फुटबल टिमका प्रशिक्षक कोजी नेपाल नफर्कने, नयाँ प्रशिक्षक नियुक्ति गर्ने एन्फाको तयारी
“
काठमाडौँ, भदौ ४ । १८ औँ एसियन गेम्सका लागि हाल इन्डोनेसियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योतुको कोजी तत्कालका लागि नेपाल नफर्कने भएका छन्।
नेपाली यू–२३ टिमसँगै इन्डोनेसिया गएका प्रशिक्षक कोजी नेपाली टोलीसँग नफर्कने भएका हुन् ।
एसियन गेम्समा जानुअघि नै कोजी नेपाल बसाई अवधी सकिएको र श्रम स्वीकृति नलिई ओभरस्टे देखिएका कारण अध्यागमन विभागले कोजीलाई नेपाल बस्न रोक लगाएको थियो।
जापानी मुलका प्रशिक्षक कोजी सन् २०१६ मार्चमा नेपाल आएका थिए। उनको प्रशिक्षणमा नेपालले एएफसी सोलिडारी कप जितेको थियो। तर एसिया कप क्वालिफायरमा भने नेपालले सन्तोषजनक प्रदर्शन गर्न सकेन।
प्रशिक्षक योतुको कोजी नेपाल नफर्कने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक नियुक्तिको लागि गृहकार्य सुरु गरेको छ ।
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लागाएपछि एन्फाले नयाँ प्रशिक्षक चयनको लागि गृहकार्य सुरु गरेको हो ।
प्रशिक्षक कोजी नेपाली टोलीसंग एसियन गेम्सको लागि हाल इन्डोनेसियामा रहेका छन् । एसियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । एसियन गेम्सको खराब प्रदर्शनसंगै प्रशिक्षक कोजीलाई राजीनाको लागि दबाब समेत बढेको छ ।
अब प्रशिक्षक कोजी त्यहीबाट जापान जानेछन् । प्रशिक्षक कोजीको करार अवधि आगामी नोभेम्वरसम्म रहेको छ । त्यसअघि नेपालले यसै महिना बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्दैछ । यसअघि एन्फाले बंगलादेशमा हुने साफ च्याम्पियनसिपसम्मको लागि कोजीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक लागेपछि साफमा नेपाली टोलीको नेतृत्व कसलाई दिने भन्नेबारे एन्फाले केहि निर्णय गर्न सकेको छैन ।
“