पूर्वमन्त्री दीपक बोहराको गृहजिल्लामा बलात्कारका घटनामा महिलाहरु उर्लिए
“
भाद्र २३, रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को महिला संगठनले हिजो २२ गते रुपन्देहीमा महिला हिंसा र बलात्कारका घटनाको भत्सर्ना गर्दै विरोध प्रर्दशन गरेको छ ।
पार्टीका बरिष्ठ उपाध्यक्ष दीपक बोहराको गृहजिल्ला समेत रहेको रुपन्देहीको भैरहवामा महिलाहरुले चरम मुल्यवृद्धि, बलात्कार र अपराधिक घटनाहरुमा अपधारीलाई नै संरक्षण गर्न बर्तमान सरकार उद्यत रहेको भन्दै विरोध प्रर्दशन गरे भने, प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत पठाएका छन् ।
महिला संगठनले वर्तमान अवस्थामा दण्डहिनताको अन्त्य हुनु पर्नेमा दिन प्रतिदिन महिला तथा बालिका बलात्कृतका घटना बढिरहको, सरकार आफैं अपराधिलाई संरक्षण प्रदान गरेर समाजमा अपराध बढाउन सक्रिय रहेको भन्दै प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । सरकारी उदाशिनताका कारण कैयौँ अपराधिहरुलाई कानुनको कठघरामा नसक्दा अपराधिको मनोवल बढेर समाजमा अपराध बढेको महिला सगठनले जनाएको छ ।
हिजै एक विज्ञप्ति जारी गरी संगठनले रुपन्देहीमा समेत पछिल्ला दिनमा महिला हिंसा बढेको तर्फ संगठनको ध्यानाकर्षण भएको बताएको छ ।
संगठनले जारी गरेको विज्ञप्तिमा बलात्कारीलाई कुनै पनि बहानामा उन्मुक्ति नदियोस् । कडा भन्दा कडा कानुन बनाई छाउपडी प्रथा अन्त्य गरियोस् । पश्चिमाञ्चलमा रहेका सम्पूर्ण छाउपडी गोठ तुरुन्त भत्काइयोस् । बोक्सीको आरोप लगाई दूव्र्यवहार गर्नेलाई घटीमा १४ वर्ष जेल सजायको व्यवस्था कानुनमा नै गरी लागु गरियोस् । दाइजो, तिलक लिने र दिने दुवैलाई घटीमा ५ वर्षको जेल सजाय होस् । जस्ता माग गरेको छ ।
त्यसैगरी महिलाहरुलाई चिकित्सा शिक्षा र प्राविधिक शिक्षाका पहुँच पुर्याउन ५० प्रतिशत कोटाको माग गरेका छन् । भने, मुलुकको कार्यकारी तहमा पनि महिलाको प्रतिनिधित्व हुनुपर्ने बताइएको छ ।