प्रधानमन्त्री देउवाले ‘भारत भ्रमणमा आन्तरिक विषयमा बोल्नु गलत’
भक्तपुर, भदौ १२ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत भ्रमणकाक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आन्तरिक विषयमा बोलेर गलत गरेको टिप्पणी गरेका छन् ।
भक्तपुर नगरपालिकाले सोमबार आयोजना गरेको जनप्रतिनिधिका ‘१०० दिनको प्रगति सार्वजनिक’ कार्यक्रममा उनले ‘भारतमा गएर नेपालको संविधान संशोधन गराउँछु भनेर बोल्नै हुन्थेन’–भने ।
‘भारतमा पार्टी सभापतिको हैसियतमा बोल्न पाइन्छ । तर, देशको प्रधानमन्त्री भारतमा जाँदा देशको आन्तरिक विषयमा देशलाई असर पर्ने गरी बोल्नुहुँदैन’–सांसद बिजुक्छेले भने–‘संविधानसभाले संविधान बनायो, संसदले संशोधन फेल गरायो । तर, प्रधानमन्त्रीले भारतमा गएर नेपालको संविधान जसरी पनि संशोधन गर्छु भन्नु नेपालको संसदकै अपमान हुनु हो ।’
२५ शय्याको ख्वप अस्पताल सन्चालन तयारी
नगरपालिकाको १०० दिनको कार्यक्रममा प्रत्येक महिनाको १ र १५ गते नगरभित्रका सम्पदा र सांस्कृतिक क्षेत्रको बृहत् सरसफाइ अभियान सुरु गरिएको, घरघरमा फोहर राख्ने भाँडो वितरण गरिएको, कला–संस्कृतिको संरक्षणमा बजेट विनियोजन गरिएको, पुनःनिर्माण गर्नुपर्ने सम्पदाको लगत लिने काम भएको र गाईजात्रामा भएको प्रतियोगितामा विजयीलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी, २५ शय्याको ख्वप अस्पताल सन्चालनको तयारी गरिएको, घरघरमा नर्सिङ सेवा पुर्याउन आजैदेखि स्टाफ नर्स र स्वास्थ्य स्वयंसेविका घरघरमा परिचालन गरिएको, नगरपालिकाद्वारा सन्चालित कलेज र विद्यालयमार्फत् एक घर एक स्नातक अभियान पूरा गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा नगरपालिका उपप्रमुख रजनी जोशीले नगरलाई सम्मृद्ध बनाउन अभियान सुरु गरिएको बताइन् ।
स्थानीय विकास अधिकारी द्रोण पोखरेल, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठलगायतले भक्तपुरको विकासमा सबैको सहयोग आवश्यक रहेको औंल्याए ।
त्यस अवसरमा वडा नम्बर–३, ४ र ६ का वडाध्यक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिनुका साथै गाईजात्रामा उत्कृष्ट हुने विभिन्न नाचलाई पुरस्कार प्रदान गरिएको थियो ।