अत्याधिक लेडयुक्त रंग प्रतिबन्ध गर्न माग
कात्तिक, १० भरतपुर । लेडको विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह चितवनमा पनि मनाएको छ । कार्तिक ४ देखि सप्ताह सचेतना कार्यक्रम सुरु भएको हो । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सीपेड) ले भरतपुरमा सरोकारवालासँग कार्यशाला गोष्ठी आयोजना गरी अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाएको हो । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक राम चरित्र शाहले लेडयुक्त रंग र खेलौनाहरु प्रतिबन्ध लगाउनुपर्ने बताए ।
उनले नेपाल सरकारले बनाएको मापदण्डसमेत पूरा नगरी रंग र खेलौनाहरूमा अत्याधिक लेड फेला परेको हुनाले लेडयुक्त चीजबीजको प्रतिबन्ध गर्नुपर्ने बताए । उनका अनुसार लेड एक प्रकारको रसायन हो, जसले मानिसको स्वास्थ्यमा भयावह एवम् स्थायी किसिमका नकारात्मक असर पार्छ । गोष्ठीमा उनले नेपाल सरकारले रंगहरूमा तोकेको मापदण्डको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको बताए । उनले भने, ‘पेन्टस्हरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी लेड फेला परेको छ ।’
लेडको असरले स्नायु प्रणाली, रक्त कोशिका, स्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, मुत्र प्रणाली आदिमा गम्भीर असर पर्छ । लेडले विश्वका कुल रोगमध्ये झन्डै ०.६ प्रतिशत रोग निम्त्याउँछ । गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले रंगहरुमा, सौन्द्रर्यका सामग्रीहरुमा र खैलौनाहरुमा समेत अत्याधिक लेड फेला परेको विभिन्न तथ्यांकहरुले देखाएको हुनाले स्वास्थ्यप्रति गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘विज्ञानको विकाससँगै विनाश पनि आइरहेको छ ।’
null
गोष्ठीमा भन्सार विभागका निर्देशक मनोजनिधी वाग्लले लेडले एउटालाई मात्र असर नगरी धेरैलाई असर गर्ने बताए । उनले भने, ‘विषादी खाना जसले खायो उसैलाई असर गर्छ, तर रंगमा भएको लेडले समूहलाई नै असर पुर्याउछ ।’
गोष्ठीमा विराज पेन्टस् भरतपुरका प्रबन्ध निर्देशक राजु ढुंगानाले रंगहरुमा लेडको मात्रा धेरै नै कम भएको बताए । उनले भने, ‘सरकारले तोकेको मापदण्ड अनुसार नै रंगहरु उत्पादन भइरहेको छ ।’ उनका अनुसार बाहिरबाट आयात भएका अत्यधिक लिड भएका कस्मेटिक सामग्रीहरु कुनै जाँच नगरी विक्री भइरहेको छ । तर यहाँ उत्पादित भएका सरकारको मापदण्ड अनुसार रहेर लेडलाई शून्य पार्दा पनि लेड बढी भएको आरोप लाग्ने गरेको छ । लेड टेष्ट गर्ने ल्याब नहुँदा समस्या भएको उनको भनाइ छ ।
कार्यक्रममा भरतपुर महानगरका जनस्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामचन्द्र पाठकलगायतले मन्तव्य दिएका थिए । कार्यक्रम निजी अस्पताल समन्वय समितिका महासचिव विक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।