मेयर विद्या सुन्दरको दैनिकी : होटेल हिमालयनमा ब्रेकफास्ट लिएपछि साढे दश घण्टा ड्युटीमा !


काठमाडौँ, भदौँ १६ । मेयर विद्या सुन्दर शाक्य काठमाडौँ महानगरपालिकामा महानगर प्रमुख बनेर गएको तीन महिना बितिसक्यो। निर्वाचन अवधिमा मेयर बनेको एक महिनाभित्र पुरै राजधानी स्मार्ट सिटी बनाउने बाचा/कसम खाएका मेयर शाक्य चौतर्फी आलोचित भइरहेका छन्,कहिले स्मार्ट मोबाइल खरिदमा,कहिले करोडैको गाडी खरिदमा त कहिले बिजुलीको महशुल नतिरेको निहुँमा उर्जामन्त्री महेन्द्र बहादुर शाहीको खप्कि खाइरहेका छन् । यस्तै यस्तै झमेलामा फसेका सोझा मेयरका रूपमा परिचित शाक्यले मेयरमा विजयी भएपछि स्मार्ट सिटी बनाउँन हाल कस्तो खालको दैनिक कार्ययोजनाहरु बनाउँदै आएका छन् त ? प्रस्तुत छ,मेयर शाक्यको आज शुक्रवारको दैनिकी :
बिहान आठ बजे सुन्धारा निवासबाट बाहिर निस्केपछि साढे दश घण्टा व्यस्त हुन्छन् । शुक्रवारको कार्यतालिका अनुसार बिहान आठ बजेदेखि बेलुकी साढे ६ बजेसम्म उनी सात वटा कार्यक्रममा व्यस्त हुनेछन् । शुक्रवारको कार्यतालिकामा आठ बजे होटेल हिमालय कुपण्डोलमा भेटघाट कार्यक्रम रहेको देखिएकोे छ । उनी त्यहाँ करिब साढे दुई घण्टा साथीभाइसँग ब्रेकफास्ट र छलफलमा रहने बताइन्छ । त्यसपछि सहयोगीसँगै भक्तपुरस्थित सूर्यविनायकको कार्यक्रममा उपस्थित हुनुपर्नेछ ।
महानगरपालिका कार्यालयको छ तल्लामाथि रहेको उनको कोठा बाहिर बसेका केही सुरक्षाकर्मी र कर्मचारीहरू आ–आफ्नै सुरमा देखिन्थे । कोही एकअर्काबीच जिस्कने त कोही चिया पिउँदै मन मनै पत्रिका बाचन गर्ने । मेयर शाक्यको कार्यकक्ष नजिकै रहेको उप–प्रमुख हरिप्रभा खड्की श्रेष्ठ पनि बाहिर कार्यक्रममै व्यस्त रहेको एक जना सुरक्षाकर्मीले जानकारी गराए । मेयर शाक्यलाई भेट्न आउने सर्वसाधारणहरु शाक्यलाई नभेटी फर्किदै थिए । ती सुरक्षाकर्मीले बताएअनुसार उनी साढे बजेभित्र अफिसमा मेयरलाई भेट्न सकिँदैन । ‘किनकि मेयर साबलाई आज फुर्सद नै छैन । भेट्ने हो भने भोलि आउनुस् तर आज चाहिँ असम्भव ।’ मेयर शाक्यलाई कीर्तिपुरबाट भेट्न आएकी ताप्लेजुङकी लेखिका उर्मिला सेम्बुलाई ती सुरक्षाकर्मीले यसै गरी भने । मेयर शाक्यलाई आफूले दुई पटक भेट्न आएपनि भेट्न नसकेकी उनले त्रिविबाट स्नाकोत्तर शिक्षा हासिल गरेर दुई कृति सार्वजनिक गरिसकेकी रहेछिन् ।
1 | बिहान ८ बजे – कुपण्डोलको होटेल हिमालय |
2 | साढे १० बजे– भक्तपुर, सूर्यविनायकको कार्यक्रममा प्रमुख अतिथि |
3 | २ बजे –राष्ट्रिय सभागृहमा, सर सफाई बैंठकमा उपस्थित |
4 | साढे ३ बजे – रिभ्यालु फुड्सलको समापन कार्यक्रमको प्रमुख अतिथि |
5 | त्यसपछि साढे ५ बजेसम्म – दुई वटा कार्यक्रममै अतिथि |
6 | साढे ६ बजे रत्नकाजीसँग व्यक्तिगत भेटघाट,डल्लु निवास । |
मेयर शाक्यलाई भेट्न सेम्बु किन पुगिन् ?
