भारतीय वायुसेनाका ग्रुप क्याप्टेन सैन्य हिरासतमा, महिलालाई गोप्य जानकारी दिएको आशंका
नयाँ दिल्ली, माघ १८ । भारतीय वायुसेनाका एक उच्च अधिकारीलाई सैन्य हिरासतमा लिइएको छ । ग्रुप क्याप्टेन पदमा रहेका ती अधिकारीलाई समवेदनशील दस्तावेज हासिल गर्ने प्रयास गरेको आरोपमा हिरासतमा लिइएको हो ।
अधिकारीहरुका अनुसार एक महिलासँग फेसबुकमार्फत निकट सम्बन्ध बनाएका उनले अनधिकृत रुपमा इलेक्ट्रोनिक उपकरणका माध्यमबाट ‘अवाञ्छित गतिविधि’ गरेका थिए ।
जबकि कार्यालयमा ती उपकरण प्रतिबन्धित थिए । ती महिलालाई उनले केही गोप्य दस्तावेज पठाएको बताइएको छ । ती महिला को हुन् र वायुसेना अधिकारीसँग कुन प्रयोजनका लागि उनले त्यस्ता दस्तावेज मागिन् भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरु बताउँछन् ।
भारतीय वायुसेनाको केन्द्रीय सुरक्षा र जाँचको एउटा टिमले उनलाई नियन्त्रणमा लिएको हो । हिरासतमा लिइएका ती अधिकारीको परिचय भने खुलाइएको छैन । उनीसँग सोधपुछ भइरहेको बताइएको छ । (एजेन्सी)