काँग्रेस नेता लामाको उद्योगमा आगजनी गरेको मुद्दामा मुछिए प्रकाण्ड
“
काठमाडौँ, भदौ ३ । अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ परेका नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्डं) लाई आगजनी गर्ने समूहको मुद्दामा मुछिएका छन् ।
आगजनी मुद्दामा पक्राउ परेका नेकपाका पोलिटब्युरो सदस्य कृष्ण धमला (गम्भीर) र मोहन कार्की (जीवन्त) समेतलाई प्रतिवादी बनाएर संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले प्रकाण्डलाई पनि सोही मुद्दामा मुछेको हो। आइतबार नै उनलाई अदालतमा उपस्थित गराउने तयारी छ ।
पूर्व मन्त्री समेत रहेका प्रकाण्डकै नेतृत्वमा आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको हो ।
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पुनः पक्राउ गरी केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनाको अभियुक्त बनाएको थियो ।
सर्वोच्चको आदेशपछि अदालतबाट बाहिरिँदै गर्दा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेर शुक्रबार राती काभ्रे प्रहरीलाई बुझाएको थियो ।
अहिले प्रकाण्ड कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गर्ने समूहको मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको हो ।
पक्राउ परेका तीनजनालाई संगठित अपराधमा म्याद लिएर अनुसन्धान हुने प्रहरीले जनाएको छ । यसअघि नै पक्राउ परेका धमला र कार्की बिरुद्ध अनुसन्धान भइरहेको छ ।
लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत १ बैशाखमा बिप्लब समूहका कार्यकर्ताले आगजनी गरेका थिए। आगजनीमा २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको थियो । आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ
“