बिरामी श्रीमती अस्पतालमा छाडेर बेपत्ता, मृत्यु हुदाँ शव बेवारिसे

रिता लम्साल , काठमाडौं । मुलुककै जेठो वीर अस्पतालको आकस्मिक कक्षको पश्चिम पट्टिको एउटा शैयामा ७४ वर्षीय भाइचा श्रेष्ठ खाना खाँदै थिए । काठमाडौंको बुढानिलकण्ठ चपलिमा भेटिएका श्रेष्ठलाई प्रहरीले एकसाता अघि अस्पतालमा ल्याएर छाडिदिएका थिए । प्रहरीले अस्पतालमा ल्याएर उपचारका लागि छाडिदिएपछि वीर अस्पतालको सामाजिक इकाइ मार्फत उनको उपचार भइरहेको छ ।

सामाजिक इकाइका कर्मचारी दुर्गा प्रसाद अर्यालका अनुसार नारायणथानको चपलीमा अशक्त अवस्थामा भेटिएका उनलाई प्रहरीले वीर अस्पतालमा ल्याएर छाडेको थियो । प्रहरीले अस्पताल ल्याउदा बोल्न पनि नसक्ने अवस्थामा रहेका श्रेष्ठ अहिले बोल्न सक्ने भएका छन् । ‘स्वास्थ्यमा खासै समस्या छैन, खान नपाउदा कमजोर भएका रैछन्’ अर्यालले भने ।

अस्पतालको शैयामा रहेका ती वृद्धको हेरचाह अर्यालले नै गर्दै आएका छन् । भने, उनको उपचार खानाको व्यवस्था अस्पतालले निः शुल्क गर्दै आएको छ । विस्तारै निको हुँदै आएपनि बिरामी बृद्धले आफ्नो कोही नभएको बताएपछि एक साता देखि उनी अस्पतालको शैयामा छन् ।

‘खुट्टा दुखेर चौरमा बसिरहेको थिए, पुलिसले औषधि गर्दिन्छन् भनेर यहाँ ल्याएर छोड्दियो’ अस्पतालको शैयामा बसेर खाना खादै गरेका ती वृद्धले भने, ‘मेरो कोही पनि छैन, घर पनि छैन ।’ आइतवार ती वृद्ध रहेकै शैया नजिकै अर्की एक महिलाको शव कपडाले बेरेर राखिएको थियो । मृत्यु हुनु अघि शुक्रबार बेलुका ती महिलाले आफूलाई श्रीमानले अस्पताल ल्याएको बताएकी थिइन् । शनिवार बेलुका ती महिलाको मृत्यु भयो । आइतबार अवेरसम्म पनि उनका श्रीमान अस्पतालको सम्पर्कमा नआएको अर्यालले बताए ।

आफन्त नआएपछि अस्पतालले इमर्जेन्सी विभागको एउटा कुनामा कपडाले वेरेर शव राखिदिएको छ । श्रेष्ठ र मृत अवस्थामा रहेकी महिला जस्तै वीर अस्पतालमा धेरै बेवारिसे बिरामीहरु आउने गरेको अस्पताल प्रसाशन बताउँछ । स्वास्थ्य मन्त्रालयले स्थापना गरेको सामाजिक इकाइ मार्फत त्यस्ता वेबारिसे विरामीहरुको उपचार हुँदै आएको छ ।

अर्यालले चार वर्ष अघिदेखि त्यस्ता वेबारीसे विरामीहरुको सेवा गर्दै आइरहेका छन् । उनी विरामीको अवस्था अनुसार हेरचाह गर्ने, कपडा फेरिदिने लगायत विरामीको अवस्था हेरेर डाक्टर बोलाइदिने र चाहिने औषधी ल्याइदिने काम गरिरहेका छन् । बेवारिसे विरामीहरुमा धेरै जस्तो विरामीहरु एच. आइ. भी एड्स, हेपटाइटिस, जन्डिस लगायत जोखिम खालका रोग देखिने गरेको अर्यालले बताए ।

फोटो : फाइल

आफन्तले नै ल्याएर छाडछन्

वीर अस्पतालको इमर्जेन्सी विभागमा दैनिक २ देखि ४ जनासम्म वेबारिसे अवस्थामा भेटिएका विरामी प्रहरीले ल्याउने गरेको वीर अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. केदार प्रसाद सेञ्चुरीले जानकारी दिए ।

‘यस्ता विरामीहरु धेरैजसो सडकमा वेबारिसे अवस्थामा भेटेर प्रहरीहरुले ल्याउँछन् । कतिपय विरामीहरुलाई आफन्तले नै ल्याएर छोडेर वेपत्ता हुन्छन् । उनीहरुको अवस्था दयानीय हुन्छ’ डा सेञ्चुरीले भने । गत आर्थिक वर्षमा मात्रै २ सयको संख्यामा वेबारिसे विरामी अस्पतालमा आएको सामाजिक इकाइको तथ्याङ्क छ । वेबारिसे विरामीहरुको उपचार निशुल्क गर्नुपर्ने र हेरचाह समेत अस्पतालले गर्नुपर्दा काठमाडौंका अन्य अस्पतालले त्यस्ता विरामीहरुको स्वास्थ्य परिक्षण गर्न नै नचाहने समेत डा सेञ्चुरीले बताए ।

‘त्यस्ता विरामीलाई नर्सिङ स्टाफहरुले भर्ना लिन नै मान्दैनन् । काठमाडौंका अन्य अस्पतालले समेत यहि ल्याएर छोड्दिन्छन्’ उनले भने । वेबारिसे विरामीहरु धेरै जस्तो गरिव, घर परिवार कोहि पनि नभएका, सडकमा लडिरहेका, वेहोस अवस्थामा भेटिएकाहरुलाई प्रहरीले ल्याउने हुदा उनीहरको हेरचाह गर्न कठिन हुने अस्पताल प्रशासन बताउँछ ।

अस्पतालमा अन्य बिरामीकै चाप हुने हुँदा वेबारिसे विरामीहरुको हेरचाह गर्न कठिनाइ भएको अस्पताल प्रसाशन बताउँछ । यसरी अस्पतालमा ल्याईएका वेबारिसे विरामीको मृत्यु भएमा प्रहरीलाई नै व्यवस्थापनको जिम्मा लगाईने गरेको डा. सेन्चुरीले बताए ।

‘बेवारिसे विरामीको मृत्यु भएमा महानगरमा खबर गरिन्छ, मृतकको थप अनुसन्धान गर्नुपर्ने भएमा टिचिङमा पठाइन्छ । नत्र महानगरले जिम्मा लिन्छ र दाहसंस्कार गर्छ ।’

स्रोत : लोकान्तर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *