बन्यो विश्वकै अग्लो काठको टावर
“एजेन्सी, भदौ २१ । नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । १८ तले टावर ८५.४ मिटर अग्लो रहेको छ ।
वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको टावरको नाम ‘एमजोस’ राखिएको छ ।
ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरुलगायत प्रयोग गरिएको निर्माणकर्ताहरुले बताएका छन् ।
आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरु, एउटा होटल, कार्यालयहरु, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।
टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ ।
भियनाको टावरमा मिश्रित सामग्रीहरु प्रयोग भएका छन् ।”