बेसहाराका सारथी छुृल्टिम : ह्विलचियर प्रयोगकर्ताको मुहारमा मुस्कान भर्दै
काठमाडौं,पुष ८ । उनी दुवै खुट्टा नभएपनि सवारी साधन हाँक्न र प्रष्टसँग बोल्न सक्छन् । झट्ट हेर्दा उनी र साहित्यकार झमककुमारी घिमिरेबीच फरकपन छैन जस्तो देखिन्छ, तर यथार्थ बेग्लै छ ।
केही दिन अघिमात्र उनीसँग फोन ताकेता पश्चात् कुराकानी गर्ने मौका जुरेको थियो तर शनिबार सिंहदरबारको पूर्वी गेटमा बसेर फोनमा नम्बर डायल गरिरहेका उनलाई मैले परैबाट चिने । तीन पाङग्रे स्कुटीमा आएका ‘उनी’ अर्थात् छुल्टिम ग्यालजेन शेर्पा र मेरो नजर जुँधेसँगै नजिक आए । र, त्यसपछि नजिकै रहेको नेपाली भान्छाघरमा कालो चियाको अर्डर गर्दै कुराकानीलाई अघि बढाए ।
०००
फ्ल्यासव्याक
छुल्टिम ‘ग्याल्जेन’ शेर्पा, लामाले जुराइदिएको नाम । तर, चलनचल्तीका लागि छुल्टिम शेर्पा नै काफी । सोलुखुम्बुको थामेमा ०२३ सालमा जन्मिए । जुन ठाउँमा विश्वविख्यात आरोहीहरु आप्पा शेर्पा र तेन्जिङ नोर्गे शेर्पाको जन्म भएको थियो । साढे दुई बर्षको छँदा पोलियोले सतायो । त्यसपछि उनी हिँडडुल गर्न असक्षम भए ।
उनी भन्छन्, ‘०२५ सालमा काठमाडौँ आएपछि गाऊँ फर्किन सकिन । शिक्षा दिक्षा यतै भयो । राजधानी भनिएपनि त्यतिबेला मेरो रोगको उपचार हुन सकेन र थलिए ।’
पीडाको पहाड
काठमाडौं, क्षेत्रपाटीको जेपी स्कुलबाट ‘क ख रा’ सुरु भयो । त्यतिबेला शारीरिक असक्षमताका कारण स्कुल जान निक्कै सास्ती गाह्रो खेप्नुपथ्र्याे । स्कुलका सबै विद्यार्थी साथीहरुले गिज्याउँथे । नानाथरि भन्थे तर सहनुपर्ने । उनी भन्छन्, ‘सबैभन्दा गाह्रो ट्वाइलेट जान र सबैभन्दा ठूलो समस्या जातीय समस्या थियो ।’
‘भोटे भोटे..ओइ भोटे.!’ भनेर साथीहरुले पेल्थे । आफ्नो पीडा आफैसँग हुन्थ्यो । उनी ति दिनहरु सम्झिदै भन्छन् । तर, यसका बाबजुद राम्रोसँग पढे । छुट्टि हुँदा पुस्तकालय जान्थे, पढ्थे । कक्षामा सबैभन्दा अब्बल साबित भए । त्यसपछि विद्यार्थी, शिक्षक सबैले माया गर्न थाले ।
व्यापारमा
जतिबेला एस.एल.सी सकाएर उनी थप अध्ययन लागि भौतारिँदै थिए तर राजनीतिक उथलपुथलका कारण कलेज गएर पढ्न पाइने अवस्था थिएन । त्यसपछि उनले ठमेलमा पसल सञ्चालन गरे । उनी भन्छन्, ‘पसलको सबै जिम्मेवारी मैले नै सम्हाल्थे । ‘ब्याक सपोर्ट’ घर परिवारको छँदैथियो । ०४० सालमा एसएलसी दिएँ । विभिन्न समस्याका बाबजुद ०४६ सालमा स्नातक पनि उत्तीर्ण गरिछाडेँ ।’
पसल सञ्चाल गर्नुपूर्व काकाले एउटा जागिर पनि दिलाउने भए, सेकुरिटी गार्ड । तर, त्यो प्रस्ताव उनका लागि ‘फिट’ हुने कुरै भएन । सहजै इन्कार गरे । त्यसपछि दुई दशक बढी व्यवासायमै होमिए । तर,जोरपाटीको खगेन्द्र बहादुर बस्नेतले दिएको प्रेरणा उनको जीवनका लागि गहिरो समुन्द्रको दुरी बन्यो । र, पसल छाडेर आफ्नै सत्कर्मका फर्किए ।
