अगाडि बढ्यो महानगरको लिंकरोड र रिंगरोडको काम

असोज २८, भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चालु आर्थिक वर्षमा १० किलोमिटर रिंगरोड र ६५ किलोमिटर लिंकरोड निर्माणको काम सुरु भएको बताएकी छिन् । 

भरतपुर महानगरपालिकाले आज गरेको चाडपर्वको शुभकामना तथा पत्रकार भेटघाट कार्यक्रममा महानगर प्रमुख दाहालले ९५ किमी लम्बाइ भएको रिंगरोड र लिंकरोडको काम एकसाथ अघि बढेको बताइन् । 

उनका अनुसार महानगरको नमुना लायक रिंगरोड ३० मिटर चौडाइको हुनेछ । रिंगरोडको दुवैतर्फ सुन्दर हरियाली निर्माण गरिनेछ । रिंगरोडमा पर्याप्त फुटपाथ रहने र सडकको एक साइडमा साइकल ट्यांकसमेत निर्माण गरिने योजना रहेको महानगर प्रमुख दाहालले बताइन् । 

null

प्रमुख दाहालले भरतपुर महानगरले बनाउँदै गरेको रिंगरोड ३० मिटरको भन्दा कम नहुने बताइन् । उनले भनिन्, ‘लिंकरोड त २४ मिटरको बन्न लागेको छ भने रिंगरोड ३० मिटरको बनाउनैपर्छ ।’ उनले भविष्यलाई हेरेर ठूला लिंकरोड र रिंगरोड बन्न लागेको बताइन् । भरतपुर महानगरको रिंगरोड र लिंकरोड देशकै नमुना मार्गको रुपमा रहने उनको भनाइ थियो । भरतपुर महानगरको रिंगरोडमा १२ वटा लिंकरोडहरु जोडिनेछन् । 

शुभकामना आदानप्रदान कार्यक्रममा महानगर प्रमुख दाहालले रिंगरोड र लिंकरोडहरु भरतपुर महानगरलाई देशकै नमुना बन्ने बताइन् । उनले महानगरपालिकाको वृहद् गुरुयोजना निर्माण गरी एकीकृत विकासको लागि राष्ट्रिय एवम् स्थानीय विषय विज्ञहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तत्र्रिmया आयोजना गरी महानगरीय गुरुयोजना निर्माणको काम सुरु गरिएको बताइन् । 

भरतपुर अस्पतालमा स्वास्थ्य सेवा लिन आउने महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओपीडी टिकट निःशुल्क गरिएको छ । बजारमा अव्यवस्थित रहेको पार्किङ्गको व्यवस्थापन गर्ने कार्यलाई पुल्चोक, सहिदचोक र लायन्सचोक गरी ३ स्थानबाट सुरु गर्नुका साथै ट्रक पार्किङको लागि न्यूरोडमा पार्किङको व्यवस्था गरिएको छ । 

सडक पेटीमा व्यवसाय गर्ने परिपाटीलाई निरूत्साहित गर्दै बालकुमारी कन्या माविसँग महानगरले भाडामा लिएको जग्गामा व्यवस्थापन गरिएको छ । सडक बत्ती जडान र व्यवस्थापन गरिएको छ । एक घर दुई बिरुवा कार्यक्रम चलिरहेको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न र ट्राफिक व्यवस्थापनलाई सहज पार्न मुख्य राजमार्गमा तीन पांग्रे सवारी साधनको संचालनमा उचित रुटहरुको व्यवस्थापन गरिएको छ । बजार र राजमार्गका मुख्य २० स्थानमा ट्राफिक आइजल्याण्ड निर्माण गरिएको छ । 

महिलासँग मेयर र ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, जनजाति, दलित लगायतका जोखिममा परेका समूहसँग मेयर जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ । वडा कार्यालय, टोलविकास संस्था, संघसंस्थाहरु र विभिन्न अभियन्ताहरु समेतको सहभागितामा महानगर क्षेत्रभित्र सरसफाई कार्यलाई अभियानकै रुपमा अघि बढाइएको छ । 

गत आवमा महानगरपालिका, स्थानीय जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे हुनुका साथै करिब ६० किमी सडक मर्मत भएका छन् । 

२०७५ असार ३१ गते सिंगो महानगरलाई पूर्णखोप सुनिश्चित स्थानीय तहको रुपमा घोषणा गरिएको छ । महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रति लिटर २५ पैसाका दरले प्रोत्साहन स्वरुप नगद अनुदानको व्यवस्था गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन् ।  

