जितको खडेरी तोड्यो म्यानचेस्टर युनाइटेडले

“एजेन्सी, भदौ १८ । म्यानचेस्टर युनाइटेडले जितको खडेरी तोकेको छ । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा जित निकालेको जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले त्यसपछिका दुई खेलमा लगातार हार बेहोर्‍यो ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा एक खेलाडीले रातो कार्ड पाएको तथा अर्का खेलाडीले पेनाल्टीमा गोल गर्न नसकेको अवस्थामा पनि युनाइटेडले जित निकाल्यो ।

जोसेको टिम म्यानचेस्टर युनाइटेडले अवे मैदानमा भएको खेलमा बर्नलीलाई २–० ले हराएको हो । म्यानचेस्टर युनाइटेडलाई जिताउन दुवै गोल रामेलु लुकाकुले पहिलो हाफमा गरे ।

२७ औँ मिनेटमा लुकाकुको पहिलो गोलबाट युनाइटेडले सुरुवाति अग्रता लियो । ४४ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यसअघिका दुई खेलमा ब्राइटन र टोटनह्यामसँग पराजित भएको युनाइटेडका लागि बर्नलीसँगको खेलको दोस्रो हाफ केही खराब बन्यो ।

दोस्रो हाफको मध्य तिर आरोन लेननले मार्कस रासफोर्डलाई फउल गरेपछि युनाइटेडले पेनाल्टी पायो । तर पउल पोग्बा पेनाल्टीमा चुके । ७१ औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो ।

 

बर्नलीका डिफेन्डर फिल बार्डस्लीसँगको ट्याकलका कारण रासफोर्डले रातोकार्ड पाए । १० खेलाडीमा सीमित भएको मोरिन्होको टिमलाई २–० को अग्रताका बाबजुद पनि तनाव थपियो ।

तर बर्नलीका खेलाडीले गोलको बाटो बनाउन सकेनन् र युनाइटेड विजयी भयो । चार खेलमा दोस्रो जित निकालेको युनाइटेड ६ अंकसहित १० औँ स्थानमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *