मलेसियामा आर्थिक कूटनीति प्रवद्र्धन
“
काठमाडौँ, १३ साउन । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ । नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ । नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित उक्त प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ ।
क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको उक्त प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र, नेपाली कपडा, गरगहना र पश्मिनाका सामान राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले मातृभूमिको कला, संस्कृति र उत्पादन प्रवद्र्धनमा दूतावास प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निकट भविष्यमा यस्तै अन्य कार्यक्रम मलेसियाका अन्य शहरमा पनि आयोजना गरिने बताउनुभयो ।
उक्त दूतावासका अनुसार उद्घाटन समारोहमा त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पदाधिकारी, मलेसियाली सरकारका उच्च अधिकारी, उद्यमी व्यवसायी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । रासस
“