एक वडा एक पार्क र एक वडा र एक पोखरी निर्माणको नीतिलाई अगाडि बढाइएको छ । महानगरभित्र रहेका सार्वजनिक र प्रति जग्गाहरु खोजबिन गरी संरक्षण गर्ने नीति लिइएको छ । यसका लागि निर्देशक समिति र कार्यान्वयन समिति गठन भई काम थालनी भएको छ । करिब एक अर्ब लगानीको अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको लागि जग्गा छनौटको अन्तिम प्रक्रियामा रहेको छ । 

दुई वटा वडा कार्यालय (वडा नं ८ र २४) भवन निर्माण सम्पन्न भैसकेका छन् भने अन्य ३ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् । महानगरले ठूला पूर्वाधारहरु निर्माणहरुमा विशेष जोड दिएको छ । नेपाल सरकार, प्रदेश सरकार, महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको तयारीमा महानगरपालिका लागिरहेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयसँगको समन्वयमा देवघाटमा अत्याधुनिक विद्युतीय शवदाह गृह निर्माणको काम भइरहेको महानगर प्रमुख दाहालको भनाइ छ । 

पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो (फुटपाथ र सर्भिस ट्रयाक सहित) यसै आ.व. मा सुरु गर्ने गरी सडक डिभिजन कार्यालय मार्फत प्रक्रिया अगाडि बढिरहेको छ । 

महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनको लागि २ ठाउँमा आकाशे पुल र ट्राफिक लाईट व्यवस्था गर्ने महानगरले लक्ष्य बनाएको छ । नारायणगढको लायन्स चोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको लागि डिजाइनको प्रक्रियामा रहेको र यसै वर्षबाट काम सुरु गर्ने लक्ष्य लिइएको छ । 

फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन आँपटारी नजिक महानगरपालिकाको स्वामित्वमा रहेको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रम छिट्टै शुरु गर्ने लक्ष्य लिइएको छ र यसको लागि कोरियाली कम्पनीसँग डीपीआर सम्बन्धी सम्झौता भैसकेकोछ । 

भरतपुर वडा नं १९ स्थित रानीपोखरी र वडा नं ६ स्थित लक्ष्मीनारायण पार्कमा पहुँचमार्ग निर्माण तथा केन्द्रीय बस टर्मिनल स्तरोन्नति गर्न टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढिरहेको छ । 

सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि वडा नं. ३ अन्तर्गत नारायणी नदी किनारमा प्रक्रिया अगाडि बढाइएको छ । 

महानगरपालिकाबाट स्थानीय सरकार संचालनका लागि आवश्यक कानुनहरू निर्माण र प्रमाणीकरण गरी स्थानीय राजपत्रमा प्रकाशनको थालनी गरिसकिएको छ । 

वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन सबै वडा कार्यालयहरुमा विद्युतीय नेटवर्किङ्ग गर्ने काम अगाडि बढिरहेको छ । 

नगरबासीह?को जनगुनासो सुन्नका लागि निशुल्क टोल फ्रि नम्बर १६६०५६५२२२२ र हेल्प डेस्कको स्थापना गरिएको छ । 

वित्तीय अनुशासनका लागि आन्तरिक नियन्त्रण निर्दे्शिकाको मस्यौदा तयार गरिएको छ । निर्देशिकाको पालनाबाट सम्भावित जोखिम न्यूनीकरण हुने विश्वास लिइएको छ । 

बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त महानगरको लागि कार्ययोजना बनाई कार्यारम्भ भएको छ । 

गैरसरकारी संघ संस्थाका परियोजनालाई महानगरको योजना तथा कार्यक्रमसँग टाइअप गर्न निर्देशिका बनाई कार्यको थालनी भएको छ । भरतपुरलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरेअनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिएको छ । 

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको नियमन र अनुगमनको काम प्रभावकारी रूपमा अगाडि बढाइएको छ । 

शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउनका लागि आवश्यक नीति निर्माण र नियमन गरिँदै लगिनुका साथै विशेष छात्रवृत्ति कार्यक्रमहरु अगाडि बढाइएको छ । शिक्षा क्षेत्रको गुणस्तर सुधार र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । 

कृषि क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रमहरु सञ्चालन गरिएको छ । 

