दशैंको दक्षिणा अनि मेरो प्रेमकथा
कुरा त्यतिबेलाको हो जब म स्कूलमा अध्ययन गर्थें, घटस्थापनाबाट पूर्णे सम्म डल्लै विदा हुन्थ्यो अनि सरकारी विद्यालय भएकाले दशैं भ्याकेशन वर्कहरु हुँदैथ्यो । दशैं नितान्त दशैं थियो, यी १५ दिनले १५ लाख किलोग्राम खुशी दिन्थे ।
पहिलो रमाइलो लुगा किन्ने, दोश्रो रमाइलो खसी काट्ने अनि तेश्रो रमाइलो दक्षिणा भेला पार्ने । यी रमाइलै रमाइलाको विचमा दशैंका १५ दिन विजुली चम्केकोभन्दा छिटो बित्थे, दशैं आँउथ्यो अनि हराउँथ्यो, अर्को वर्षको क्यालेन्डरमा खोज्नुपर्ने रातो मितीको रुपमा ।
खसी खान भन्दा काट्नमा रमाइलो हुन्थ्यो, दशमीको टीकाको रातो केही दिनसम्म निधारमा होलीको रङ्गजस्तै वसिरहेको हुन्थ्यो, दशैं र तिहार सँगै आउने भएकाले पनि दशैंको दक्षिणा तिहारको देँउसीले दोब्बर पारि तुल्याउथें, त्यसमाथी आफू त परियो भट्याउने मान्छे, अरुभन्दा मेहेनत पनि धेरै अनि आय पनि धेरै हुनपर्छ भन्ने मान्यता थियो । स्कूले जिवनभरि मैले दशैंको दक्षिणा जोगाइरहे अनि देँउसी खेलेर दोब्बर पारिरहे, कहिलेकाही त दोब्बरभन्दा धेरै ।
null
शुरुवाती दशैं कपडाको रौस हुन्थ्यो, त्यसपछी खसी काट्ने अनि दशैंको फाइनल रमाईलो हो दक्षिणा, नयाँ नोट अनि सुटुक्क पैसा लुकाउने ठाँउ कतै किताबहरु भित्र त कतै ओछ्यानको डस्ना मुनी ।
धेरै दक्षिणा दिने घर या आफन्त त्यस वर्षको सुपरहीट प्यारो हुन्थे तर, रिस चाँही त्यतीवेला उठ्थ्यो जब आफूसरहको अरुलाई धेरै दक्षिणा दिएर आफूलाई थोरै दिन्थे । दक्षिणा नपाउने र गोडामा ढोग्नुपर्ने ठाँउमा वर्षौसम्म टीका लगाउन गइएन ।
एउटा वर्षको दशैं जुन दशैं अन्य वर्षहरुजस्तै औसतरुपमा वितिरहेको थियो, त्यसवर्ष एक्कासी दक्षिणाको भागमा वृद्धी भयो, म परपरको मामाघर नि गएँ, हजुरआमासित अन्य ठाँउहरु पनि गए अनि साविकका ठाउमा पनि दक्षिणाहरु राम्रै हातपर्यो ।
मलाई त्यो सालबाट आफू अलिक हुर्केको अनि वयस्क भएको अझ भनौं तन्नेरी भएको अनुभव भएको थियो, दक्षिणाको ब्यवस्थापन पनि मलाई वयस्क स्टाइलमै गर्न मन थियो जस्तै कि केही किनेर, कतै गएर या फिल्म हेरेर । फिल्मवाला अप्शन मलाई शानदार लागेको थियो तर फिल्म हेर्न जानलाई एकजना साथी नभईकन आँट आएन ।
अब मैले त्यो पैसामा फिल्म देख्न थाले, हलको टिकट किन्ने झ्यालको गन्ध पाए अनि द्धन्द अनि गीतका दृश्यहरु ।
