मन्त्रिमण्डल बिस्तारको तयारी, माओवादीले मन्त्रीको सूची आजै पठाउने
काठमाडौं फागुन । एमाले र माओवादीबीच पार्टी एकताको सहमती पछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।
पार्टी एकताको टुंगो नलागेको भन्दै यसअघि माओवादी सरकारमा सहभागि भएको थिएन । यसअघि प्याकेजमा सहमति गरेपछिमात्र सरकारमा सहभागि हुने माओवादीले अडान लिएको थियो । फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै ओलीले एमालेका तर्फबाट लालाबाबु पण्डिल र थममाया थापालाई शपथ गराइ तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
पार्टी एकताको लिखित सम्झौता भएपनि कानूनी रुपमा अहिलेसम्म माओवादीको वेग्लै अस्थित्व रहेका कारण उसले सिफारिश गरेपछि मात्र प्रधामनन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भएका वार्तामा मन्त्रीको भागवण्डामा कुरो मिलिसकेको माओवादी स्रोतको भनाइ छ । माओवादीले गृह सहितका मन्त्रालय लिने सहमति भएको स्रोतको भनाइ छ ।
माओवादीको तर्फबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने टुंगो लागिसकेको छैन् । बर्षमान पुन, शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, मात्रिका यादव, अमनलाल मोदी लगायतका नेता मन्त्री बन्ने चर्चा छ ।
एमालेमा पनि मन्त्रीका आकाक्षी धेरै देखिएका छन् । महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराईको मन्त्री बन्ने चर्चा छ । रवीन्द्र अधिकारी, शेरबहादुर तामाङ, किशान श्रेष्ठ, कृष्णभक्त पोखरेल, नारदमुनी राना, पद्मा अर्यालको नामपनि मन्त्रीको चर्चामा छ ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच सोमवार राती पार्टी एकता सम्बन्धी ७ बुँदे सहमति भएको थियो ।
आजै सूची पठाउँछौ : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै मन्त्रीहरुको सूची प्रधानमन्त्री ओलीलाई बुझाउने बताए ।
प्रेस चौतारी र प्रेस सेन्टरले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मंगलबार बेलुकासम्म मन्त्रीको टुंगो लगाउने बताए । ‘माओवादी केन्द्रबाट मन्त्री हुनेहरुको नाम आजै प्रधानमन्त्री ओली समक्ष पठाउँछौ’ उनले भने, भूगोल र समावेसी सबै मिलाउनु पर्दा त्यसमा अलि ढिलाई भएको हो ।’
एक अर्को प्रशंगमा उनले पार्टीमा दुईजना अध्यक्ष रहने बताए । ‘अन्तर्रा्ष्ट्रिय स्तरमा पनि एउटै पार्टीमा दुई जना अध्यक्ष रहने व्यवस्था छ’ उनले भने, ‘व्यवहारिक र सैद्धान्तिक रुपमा ओलीजी र म दुबै जना अध्यक्ष हुने सहमति भएको छ ।’
अध्यक्ष दाहालले आउँदो महाधिवेशनसम्म ओली प्रधानमन्त्री रहने पनि जानकारी दिए ।