शाहीकाल भन्दा कठिन कम्युनिष्ट सरकार !
“
काठमाडौँ, भदौ १० । कुनैदिन सँगै एउटै मुद्दाका लागि माओवादीका नाममा लडेका कम्युनिस्टहरु आज कोही सत्तामा र कोही भूमिगत छन् । यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका लागि सबैभन्दा ठूलो सत्रु तिनै भए, जो हिजो सँगै लडेका थिए ।
यसअघिका सरकारले समेत आँट नगरेका उसका कार्यकर्तालाई अहिलेको सरकारले भटाभट पक्रिन थालेको छ । झण्डै एक महिनादेखि पार्टीका महासचिव खड्गबहादुर विश्वकर्मा हिरासतमा छन् । उनलाई एक पछि अर्को ठाउँमा सार्दै प्रहरीले उम्कीन दिएको छैन । कहिले काठमाडौँ, कहिले काभ्रे अनि अहिले नुवाकोटमा पुर्याइएको छ ।
महासचिव पक्राउपछि रुष्ट भएको विप्लव नेतृत्वको माओवादीलाई सरकारले भने वार्ताका लागि बोलाउने तयारी गरिरहेको छ । वार्ताका लागि पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता समिति बनाइएको छ । समितिले औपचारिक रुपमा काम भने थालिसकेको छैन ।
यो खबर विप्लवको पार्टीले पनि थाहा पाइसकेको छ सञ्चार माध्यम मार्फत नै । उसलाई औपचारिक जानकारी भने पुगिसकेको छैन । तर वार्ताका लागि बोलाउने तयारी गरिरहेको भनेको सरकारले नै उसका एक कार्यकर्तालाई चितवनबाट पक्रेको छ ।
यसले विप्लवको पार्टी सरकारसँग थप चिडिएको छ । पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले भने, ‘द्वन्द्वरत पक्षलाई वार्तामा बोलाउने भनेको छ, त्यो भनेको को हो ? हाम्रा जिम्मेवार नेता कार्यकर्ता समातिरहेको छ । आधिकारीक रुपमा वार्ताका लागि पनि बोलाएको छैन । वार्ताका लागि आधिकारीक कुरा आउँदा के कस्तो आउँछ त्यो पछि थप कुरा सार्वजनिक गर्नेछौं । तर अहिले हेर्ने हो भने सरकारको गतिविधि ठिक छैन ।’
केन्द्रीय सदस्य लोहनीले अहिलेको सरकारले आफ्ना महासचिवलाई पक्रेर जुन व्यवहार गर्यो त्यो शाही कालको भन्दा कठिन भएको प्रतिक्रिया दिएका छन् । वार्तामा जानु भन्दा पहिले आफ्ना पक्राउ परेका कार्यकर्ता र मुद्दाको विषयमा सरकारको धारणा आउनु पर्ने उनको भनाइ छ । त्यसपछि मात्रै वार्तामा जाने कि नजाने र गए के शर्त हुने भन्ने धारण बनाउने उनले बताए ।
अहिलेको सरकार कम्युनिष्ट नभएर ट्रेडमार्क राख्ने कम्युनिस्ट भएको बताए । सच्चा कम्युनिष्ट र ट्रेडमार्क राख्ने कम्युनिष्टको बीचमा फरक हुने उनको भनाइ छ । त्यहि भएर विप्लव नेतृत्वसँग अरु कम्युनिष्टको विचार नमिलेको लोहनीले बताए ।
सरकारले भने विप्लवको नेतृत्वको पार्टीसँगै सिके राउत र कुमार लिङ्देन नेतृत्वको पार्टीसँग पनि वार्ता गर्ने तयारी थालेको जनाएको छ ।
यता नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई भने अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालतले अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । विश्वकर्मालाई शुक्रबार तीन दिन थुनामा राख्न म्याद थप गरेको थियो । जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ ।
गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटर जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट पुर्याएको छ ।
विश्कर्मालाई गत शुक्रबार बिहान काठमाडौंँमा पक्राउ गरी नुवाकोट लगिएको हो । अदालतमा म्याद थपका लागि लैजाने क्रममा विश्वकर्माले आफूलाई राजनीतिक प्रतिशोधका लागि पक्राउ गरिएको र नुवाकोटको स्काभेटर जलाएका विषयमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।
“