नजिकैको हलमा प्रायशः हिन्दी चलचित्रहरु र ती पनि एकदमै पुराना अनि उति रहर नलाग्ने, त्यो हलको सिटहरु पनि काठका थिए, माटोको भुई थियो अनि टर्च वालेर फिलीमको विच्चमा एउटा कपाल पालेको दाजु टिकट जाँच्न आँउथे । मलाई नेपाली चलचित्र हेर्न थियो । क्लासमा केटाहरुलाई गफ दिन पनि चल्तीका चलचित्रकै मज्जा आउनेगर्छ, मैले इटहरीको चलचित्र घर जाने निधो गरे, तर साथी पाईन । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह अभीनीत आफ्नो मान्छे चलिरहेको थियो । मेरो चलचित्र फेन्टासी, मलाई त्यहाँ जानै पर्ने उत्कट चाहना भयो ।
कसैलाई कुरा नचुहाउने साथीको खोजी भयो, आफू सरहका साथीहरु टिकट काट्न साना हुने र मज्जा नआउने निक्र्योल गरे, मेरो खोजी अब शुरु भयो, चलचित्र सहयात्रीको ।
मेरै उमेरका दुइजना राम्रा लुगा लगाएका सुकुमार केटीहरु पनि थिए, शायद आफ्ना वुवा या काकासँग आएका हुनपर्दछ । चलचित्र हेर्दै गर्दा मैले ति केटीहरुलाई धेरैपटक हिरोइनसँग दाँजेर हेरे अनि आफूलाई हिरोसँग ।
दक्षिणाको पैसालाई थपथाप पारेर नाताले भतिजो पर्ने तर गाउँले दौंतरी प्रकाशले बजारबाट फोल्ड हुने घडी ल्याएछ, म मनमनै त्यसको वुद्धि देखेर हाँसे, फिल्म नहेरेर के घडी लाइरहेको होला भन्ने मनमा आयो ।
फिल्मको टिकट तल बसेर हेर्यो भने रु १२ थियो, रु ६ को गाडीभाडाले जान आउन पुग्ने थियो अनि हाफटाइममा पापडको रु ५ जून दुई जनाले बाँडेर खाने मेरो हिसाब थियो । यो रफ क्यालकुलेशनले रु ४२ सम्म दुई जनालाई पुग्ने मेरो इष्टीमेशन भयो । ५० को खुद्रा एक ठाउँमा छुटै राखे, घरमै काम गर्ने तिर्थलाई गुपचुप आफ्नो योजनामा सामेल गराए । तिर्थ म भन्दा केही उमेर बढीको मान्छे हो, मैले भन्दा धेरै भोटो फटाएको छ अनि मुख्य विशेषता के हो भने उस्ले कसैलाई भन्दैन ।
चलचित्रको त्यो चाहनाले हामीलाई हलसम्म पूर्यायो, घरमा अरुलाई भनिएन । केटाकेटीले चलचित्र हेरेको नराम्रो मानिन्थ्यो, अझै यो कुरा परिवारका धेरैलाई थाहा छैन । तिर्थले टिकट काट्यो, उस्ले टिकटलाई टिकस भन्थ्यो, मलाई हाँस उठ्थ्यो । राम्रो लुगा र जुत्ता लगाएर हिँड्दा घरमा शकां हुने भयले हामी सुरुवाल र चप्पलमै हल पुग्यौँ, हलको माहोल अराजक रमाईलो थियो । मलाई त्यहाँसम्म पूर्याएको मा दशैंलाई मनमनै धन्यवाद दिए, दशैं त वर्षमा दुईपल्ट आओस जस्तो लाग्यो । त्यहाँ धेरै खाल्का मान्छेहरु थिए, कोही परिवार सित आएका, कोही साथीसित अनि कोही उमेर पुगेकाहरु हुनेवाला जिवनसाथीसित, प्रेम जोडीहरु र यी धेरैजसो प्रेमजोडीहरु चाउचाउका प्याकेटहरु आदि लिएर छिरेका थिए, उतिवेला चाउचाउको मुल्य रु ११ गोटाको थियो ।
