प्रदेश दुुईमा प्रहरी ऐन पारित, यहि वर्ष एक हजार प्रहरी भर्ना गर्ने तयारी
जनकपुर । प्रदेश २ को प्रदेशसभाले संघीय प्रहरी ऐन बहुमतले पारित गरेको छ । नेकपाको विरोधका बावजुद बहुमतले पारित भएको हो । यससँगै प्रदेश सरकारलाई प्रदेश प्रहरी गठनको बाटो खुलेको छ ।
प्रदेश प्रहरी ऐन अध्ययन समितिका सभापति राजपाका सांसद सुरिता साहले विज्ञको सुझावलाई समेटेर तयार गरिएको विधेयक प्रदेशसभामा पेश गरेकी थिइन् ।
विधान अनुसार नै ऐन तयार गरिएको उनले बताइन् । संविधानको धारा २६८ अनुसार प्रदेश प्रहरी संरचना तयार गरिएको र संघीय ऐनलाई कुनै पनि अवरोध नहुने उनको भनाइ छ ।
null
प्रदेश सरकारले प्रहरी ऐन सेवासम्बन्धी विधेयक प्रदेशसभामा असार १६ गते पेश गरेको थियोे भने २७ गते अध्ययन समिति बनाएर त्यहाँ पठाइएको थियो ।प्रदेशले प्रहरी ऐन बनाएपनि केन्द्रले संघीय प्रहरी ऐन अझैसम्म बनाइएको छैन । यसले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा जटिलता छ ।
तर, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने संघीय प्रहरी ऐन तत्काल नआउन नसके प्रदेशका प्रहरीहरु प्रदेश सरकारमा मातहतमा हुने परिपत्र केन्द्रले गरे समस्या समाधान हुने बताउँछन् ।
उनका अनुसार प्रदेश प्रहरी ऐनअनुसार एउटा चौकीमा १३ जना प्रहरी हुनुपर्छ । तर, अहिले पनि थुप्रै चौकीमा ५ जना मात्र छन् । त्यसैले प्रदेश सरकारले ठूलो संख्यामा प्रहरी भर्ना गर्नुपर्ने हुनसक्छ ।
तर, पहिलो चरणमा करिव १ हजार प्रदेश प्रहरी भर्ना गर्ने योजना योजना छ । प्रदेश प्रहरी ऐनअनुसार प्रदेश २ मा जनपद, प्राविधिक, पर्यटक प्रहरी, सामुदायिक र ट्राफिक गरी पाँच प्रकृतिका प्रहरी रहने उल्लेख छ ।