खगेन्द्र बहादुर बस्नेत उनै व्यक्ति हुन्,‘खगेन्द्र नवजीवन केन्द्रका संस्थापक’ । उनी हाल सो केन्द्रका समिति सदस्य रहेका छन् । बस्नेतसँग ०३५ सालमा उनको भेट भयो । तर, भेट भएको तीन वर्ष नबित्दै ०३५ सालमा बस्नेतको निधन भयो । उनी भन्छन्, ‘त्यसपछि म आफैँ उहाँको ठाउँमा बसेर सक्रिय रुपमा कार्यभार सम्हाल्ने कुरै भएन तर उहाँको ति प्रेरणाका कारण भूकम्पपछि म ज्यानै फालेर समाजसेवामा सरिक भए ।’
अनि मोडियो जीवन
त्यसपछि मैले यी यी काम गरे……उनले भन्न थाले,
‘गोलढुँगामा अपाङग कल्याण संघ खोलियो । जहाँ भूकम्प पीडित अपाङगहरु अलपत्र झै परेका थिए, खोलाको बगरमा । कुखुरा, सुंगुुरसँगै उनीहरु खान्थे बस्थे । त्यसपछि उनीहरुका लागि त्यहीँ नजिकै एक रोपनी जग्गा वार्षिक ३५ लाख भाडामा लिएर आवास निर्माण गरेँ । त्यसपछि कैलाली पुगे । त्यहाँ सुपा स्कुल भन्ने अपाङग अस्पतालका ३० भन्दा बढी साना–साना अपाङग बालबच्चाहरुलाई पनि सहयोग गरेँ । धरानको छाता चोकको पुनःस्थापना केन्द्रमा पनि पुगेँ । त्यहाँ पनि आफूले सकेका सहयोग गरेँ । काठमाडौंको साँखु अपाङको लागि ९ महिनाका लागि खाद्यान्नको जिम्मा लिएँ । ज्वाइँ आङनोर्बु शेर्पाले आवासका लागि भवन निर्माणमा सहयोग गरे ।’
ह्विलचियर क्रिकेट संघ स्थापना कसरी सम्भव भयो ?
पोहोर सालदेखि हो ह्विलचियर संघको स्थापना भएको । तर, कानुनी रुपमा भने अस्ति फागुनबाट मात्र भएको हो । त्यसपछि उनले भन्न थाले, ‘मैले हामी जस्ता अपाङ्ग भएका व्यक्तिलाई अघि बढाउने माध्यम खेल मात्रै देखे । यो प्रस्ताव ल्याइसकेपछि अपाङ्ग साथीहरु सबै खुसी हुनुभयो । खेलमार्फत् उहाँहरु सबैले आफ्ना दुःख सुख पनि सेयर गर्न थाल्नुभयो । यसकारण पैसा मात्र सबथोक रहेनछ । सबभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ ।’
संस्था स्थापनासँगै उनले ‘डोमेस्टिक’ खेल आयोजना पनि गरे, गत जेठमा । त्यसपछि उनले विश्वको पहिलो त्रिदेशीय क्रिकेट खेलको आयोजना गरे । विश्वमा ह्विल चेयरमा बसेर क्रिकेट खेल्ने देशहरु नेपाल, बंगलादेश, भारत र पाकिस्तान मात्र हुन् ।
तर, यो खेलका लागि पाकिस्तानबाहेक अरु दुई देशलाई मात्र आह्वान गर्न सम्भव भयो । उनी भन्छन्, ‘आर्थिक अभावका कारण । पाकिस्तानलाई सो खेलमा सहभागि बनाउन सकिएन । एकैजना खेलाडीका लागि ६० हजारभन्दा बेसी टिकट खर्च लाग्ने भएपछि यो सम्भव भएन ।’
