कोरिया जानेको स्वास्थ्य परिक्षण आजदेखि शुरु

काठमाडौँ, भदौ ४ । कोरियन भाषा परिक्षा उत्तीर्ण गरेकाहरुको आजदेखि स्वास्थ्य परिक्षण हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१९ मा दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परिक्षण काठमाडौँ उपत्यकाका चारवटा अस्पतालबाट गर्ने व्यवस्था गरिएको छ ।

सन् २०१९ मा ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि उत्तीर्ण भएका सात हजार ९९६ जनाको पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको इपीएस शाखाले जनाएको छ ।

यी अस्पतालबाट प्रत्येक दिन एक हजारको दरले स्वास्थ्य परीक्षण गरिसक्ने गरी सम्झौता भएको शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षणमा पास भएका र प्रहरी प्रतिवेदन आएकाले भदौ ८ गतेबाट रोजगार आवेदन फाराम भर्न पाउनेछन् । स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन आउन चार दिन लाग्ने भएकाले ४ गते स्वास्थ्य परीक्षण गरेको व्यक्तिको भदौ ८ गते रोजगार आवेदन फाराम भर्ने व्यवस्था गरिएको छ ।

रोजगार आवेदनका लागि आवेदकले पाँच डलर वा ५५० रुपियाँ ईपीएसको शाखाको खाता भएको बैङ्क एनआईसी एसिया बैङ्कको खातामा जम्मा गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *