व्यापारीसँग ‘किस भिडियो’ बनाएर ‘ब्लाकमेलिङ’ गर्ने दुई जना पक्राउ
कात्तिक ७, काठमाडौँ । विभिन्न व्यवसायीहरुलाई ब्लाकमेलिङ गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको कुपण्डोलस्थित एक व्यवसायीको कार्यालयमा पुगी उनीसँग किस गरेको अन्तरङ्ग भिडियो बनाएर ब्लाकमेलिङ गरी ठगी गर्ने गोरखा जिल्ला पालुङ्टार–८ घर भएका ३१ वर्षीय बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका–४ स्थायी घर भएकी २५ वर्षीय ईन्दिरा उप्रेतीलाइ प्रहरीले पक्राउ गरेको हाे ।
फेसबुकमा चिनजान गरी भेट्न भन्दै गत असार १ गते इन्दिरा कुपण्डोलका व्यापारी कहाँ पुग्छिन् । कुराकानीकै क्रममा फेसबुकमा निशा नाम बताउने इन्दिराले आफू झापा बुधबारेको इन्दु भएको बताउँछिन् ।
null
त्यसपछि सुरु हुन्छ उनको रामलीला ! बोल्दाबोल्दै उनी सोफामा बसेका व्यवसायीको नजिक पुगी उनलाई चुम्बन गर्छिन् । दुवैबीचका क्रियाकलाप भिडियोमा कैद गर्छिन् । त्यसपछि सुरु हुन्छ असली ‘ब्लाकमेलिङ’ ।
जब इन्दु त्यहाँबाट निस्किन्छिन्, तब व्यापारीलाई फोनमार्फत् धम्की आउँछ, ‘एक करोड नदिए चुम्बनवाला भिडियो फेसबुक र युट्युबमा हालीदिने’ भन्दै ।
आफूसँग ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोजेको थाहा पाएपछि व्यवसायीले महानगरीय प्रहरी अपराध महाशाखामा दिएको उजुरीका आधारमा उनीहरुलाई महाशाखा टोलीले कात्तिक ६ गते गौशालाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएकाे महाशाखाले जनाएकाे छ ।