेखि अनुसन्धान थालेका छौँ । नमुना नेपाल अनुसन्धानकै चरणमा छ । त्यो बनाउन धेरै समय लाग्छ । तर, काम रोकिँदैन । दुवै सँगै चल्छ ।’
धुर्मुस–सुन्तलीले ठाउँ टुंगो लाग्नेबित्तिकै एकीकृत बस्तीको काम सुरु भइहाल्ने भएकाले सहयोगका लागि अनुरोध गरेका छन् । अविरल वर्षासँगै डुबानमा परेका तराईका जिल्लाहरूमा करिब दुई हप्ता राहत वितरण तथा उद्धार कार्यमा बिताएका धुर्मुसले नमुना नेपालसँगै एकीकृत बस्ती बनाउने बताएका हुन् ।