मेरै उमेरका दुइजना राम्रा लुगा लगाएका सुकुमार केटीहरु पनि थिए, शायद आफ्ना वुवा या काकासँग आएका हुनपर्दछ । चलचित्र हेर्दै गर्दा मैले ति केटीहरुलाई धेरैपटक हिरोइनसँग दाँजेर हेरे अनि आफूलाई हिरोसँग । मलाई उनिहरु कति राम्रा लाग्यो त्यतीबेला अझैपनि वर्णन गर्न शब्द र भावना छैन, फिल्मको भावनाले पनि सुन्दरता थपेको हुनपर्दछ ।
मैले रु ५ का दुइवटा पापड किने हाफ टाइममा, जेम्स क्यामरुनको टाइटनिक पनि त्यती रोमान्टीक लागेन जति त्यो चलचित्र थियो, गरिब हिरोको धनीकी छोरीसँग लव पर्यो । म आफु पनि त्यस्तै गरिब हुन पाए हुने भन्ने लाग्यो, हाहा संझनामा पनि हाँस उठ्छ ।
चलचित्रका केही सिनहरुजस्तै बच्चाले अदालतमा बोलेको, रोएको अनि हिरोले दुख्ख गरेको आदीहरुले मेरा पनि आँशु नखसेको हैन, अध्यारोमा मैले तिर्थलाई हेरिन बरु ति सुकुमार केटीहरुतिर नजर लाए ।
चलचित्र हेरेर धरान विराटनगरको लोकल वस चढेर हामी घर फर्किदा साँझ परिसकेको थियो, म भान्साबाट छत उक्लेर पूजाकोठामा छिरे, तिर्थले लुकाएर राखेको हिजो काटेको घाँसको बोरा लिएर घर पस्यो । चलचित्र हेरेको शानले मलाई गर्व दिइरहेको थियो, तर चलचित्रका बारेमा कहिले स्कूल खुल्छ र साथीहरुलाई सुनाउँला भन्ने भयो ।
मेरो मुखमा उहिलेका बाजेका पालामा भन्ने गीत धेरै पछिसम्म घन्किरह्यो, त्यस वर्षको तिहारमा देँउसी खेल्दा आफूलाई मनपर्न खोजेकी एकजना सखीको घरमा यही गीतमा नाँचे, गीत चाँही रिक्शामा बोकेको एप्लिफायरबाट बजाइयो, दुइजना साथीहरु मज्जाले नाच्न जान्ने थिए, उनिहरुको हिन्दी गीतमा देखाइएको नाचको अगाडी मेरो नजानिदो नाच पक्कै हीट खाएन तर जस्लाई देखाउन त्यसो गरेथे उन्ले ताली दिइन । खानेकुरा प्रशस्तै दिए पनि दक्षिणा चाही केवल ११ रुपैंया दिए, हामी सोहोरेर हिड्यौं, मैले त्यस वर्ष तिहारको देँउसीको पैसालाई थपेर एउटा ब्रिक गेम किनेको थिए ।
दशैंको दक्षिणाले मलाई चलचित्र हेर्ने रहर र साहस दियो, बेला बेलामा तिर्थले उहीलेका बाजेका पालामा भन्ने गीत नगाईराख फेरि काकालाई शंका हुन्छ हामीले टिकस काटेर फिलिम हेरेको भन्थ्यो तर अझै कसैलाई थाहा छैन ।
विस्तारै सीडीमा हिन्दी फिलिम हेर्ने चलन वढ्यो, दादाले सिडि डेक उपहार पठायो, चलचित्र मन्दिर उति गइएन । अहिले पुराना दशैंको याद आँउदा मलाई ति दुइजना चुटुक्क परेका केटीहरुको याद आँउछ, अब ती पनि म जस्तै ठूला भइसके होलान । त्यो हलमा एउटा संसारकै छोटो प्रेमकथा लेखियो जस्लाई आज तपाइका लागी लेखन कोसेली । कस्तो लाग्यो, भन्नुहोला ल !