विद्यासुन्दर शाक्य महानगरको प्रमुख बनेर जानुपूर्व त्यहाँ दुई भाइको हालीमुहाली थियो । तत्कालीन कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङ र प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की । रुद्रमानसिंह तामाङ तिनै व्यक्ति हुन् जस्लाई हत्तपत्त चलाउन सकिँदैन । स्रोतका अनुसार उनी मास्टरी दिमाग चलाउँछन्, अरूलाई फसाएर आफू बच्ने गर्छन् । हाल उनी महानगरबाट सिंहदरबार सरुवा भएको ती सुरक्षाकर्मीले बताए । उनले नै महानगरको प्रमुखको हैसियतमा लेखिका सेम्बुलाई तेस्रो (उपन्यास)कृति ‘दुई धार’का लागि धन्यवादसहित महानगरबाट आर्थिक सहयोग दिने बचन दिएका रहेछन् । त्यही बाचाकासाथ लेखक सेम्बु मेयर विद्या सुन्दरलाई भेट्न कुरिरहेकी थिइन् । तर, सुरक्षाकर्मीले मेयरलाई आज भेट्न असम्भव रहेको जानकारी गराइरहेको थियो ।
२ बजे पछि मात्रै भेटघाट
मेयर शाक्यको कोठाभित्र छिर्नुअगावै बाहिर स्पष्टसँग लेखिएको छ,भेटघाट समय दुई बजेपछि मात्रै । त्यहाँका एक महिला कर्मचारीले बताएअनुसार यो नियम पहिलादेखि नै राखिदै आइएको छ । ‘ यो त्यत्तिकै टाँगिएको हो । यसको कुनै मतलबै हुँदैन । मेयर साबलाई दुई बजेअघि पनि भेटिन सकिन्छ, नभेटिन पनि सकिन्छ । कहिले दश बजे अघि पनि भेटिन्छ । यसको ठेगानै छैन ।’ सूचना टाँस गरिएकोतिर हातले देखाउँदै उनले भनिन् ।
फुड्सल समापनपछि व्यक्तिगत भेटघाट
ती सुरक्षाकर्मीले सेम्बुलाई यसबारे जानकारी गराउँदै गर्दा गलामा महानगरको कार्ड भिरेका एक जना कर्मचारी देखिए । कोठाभित्र छिर्न नपाई मेयर शाक्यको कोठाबाहिरको सोधपुछ कक्षाको कुर्सीमा पत्रिका पढ्न थाले । एक छिन पछि ती सुरक्षाकर्मीसँग गफिँदै दुई बजेको सभा गृहमा सर सफाई बैंठक चल्दै गर्दा आफू निस्किएको बताए । बैंठक समापनसँगै साढे तीन बजे मेयर शाक्य फुड्सल समापन कार्यक्रमतिर जाने कार्यतालिकामा उल्लेख गरिएको छ । तर, ती कर्मचारीले त्यसपछि कुन कार्यक्रममा जाने स्पष्ट पारेनन् । तर, कार्य योजनापत्रमा राष्ट्रिय सभागृहमा सर सफाई कार्यक्रम सकाएर मेयर शाक्यले दुई वटा कार्यक्रममा प्रमुख अतिथिका रूपमा भाग लिनुपर्ने छ । दुई कार्यक्रममा मन्तव्य दिएर कार्यक्रमबाट बाहिरिएसँगै साढे ६ बजे रत्नकाजी थापाको निजी निवास डल्लुमा पुगेर शुक्रवारको कार्ययोजना समापन हुनेछ । व्यक्तिगत भेटघाट पछि उनी त्यहाँबाट कति बजे बाहिरिन्छन् भन्ने कार्यपत्रमा उल्लेख गरिएको छैन । सबै कर्मचारीको पाँच बजे छुट्टी भए पनि उनको साढे ६ बजे छुट्टी रहेको देखिएको छ ।
सिन्को भाँचिदैन
महानगरका एक जना कर्मचारी भन्छन्,–‘अर्काे पुस्ताले मात्रै हो मोज गर्न पाउँने । यो पुस्ताले त महानगरको भवन निर्माण गर्दैैमा कार्यभार सकिन्छ । त्यो सिवाय अन्य विकास त सिन्को भाँचिदैन ।’ अहिले महानगरको भवन निर्मांणको डिजाइन तयार पारिँदै गरिएको बताउँदै उनले,‘भवनको प्रारुप बनाउँन नै दुई वर्ष लाग्छ होला । त्यसपछि तीन वर्ष त भवन निर्मांणमै समय खर्चिनुपर्छ ।’ पाँच बर्से कार्यकालमा विकासका नाममा महानगरको घर बनाउँनै लाग्छ उनले फेरि थपे ।