भारत र बंगलादेशबाट २०/२० जना दरले खेलाडी आएका थिए । तर, दुई देशलाई पाखा लगाउँदै नेपालले खेल जित्यो । उनी भन्छन्, ‘बंगलादेश र भारत क्रिकेटको ‘गुरु’ नै हुन् तर हाम्रा खेलाडीले जिति छाडे । भारतले यो खेलको अभ्यास गरेको एक दशक भइसक्यो, पाकिस्तानको पनि उत्ति नै समय भइसक्यो भने बंगलादेशको पाँच वर्ष हुदैछ । तर, हामीले यो अभ्यास थालनी गरेको एक वर्ष हुँदैछ ।’
एक वर्षको ट्रेनिङले खेल जितेको नेपालले अब एसिया कपको आयोजना गर्ने भएको छ । छुल्टिम भन्छन्,‘हामीले एक वर्षकै ट्रेनिङले पराजित गर्याे । अब चाँडै एसिया कपको पनि आयोजना गर्दै छौँ ।’ उक्त खेल समापनसँगै उनले दैनिकरूपमा जोरपाटी, जावलाखेल र नेपाल आर्मीको समुहलाई मिलाएर अहिले तीन टिम बनाउँदै प्रशिक्षण दिइरहेका छन् ।
उनी त्रिविको मैदानमा भएको खेल स्मरण गर्दै भन्छन्, ‘सबै खेलाडीहरुको उत्तिकै उत्साहका साथ खेल जितियो । तर, आर्थिक सहयोगका लागि कहाँ कहाँ पुगिएन ? कर्पाेरेट हाउसदेखि नाम चलेका विद्यालयसम । तर, आशा बाहेक अरु केही पाइएन । झोलाभरि नै पैसा दिने उनीहरुको बचन आज सम्झिदा न्यास्रो लाग्छ । नाम चलेका एयरलाइन्स सबै ठाउँमा गयौँ । तर, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भाे ।’
इपीएल खेलका लागि कर्पाेरेट हाउसहरुले करोडौँको सहयोग गरे तर, हामी अपाङगलाई एक लाखको पनि सहयोग भएन । अपाङ्गले पनि खेल खेल्न सक्छन् र भन्दै उनीहरु उल्टै शंकाको आँखाले हेर्दथे । र भन्दथे ‘यिनीहरुले खेल जितेर के गर्छन ?’
तर, आफूले कसैमाथि लाञ्छना लाउन नखोजेको बताउँछन् । ‘बिल्कुलै व्यक्तिगत तवरबाट खेल समापन गरे । मुख्य कुरा सबैमा देशको माया लाग्नुपर्छ । साढे पाँच लाख ऋण लाग्यो तर, पैसा भन्ने कुरा आउँछ जान्छ । यसकारण विश्वमाझ उनीहरुले आफ्नो क्षमता प्रदर्शन गरेर थप चिनाउने र अपाङ्गले के गर्न सक्दैनन् र ? भन्ने उदाहरण दिन सफल भएका छौँ । ऋण लागोस् तर दिन नलागोस् ।’
साथीभाइको हौसलाका कारण आफूले उक्त खेल सम्पन्न गरेकाे भन्दै मुख्य कुरा काम गर्न आत्म विश्वास नै ठूलाे रहेकाे उनी ठान्छन् । ‘त्यहीँ आँट लिएर म यो काम गर्न सफल भए । स्वदशी र विदेशी चिनेका साथीभाइ, इष्टमित्र हुनुहुन्छ उहाँहरुकै सहयोगले यो खेल सम्पन्न भयो ।’
भारत, बंगलादेश, पाकिस्तानको खेलाडी र नेपालको खेलाडीको तुलना गर्दा आकाश पातालको फरक छ । उनले कुराकानीलाई टुङग्याउँदै भने,‘जहाँ थुप्रै कलकारखाना छन् त्यसमाथि मजबुुत र दिगो सरकार छ तर हामी कहाँ त्यो अवस्था छैन । यसकारण पनि यो क्षेत्रमा कुनै पहलकदमी अघि बढ्न नसकेको जस्तो लाग्छ ।’
अन्तमा आशावादी देखिए उनी ‘आशा छ भोलिको दिनमा राज्यबाट केही सहयोग मिल्ला कि !’