तरकारी, फलफूल, माछातथा खाद्यान्न उत्पादनमा संलग्न किसानलाई कृषि औजार, सिँचाइ लगायतमा अनुदानको व्यवस्था गरिएको छ । 

महानगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ती ठाँउहरूमा पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको छ । 

वडा नं २२ को पटिहानीमा भ्यू पोइन्टसहितको अम्रेला स्ट्रिट निर्माणको चरणमा रहेको तथा वडा नं २८ को गोलाघाट र वडा नं २९ को चौकी डाँडामा पनि भ्यू टावर निर्माण गर्ने कार्यक्रम रहेको छ । 

देवघाटलाई धार्मिक पर्यटन स्थानको रुपमा विकास गर्ने तथाजगतपुर र मेघौलीलाई पर्यापर्यटनको केन्द्र बनाउने लक्ष्य रहेको छ । 

महानगरपालिकाभित्र ठूला तारे होटलहरु सञ्चालन गर्न चाहनेलाई विशेष सहुलियत दिने नीति लिएको छ । 

भरतपुर महानगरले गत वर्षको संकलित राजस्व रकम रु. ४९ करोड ११ लाख संकलन गरेको थियो । आन्तरिक आय ३० करोड थियो । यस वर्षको राजश्व संकलनको लक्ष्य ५५ करोड महानगरले लिएको छ । 

यस आर्थिक वर्षको असोज २६ गतेसम्म जम्मा राजस्व रु. आठ करोड बाउन्न लाख त्रियानब्बे हजार तिरासी उठेको छ । 

साथै केही वडाहरुको चलानी आउन बाँकी नै रहेको महानगरले जनाएको छ । राजस्वमध्ये सम्पत्ति कर, व्यवसाय करर सेवा शुल्क तथा घर बहाल कर प्रमुख रुपमा रहेका छन् । 

व्यवसाय करको सम्बन्धमा श्रेणी निर्धारण गरिएको र व्यापारीको स्व–घोषणाको आधारमा कर लिने कार्य गरिएको (पुँजी, लगानी, कारोबार तथा लोकेसनको आधारमा स्व–घोषणा हुने) छ । घरबहाल करको सम्बन्धमा कृषि प्रयोजनको लागि १५ आवास प्रयोजनको लागि २५ व्यापार प्रयोजनको लागि १०५ लिइँदै आएको छ । महानगरले कारोवारका आधारमा व्यवसाय करको दररेट कायम गर्ने प्रकृयामा रहेको छ । 

सेवाग्राहीको सहजता तथा सरलताको लागि घर घरमा टोली परिचालन गर्ने, करदाता शिक्षा प्रदान गर्ने र समृद्ध महानगर निर्माणको अभियानमा सबैलाई सहभागी गराउने गृहकार्य सुरु गरिएको छ । 

जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाईंसराई तथा सम्बन्ध विच्छेदको लागि निःशुल्क दर्ता गर्ने व्यवस्था गरिएको तर ३५ दिन कटेपछि रु.५० जरिवाना लाग्ने प्रावधान राखिएको छ । 

महानगरले आन्तरिक श्रोत बढाउन अन्य करका स्रोतहरुको पहिचान र खोजी गर्ने तथा कर लगाउने गृहकार्य गरेको छ । अत्याधुनिक पौडी पोखरी, अत्याधुनिक शौचालय जस्ता सशुल्क सेवा विस्तार गर्न सकिने अवस्था छ । सेवाग्राहीलाई सहज तथा सरल सेवा प्रदान गर्नको लागि १५ वटा वडा कार्यालयहरूबाट राजस्व संकलन कार्य हुँदै आएको छ । थप तयारी गरी १ महिनाभित्र सबै वडामा यो सुविधा विस्तार गरिनेछ । 

सेवाग्राहीलाई सहज तथा सरल सेवा प्रदान गर्नको लागि ईसेवा प्रदान गर्ने सम्वन्धमा अध्ययन प्रारम्भ भएको छ । महानगरपालिका र उद्योग वाणिज्य संघ, चितवनको सहकार्यमा कर प्रणालीलाई वैज्ञानिक बनाउने र कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउने सम्झौता गरी काम अगाडि बढाइएको छ । 

कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा भरतपुर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले महानगरको सम्पूर्ण गतिविधिको बारेमा जानकारी गराएकी थिइन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले पत्रकारहरुको जिज्ञासा समाधान गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *